भारत:महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार विमान दुर्घटनामा निधन

महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी)का नेता अजित पवारको बुधवार बिहान बारामती विमानस्थलमा अवतरणको क्रममा भएको विमान दुर्घटनामा परी निधन भएको छ। उनीसहित उक्त चार्टर विमानमा सवार ५ जना सबैको ज्यान गएको छ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार, बिहान ८:१० बजे मुम्बईबाट उडेको बॉम्बार्डियर लियरजेट ४५, निजी जेट विमान बारामती विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो। विमानले पहिलो पटक अवतरण प्रयास असफल भएपछि दोस्रो प्रयास गर्दा धावनमार्गबाट करिब १०० फिट अगाडि खसेको र आगो लागेर ध्वस्त भएको फ्लाइट रडार डाटाले देखाएको छ। दुर्घटनास्थलमा आगो र धुवाँको मुस्लो देखिएको थियो।

६६ वर्षीय अजित पवार पुणे जिल्लाको बारामतीमा स्थानीय तह निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन जाँदै थिए। विमानमा दुई जना पाइलट, एक जना व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र एक जना सहयोगी थिए।

अजित पवार राष्ट्रिय राजनीतिको प्रमुख हस्ती थिए। राष्ट्रवादी काँग्रेस पार्टीका संस्थापक शरद पवारका भतिजा उनी लामो समयदेखि महाराष्ट्र सरकारमा उपमुख्यमन्त्रीको भूमिकामा थिए। केही वर्षअघि उनी आफ्ना काका शरद पवारबाट अलग भएर भाजपासँग मिलेर सरकार बनाएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदी ले दुर्घटनालाई “अत्यन्त स्तब्ध र दुःखद” भनेका छन् भने महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ३ दिनको राजकीय शोक घोषणा गरेका छन्।

विमानको मालिक कम्पनी भिएसआर भेन्चर्सले विमान पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको छ। विशेषज्ञहरूले घटनाको मुख्य कारण बाक्लो कुहिरो र कम दृश्यता लाई मानेका छन्। एयरक्राफ्ट एक्सिडेन्ट इनभेस्टिगेसन ब्युरो (एएआईबी) को टोली घटनास्थलमा पुगिसकेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link