युरोपेली आयोगले इलोन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एआई च्याटबट ग्रोक विरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ। यो अनुसन्धान ग्रोकले उत्पादन गरेका यौनिक डिपफेक तस्बिरहरूको फैलावट र सम्भावित बाल यौन शोषण सामग्रीसँग सम्बन्धित छ, जसले इयू नागरिकहरूलाई गम्भीर हानि पुर्याएको आयोगको भनाइ छ।
युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तथा डिजिटल सर्भिसेज एक्ट लागू गर्ने प्रमुख हेन्ना विरक्कुनेनले भनेकी छिन्, “महिला तथा बालबालिकाका गैर-सहमतिको यौन डिपफेकहरू हिंसात्मक तथा अस्वीकार्य अपमान हुन्। एक्सले डिजिटल सर्भिसेज एक्ट अन्तर्गत आफ्नो कानुनी दायित्व पूरा गरेको छ कि इयू नागरिकहरू—विशेष गरी महिला र बालबालिकाका—अधिकारहरूलाई आफ्नो सेवाको उप-उत्पादनको रूपमा व्यवहार गरेको छ भन्ने हामी यो अनुसन्धानबाट निर्धारण गर्नेछौँ “।

अनुसन्धान डिजिटल सर्भिसेज एक्ट अन्तर्गत सुरु गरिएको हो, जसले ठुला प्रविधि कम्पनीहरूलाई अवैध तथा हानिकारक सामग्री रोक्न बढी जिम्मेवारी दिन्छ। आयोगका अनुसार ग्रोक को कार्यक्षमताले उत्पन्न गर्ने जोखिमहरू—जस्तै वास्तविक व्यक्तिका फोटोहरू सम्पादन गरी बिकिनी वा पारदर्शी पोसाकमा देखाउने, कपडा हटाउने जस्ता प्रोम्प्टहरूबाट यौनिक तस्बिरहरू उत्पादन—ठिकसँग मूल्याङ्कन तथा न्यूनीकरण नगरेको देखिएको छ। यस्ता तस्बिरहरूमा महिला र नाबालकहरूका पनि समावेश भएका थिए, जसले विश्वव्यापी आलोचना निम्त्याएको थियो।
सेन्टर फर काउन्टरिंग डिजिटल हेटको रिपोर्टअनुसार, ग्रोकले ११ दिनमा करिब ३० लाख यौनिक तस्बिरहरू उत्पादन गरेको थियो, जसमध्ये २३,००० वटा बालबालिकासँग सम्बन्धित देखिन्थे। यो घटनापछि इन्डोनेसिया, मलेसिया र फिलिपिन्स जस्ता देशहरूले ग्रोकलाई अस्थायी रूपमा ब्लक गरेका थिए। युनाइटेड किंगडमको मिडिया नियामक अफकमले पनि जनवरीमा छुट्टै अनुसन्धान सुरु गरेको छ।
एक्सएआईले जनवरी १४ मा जारी गरेको विज्ञप्तिमा ग्रोक को इमेज सम्पादन सुविधालाई प्रतिबन्धित गरेको तथा अवैध ठानिने क्षेत्रहरूमा स्थान-आधारित ब्लक लागू गरेको बताएको थियो। साथै इमेज जनरेशनलाई पेड प्रयोगकर्ताहरूमा सीमित गर्ने प्रयास गरेको थियो। तर आयोगका अधिकारीहरूले यी उपायहरूले सबै जोखिमहरू सम्बोधन नगरेको बताएका छन्।

यो अनुसन्धानले इयू र अमेरिकी कम्पनीहरूबिचको नियमनसम्बन्धी तनावलाई थप बढाएको छ। यसअघि डिसेम्बर २०२५ मा एक्स लाई डिजिटल सर्भिसेज एक्ट उल्लङ्घनमा एक सय बिस मिलियन यूरो (लगभग एक सय चालिस मिलियन अमेरिकी डलर) जरिवाना तिराइएको थियो। डिजिटल सर्भिसेज एक्ट उल्लङ्घनमा कम्पनीलाई विश्वव्यापी वार्षिक कारोबारको ६% सम्म जरिवाना हुन सक्छ।
युरोपेली सांसद रेजिना डोहर्टीले यो घटनाले प्लेटफर्महरूले जोखिम मूल्याङ्कन र अवैध सामग्री रोक्ने कानुनी दायित्व पूरा गरेको छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको बताएकी छिन्। थप जानकारीका लागि युरोपेली आयोग र एक्स बाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- फ्रान्सेली राष्ट्रपति म्याक्रोनद्वारा २७ अर्ब डलरको अफ्रिकामा लगानी योजनाको घोषणा
- इजरायली ‘सेटलर्स’ र संस्थाहरूमाथि युरोपेली सङ्घको प्रतिबन्ध
- मध्यपूर्वमा शक्ति सन्तुलन मिलाउन अमेरिकाद्वारा खाडी राष्ट्रहरूलाई अर्बौँ डलरको हतियार बिक्री
- वायु ऊर्जामा चीनको वर्चस्व: विश्वव्यापी बजार कब्जा गर्ने रणनीति
- मध्यपूर्वको युद्ध लम्बिए विश्व अर्थतन्त्रमा संकट बढ्ने
- भारत विधानसभा निर्वाचन: पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक जित, तमिलनाडुमा नयाँ शक्तिको उदय
- आन्ध्र महसागरमा क्रुज सिपमा हन्टाभाइरसको प्रकोप: ३ जनाको मृत्यु
- अमेरिकाद्वारा जर्मनीबाट पाँच हजार सैनिक फिर्ता लैजाने निर्णय
- म्यानमारकी पूर्व नेतृ आङ सान सुकी जेलबाट नजरबन्दमा
- बेल्जियमले सम्पूर्ण आणविक ऊर्जा संयन्त्रहरू राष्ट्रियकरण गर्ने