निर्वाचन अपाङ्गता भएका व्यक्तिका लागि हैन र?

दुर्गा रानामगर

राजनीतिक दलले फरकक्षमता भएका व्यक्तिहरूलाई उमेदवारको रूपमा स्वीकार गर्न सकेनन्, यसले उनीहरू एक मत मात्र हुन् भन्ने बुझाइ राजनीतिक दलमा रहेछ भन्ने देखिन्छ । त्यतिमात्र होइन नेपालको संविधानले सुनिश्चित गरेको हरेक नागरिकको गोपनीयताको हक प्रत्याभूत गर्नुपर्ने दायित्वबाट समेत राजनीतिक दल पूर्ण रूपले चुकेका छन् । यसबाट फरक क्षमता भएका नागरिकलाई राज्यले बेवास्ता गरेको पुष्टि भएको छ ।

३१ वर्षीय शेरजङ्ग गुरुङ अघिल्लो चुनावमा सेतो छडी समात्दै मतदानस्थल पुग्नुभयो र गाउँकै चिनेका दाइले सहयोगीको रूपमा उनको सट्टामा मतदान गरिदिनुभयो । उहाँलाई आफूले चाहेको प्रतिनिधिलाई नै साथीले स्वस्तिक छाप लगाए कि लगाएनन् भन्ने विषयमा शंका भयो । यसपालीको चुनावमा पनि उहाँको मनमा त्यही शंका र डर छ। उहाँले भन्नुभयो– ‘मतदान प्रक्रिया अपाङ्गमैत्री नभएसम्म हामीले हालेको भोट हामीले चाहेकै व्यक्तिलाई गयो भन्न सकिदैन ।’
राष्ट्रिय जनगणना २०७८ को नतिजा आउन बाँकी छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्यामध्ये अपाङ्गता भएका व्यक्तिहरू १.९४ प्रतिशत रहेको तथ्यांक थियो । जसलाई फरकक्षमता भएकाहरूको क्षेत्रमा काम गरिरहेका संघसस्थाहरूले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई नसमेटिएको, त्रुटिपूर्ण रहेको र फरकक्षमता भएका व्यक्तिहरूको संख्या अझै धेरै भएको दाबी गर्दै आएका थिए । फरकक्षमता भएका व्यक्तिहरूको यकिन तथ्यांक नहुँदा निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि उहाँहरूलाई चुनौती थपिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा भन्नुहुन्छ– ‘अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक निर्वाचन आयोगले राखेर त्यही अनुरूपको अपाङ्गमैत्री मतपत्र निर्माण गरिएको भए फरकक्षमता भएका व्यक्तिहरूको पनि निर्वाचनमा सहज पहुँच हुने थियो ।’ उहाँले नेपालको सम्पूर्ण निर्वाचन प्रणालीले फरक क्षमता भएका व्यक्तिहरूको फरक फरक आवश्यकतालाई सही रूपमा सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जसरी एक सग्लो मान्छेले सुरक्षित र गोप्य तवरले आफैंले मतदान गर्न सक्छन् त्यस्तै किसिमको वातावरण छ भन्ने प्रतिभूति हामी फरक क्षमता भएका व्यक्तिहरूले पनि गर्न पाउनुप¥यो ।’ उहाँले यसका लागि सरकारसँग विद्युतीय भोटिङ मेसिनको प्रयोग, प्रविधियुक्त मतदान प्रक्रिया र अपाङ्गताको प्रकृति हेरेर मतपत्र निर्माण गर्न सकिने विकल्प रहेको बताउनुभयो । दृष्टिविहीन शर्माले भन्नुभयो– ‘नेत्रहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि ब्रेल अथवा ट्याक्टायल (मतचिह्नहरू छामेर पहिचान गर्न सकिने) प्रविधि प्रयोग गरेर मतपत्र बनाइयो भने नेत्रहीन साथीहरूले पनि गोप्य मतदानमा सहभागी हुने मौका पाउनुहुनेछ ।’


स्वावलम्बन जीवन पद्धति केन्द्र, पोखराका अध्यक्ष हेम गुरुङले फरक क्षमता भएका व्यक्तिहरूका लागि घरका सदस्य तथा मतदान अधिकृतको सहायताले मतदान गर्ने भनिए पनि उनीहरू दुवै फरक विचारधाराका हुन सक्छन्, यसले नागरिकको मत जाहेर गर्न पाउने र गोपनीयताको हक कसरी प्रत्याभूत हुनसक्छ भन्ने प्रश्न उठेको बताउनुभयो ।


शारीरक अपाङ्ग तथा ह्वीलचेयर प्रयोगकर्ता अञ्जना केसीको लागि नजिकैको मतदानस्थल भनेको २५ मिनेट परको हो । उहाँलाई अहिलेदेखि नै बाटोमा नाली छ, त्यहाँ ढुङ्गा वा अरु केही अवरोध पनि छ कि ? मतदानस्थलमा पुग्न सिँढीहरू पो छ कि भन्ने चिन्ता छ । उहाँले भन्नुभयो– ‘पाँच वर्ष अघि मतदान गर्न जाँदा रहेको ठूलो ढुंगा र त्योसँगै रहेको पानी बगिरहने नाली अहिले पनि त्यतिकै छ । यसले म जस्तो ह्वीलचेयर प्रयोगकर्ताको लागि जोखिम निम्त्याउँछ । त्यसैले पनि हामी ह्वीलचेयरमा रहेका व्यक्तिहरूका लागि मतदानस्थलमा पुग्न नै समस्या छ । कतिपय अवस्थामा कुनै दल विशेषका व्यक्तिहरू मतदान गर्ने दिन अन्तिम अवस्थामा आएर सवारी साधनमा लगेर भोट दिने अवसर दिनुहुन्छ तर यसले हाम्रो गोपनीयताको हक सुरक्षित हुँदैन ।’ अपाङ्गताको क्षेत्रमा काम गरिरहेको संस्था स्वावलम्बन जीवन पद्धति केन्द्र, पोखराकी महासचिव समेत रहनुभएकी केसीले निर्वाचन प्रक्रियाको सुरुबाटै फरक क्षमता भएका व्यक्तिहरू सहभागी हुन नपाउँदा प्रतिनिधि छनोट गर्ने वातावरण सुनिश्चित हुन नसकेको बताउनुभयो ।
स्वावलम्बन जीवन पद्धति केन्द्र, पोखराका अध्यक्ष हेम गुरुङले फरक क्षमता भएका व्यक्तिहरूका लागि घरका सदस्य तथा मतदान अधिकृतको सहायताले मतदान गर्ने भनिए पनि उनीहरू दुवै फरक विचारधाराका हुन सक्छन्, यसले नागरिकको मत जाहेर गर्न पाउने र गोपनीयताको हक कसरी प्रत्याभूत हुनसक्छ भन्ने प्रश्न उठेको बताउनुभयो । ह्वीलचेयर प्रयोगकर्ता गुरुङले मतदान केन्द्रमा ह्वीलचेयर जान नसक्ने अवस्था रहेको बताउँदै निर्वाचन प्रणालीमा कानुनी सुधारका विषयसँगै व्यवहारिक पक्ष समेत विचार गरेर अपाङ्गतामैत्री निर्वाचन प्रणाली अपनाउनुपर्ने आवश्यकता प्रति जोड दिनुभयो । यससँगै उहाँले मतदान केन्द्रमा अपाङ्गताको वर्गीकरणका लागि पनि छुट्टै फारम हुनुपर्ने आवश्यकता औंल्याउँदै यसले कुन मतदान केन्द्रमा कति अपाङ्गता भएका व्यक्तिले मतदान गरे भन्ने तथ्यांक निकाल्न सकिने बताउनुभयो ।
मतदान प्रक्रियामा बौद्धिक अपाङ्गता भएका व्यक्ति
नेपालमा अपाङ्गतालाई विभिन्न १० प्रकारले वर्गीकरण गरिएको छ । जसमा शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, श्रवण सम्बन्धी अपांगता, स्वर र बोली सम्बन्धी अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, हेमोफिलिया, अटिजम र बहुअपाङ्गता रहेको छ । यी मध्ये अपाङ्गता भएका व्यक्तिहरूको कुल जनसंख्या १.९४ प्रतिशतमध्ये बौद्धिक अपाङ्गता भएकाहरू १४,८८८ अर्थात् २.९४ प्रतिशत रहेको तथ्यांकले बताउँछ । निर्वाचनमा आफ्नो चेतनाअनुसार मतदान गर्नु आवश्यक हुन्छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अभिभावको संस्था बौद्धिक अपाङ्गता अभिभावक महासंघ, कास्कीका अध्यक्ष रामनारायण श्रेष्ठले मतदाता शिक्षा र मतपत्र उनीहरूको आवश्यकता अनुरूप नभएको बताउनुभयो । उहाँले अहिले बौद्धिक अपाङ्गता भएको व्यक्तिले परिवारको सहयोग र मतदान अधिकृतको रोहवरमा मतदान गर्नुपर्ने भएकाले मतदाताको गोपनीयता कायम नहुने बताउनुभयो । यता बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि उनीहरूको आवश्यकता अनुरूपको (चित्रको माध्यमबाट ठूला अक्षरमा) मतदान शिक्षा नभएकाले मतदाताको होइन, परिवारले चाहेअनुसार मतदान हुन सक्ने बताउनुहुन्छ– स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष गुरुङ ।
राजनीतिक दलहरूले अपाङ्गलाई उम्मेदवारको रूपमा स्वीकारेनन्
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक सहभागिता भनेको भोट हाल्ने, सुन्नेमात्र नभएर उम्मेदवारका रूपमा चुनिनु पनि रहेको बताउनुहुन्छ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष शर्मा । उहाँले भन्नुभयोे– ‘अहिले चुनावका बेलामा जसरी टोलटोलमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको खोजी गरियो अरु समयमा पनि त्यसरी नै खोजी गरेर तिनीहरूको समस्या सम्बोधन गर्नुपर्छ तर हामी अपाङ्गता भएका व्यक्तिहरू राजनीतिक दलका लागि एक मत मात्र भयौं ।’ उहाँले राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई एक सक्षम उम्मेवारको रूपमा स्वीकार गर्न नसक्नु विडम्बना भएको बताउनुभयो । स्वावलम्बन पद्धति केन्द्र पोखराकी महासचिव केसीले पनि अपाङ्गता भएका व्यक्तिहरूको निरन्तर पैरवीले राजनीतिको मूलधारमा आए पनि उम्मेवारको रूपमा नचुनिनु दुःखद भएको बताउनुभयो । केसीले राजनीतिक दलहरूले उम्मेदवारका रूपमा आकांक्षा राख्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलो गर्न सक्दैनौ, जनमत ल्याउन गाह्रो हुन्छ, क्षमता पुग्दैन, अपाङ्गताको मुद्दा हामी नै लगिहाल्छौ लगायतका कुराहरू सुनाएर पछाडि पार्ने गरेको बताउनुभयो ।
अपाङ्गतामैत्री व्यवहारका लागि अभिमुखीकरण गरिएको छ: निर्वाचन आयोग
निर्वाचन आयोगले मतदानस्थलमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग र अपाङ्गतामैत्री व्यवहार गर्न सुरक्षा निकाय, मतदान अधिकृत, सहयोगीहरूलाई अभिमुखीकरण गरिएको जानकारी आयोगका गण्डकी प्रदेशका मुख्य निर्वाचन अधिकृत हुमनाथ पराजुलीले दिनुभयो । उहाँले अधिकांश मतदानस्थल अपाङ्गतामैत्री नै रहेको बताउँदै त्यस्तो नभएको ठाउँमा सुरक्षा निकाय तथा अधिकृतहरूले मतदानका लागि सहयोग गर्ने बताउनुभयो । अधिकृत पराजुलीले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि मतदान केन्द्रमा लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको जानकारी पनि दिनुभयो ।

तस्बिर सौजन्य इलेक्सन एक्सेस

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
निर्वाचन अपाङ्गता भएका व्यक्तिका लागि हैन र?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link