सुडानका विशाल तेल भण्डार, सुन र कृषि स्रोतहरू : कसले नियन्त्रण गर्दै छ ?

अफ्रिकाको क्षेत्रफलका हिसाबले तेस्रो ठुलो देश सुडान (१९ लाख वर्ग किलोमिटर) मा ५ करोड जनसङ्ख्या छ। सन् २०२३ देखि जारी गृहयुद्धको तेस्रो वर्षमा सुडान विश्वकै सबैभन्दा ठुलो विस्थापन सङ्कटबाट गुज्रिरहेको छ। सुडानी सेना (एसएएफ) र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बिचको शक्ति सङ्घर्षले ९५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने लाखौँ भोकमरीको सिकार छन्।

तेल, सुन र उर्वर कृषि भूमिको प्रचुरताका बाबजुद यी स्रोतहरूको प्रभावकारी उपयोग युद्ध र नियन्त्रण परिवर्तनले असम्भव बनाएको छ। सन् २०२३ मा सुडानको कुल निर्यात ५ अर्ब ९ करोड डलर थियो जसमा तेल र सुनले मुख्य भूमिका खेलेका थिए।

तेल : मुख्य राजस्व स्रोत
सुडान विश्वको ४०औँ ठुलो कच्चा तेल निर्यातक हो। सन् २०२३ मा तेल निर्यातबाट १ अर्ब १३ करोड डलर आम्दानी भयो। सन् २०१० मा दैनिक ५ लाख ब्यारेल उत्पादन हुने गरेकोमा दक्षिण सुडानले सन् २०११ मा स्वतन्त्रता पाएपछि ७५ प्रतिशत भण्डार गुमाउँदा उत्पादन घटेर २०२३ मा ७० हजार ब्यारेल प्रतिदिनमा झरेको छ। हाल १ अर्ब २५ करोड ब्यारेल तेल र ३ ट्रिलियन घन फिट प्राकृतिक ग्यास भण्डार छ तर ग्यासको उत्पादन/उपयोग शून्य प्रायः छ।

तेल क्षेत्रको नियन्त्रण विभाजित छ। दक्षिण सुडानसँग जोडिएका दक्षिणी तेल क्षेत्रहरू आरएसएफको कब्जामा छन् भने खार्तुम रिफाइनरी (दैनिक १ लाख ब्यारेल क्षमता), पोर्ट सुडान रिफाइनरी र एल-ओबेद-पोर्ट सुडान पाइपलाइन एसएएफको नियन्त्रणमा छन्। तेल दक्षिण सुडानबाट सुडानको बशायर टर्मिनल हुँदै निर्यात हुन्छ।

 सुन : अफ्रिकाकै सबैभन्दा ठुलो उत्पादक
सन् २०२३ मा सुन निर्यातबाट १ अर्ब ३ करोड डलर आम्दानी भयो। सन् २०२४ मा उत्पादन ५३ प्रतिशतले वृद्धि भई ६४ टन पुग्यो जसबाट १ अर्ब ५७ करोड डलर वैधानिक राजस्व प्राप्त भयो। युद्धका बेला कालोबजारी सुनको ठुलो परिमाण बाहिरिएको अनुमान छ।

सुनखानीहरू मुख्यतः पश्चिमी दार्फुर, मध्य र दक्षिण-पश्चिमी क्षेत्रमा छन् जुन अधिकांश आरएसएफको नियन्त्रणमा छन्। पूर्वी सुन भण्डार भने एसएएफसँग छ। सन् २०२३ को ९९ प्रतिशत सुन संयुक्त अरब इमिरेट्स (युएई) ले किनेको थियो।

कृषि तथा पशुपालन : विश्व बजारमा अग्रणी
सुडान तिल (सेसम) को विश्वको सबैभन्दा ठुलो निर्यातक हो भने गम अरेबिक (खाद्य, पेय, औषधि र सौन्दर्य प्रसाधनमा प्रयोग हुने) को पनि सबैभन्दा ठुलो उत्पादक/निर्यातक हो। सन् २०२३ मा पशुपालनबाट ९० करोड २० लाख, तिल तथा अन्य तेलहनिबाट ७० करोड ९० लाख र गम अरेबिकबाट १४ करोड १० लाख डलर आम्दानी भयो।

नील नदीको सेतो र नीलो शाखाबिचको गेजिरा राज्य सबैभन्दा उर्वर छ जुन हाल एसएएफको कब्जामा छ। देशको ५१.४ प्रतिशत भूभाग चरण भूमि हो जसलाई दुवै पक्षले लगभग बराबर बाँडेका छन्। उत्तरी गम अरेबिक क्षेत्र पनि सेनाको नियन्त्रणमा छ।

सुनखानी र व्यापार मार्गहरूले दुवै पक्षलाई युद्ध खर्च धान्ने पैसा उपलब्ध गराइरहेका छन्। एसएएफले उत्तर-पूर्व, खार्तुम, नील नदीका सहर र रातो सागरको पोर्ट सुडान कब्जा गरेको छ भने आरएसएफले दार्फुर (अक्टोबर २०२५ मा एल-फाशेर कब्जा) र दक्षिणी क्षेत्रमा वर्चस्व कायम गरेको छ।

मानवीय सङ्कट चरम छ। ९५ लाखभन्दा बढी विस्थापित र लाखौँ भोकमरीको जोखिममा छन्। प्रचुर स्रोतहरू भएर पनि युद्धले तिनको सदुपयोग रोकेको छ र देशलाई गरिबी तथा विनाशको चक्रमा धकेलेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link