बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूलाई राजनीतिक प्रतिशोधका लागि फर्किन बाध्य गर्न नसकिने स्पष्ट पारेकी छन्।
भारतीय समाचार संस्था एएनआईसँग अन्तर्वार्तामा उनले हाल बङ्गलादेशमा बढ्दो हिंसा र अस्थिरताका लागि अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस नै जिम्मेवार रहेको ठहर गरेकी छन्।
इमेलबाट गरिएको सो अन्तरवार्तामा उनले भन अनुसार जुलाई आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिक अभियन्ता शरीफ उस्मान हादीको हत्या पछि बङ्गलादेशमा फेरि हिंसाको लहर फैलिएको छ। हादीलाई डिसेम्बर १२ मा ढाकामा रिक्सा चढिरहेका बेला नजिकैबाट गोली हानिएको थियो। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भयो।
हसिनाले भनिन्, “हादीको हत्या मेरो सरकार पतन गराउने अराजकताकै निरन्तरता हो, जुन युनुसको शासनमा झनै बढेको छ। हिंसा अब सामान्यजस्तै बनेको छ, तर अन्तरिम सरकार या त यसलाई अस्वीकार गरिरहेको छ, वा रोक्न असक्षम छ।” उनका अनुसार यस्ता घटनाले बङ्गलादेशभित्र मात्र होइन, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई पनि अस्थिर बनाइरहेको छ।
हादीको हत्यापछि ढाकामा द डेली स्टार र प्रोथम आलो जस्ता ठुला सञ्चार गृह तथा छायानट र उदिची शिल्पी गोष्ठीजस्ता सांस्कृतिक संस्थामाथि समेत आक्रमण भएको छ। यसप्रति चिन्ता व्यक्त गर्दै हसिनाले भारतसहित छिमेकी मुलुकहरू बङ्गलादेशको अवस्थाबारे चिन्तित रहेको बताइन्। “भारतले यहाँको अराजकता, अल्पसङ्ख्यकमाथिको अत्याचार र हामीले निर्माण गरेका संरचनाहरूको क्षय देखिरहेको छ,” उनले भनिन्।

हसिनाले युनुस नेतृत्वको अन्तरिम सरकारले कट्टरपन्थीहरूलाई क्याबिनेटमा स्थान दिएको, जेलमा रहेका सजाय भोगिसकेका आतङ्ककारीहरूलाई रिहा गरेको र कट्टर सङ्गठनहरूमाथि लगाइएको प्रतिबन्ध हटाउने सङ्केत दिएको आरोप लगाइन्। “उनी राजनीतिज्ञ होइनन् र जटिल राष्ट्र सञ्चालनको अनुभव पनि छैन। मेरो डर के हो भने, कट्टरपन्थीहरूले उनलाई अन्तर्राष्ट्रिय समुदायसामु स्वीकार्य अनुहारका रूपमा प्रयोग गरिरहेका छन्,” हसिनाले भनिन्।
दिल्ली–ढाका सम्बन्धबारे बोल्दै उनले भारतविरुद्ध भइरहेको प्रदर्शन र हिन्दु युवक दीपु चन्द्र दासको निर्मम हत्यालाई पनि उदाहरण दिइन्। मयमन्सिंहमा २७ वर्षीय दासलाई इस्लामविरुद्ध टिप्पणी गरेको आरोप लगाउँदै कुटपिट गरी हत्या गरिएको थियो, तर अनुसन्धानले त्यस्तो टिप्पणी गरेको कुनै प्रमाण फेला पारेको छैन। हसिनाले अन्तरिम सरकारले धार्मिक अल्पसङ्ख्यकको सुरक्षा गर्न असफल भएको आरोप लगाइन्।
उनले भनिन्, “युनुस सरकारले भारतविरुद्ध शत्रुतापूर्ण अभिव्यक्ति दिन्छ, अल्पसङ्ख्यकको रक्षा गर्न सक्दैन र कट्टरपन्थीहरूलाई विदेश नीति निर्धारण गर्न दिन्छ। भारत दशकौँदेखि बङ्गलादेशको सबैभन्दा भरोसायोग्य मित्र हो।” हाल चिटगाउँ स्थित भारतीय भिसा आवेदन केन्द्रले सेवा स्थगित गर्नु पनि असुरक्षाकै परिणाम भएको उनको भनाइ छ।
आफूमाथि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको विषयमा हसिनाले कडा प्रतिक्रिया जनाइन्। उनले उक्त फैसला “न्यायको आवरणमा गरिएको राजनीतिक हत्या” भएको दाबी गरिन्। “मलाई आफ्नो बचाउ गर्ने अधिकार दिइएन, आफूले चाहेको वकिलसमेत रोज्न दिइएन,” उनले भनिन्।
आगामी फेब्रुअरीमा हुने भनिएको निर्वाचनबारे उनले अवामी लिगबिनाको चुनावलाई “राजतिलक” को संज्ञा दिइन्। “अवामी लिगबिनाको चुनाव चुनाव होइन,” उनले भनिन्। उनका अनुसार पार्टीमाथि प्रतिबन्ध कायम रहे लाखौँ नागरिक मताधिकारबाट वञ्चित हुनेछन्।
आफूलाई प्रत्यर्पण गर्न माग भइरहेका विषयमा प्रतिक्रिया दिँदै हसिनाले भनिन्, “यो सबै निराश हुँदै गएको युनुस प्रशासनको प्रयास हो।” उनले भारतले दिएको आतिथ्य र समर्थनप्रति आभार व्यक्त गर्दै भनिन् कि उनी न्यायबाट भागेर होइन, थप रक्तपात रोक्न बङ्गलादेश छाडेकी हुन्।
“राजनीतिक हत्या गर्न मलाई फर्किन माग गर्न सकिँदैन,” हसिनाले भनिन्। उनले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजान युनुसलाई चुनौती दिँदै, स्वतन्त्र अदालतमा आफू निर्दोष ठहरिने दाबी गरिन्। वैध सरकार र स्वतन्त्र न्यायपालिका पुनः स्थापित भएपछि मात्र आफू खुसीसाथ बङ्गलादेश फर्किने उनले बताएकी छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- दक्षिण कोरियासँग ट्रम्पको असन्तुष्टि: सैन्य अभ्यास घट्ने
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प: ५१ जनाको मृत्यु, ५ हजारभन्दा बढी विस्थापित
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जारी गरिएको सुनामी चेतावनी फिर्ता, दुई जनाको मृत्यु
- पश्चिम बैंकमा प्यालेस्टिनीको उठिबास
- कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २५० घटी पुग्यो, जीवितको खोजीमा उद्धार टोली तीव्र गतिमा खटियो
- एल निनोको असर: इन्डोनेसियामा डढेलो र विषाक्त धुवाँका कारण विद्यालयहरू बन्द
- कोलम्बियामा शक्तिशाली भूकम्प: मृतकको सङ्ख्या १३२ पुग्यो, ५७० भन्दा बढी घाइते
- कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा २६ जनाको मृत्यु, विशाल क्षति
- बाह्य चलखेल,भ्रष्टाचार र साम्प्रदायिक राजनीतिले थलिएको लेबनानमा आएको नयाँ अवसर
- हर्मुज जलमार्गका लागि इरान र ओमानबिच वार्ता सकारात्मक, तर जलमार्ग तुरुन्तै नखुल्ने इरानको चेतावनी