ऐतिहासिक बहुमतपछि ताकाइचीको काँधमा जापानी अर्थतन्त्रको भार

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले  मध्यावधि चुनावमा  ठुलो सफलता हासिल गरेकी छिन् । हालै सम्पन्न निर्वाचनमा ताकाइची र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ४६५ सिटमध्ये ३१६ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेका छन्।

जापानमा बारम्बार प्रधानमन्त्री फेरबदल भइरहने अस्थिरताका बिच ताकाइचीले विरलै पाइने बलियो जनादेश पाएकी छिन्। अब मुख्य प्रश्न यो छ कि—के उनले दशकौँदेखि सुस्त रहेको जापानी अर्थतन्त्रलाई पुनर्जीवित गर्न सक्लिन्?

चुनौतीका चाङ र ताकाइचीको रणनीति

जापान हाल विश्वको चौथो ठुलो अर्थतन्त्र भए तापनि यहाँ बढ्दो सार्वजनिक ऋण, सुस्त आर्थिक वृद्धि, र तीव्र रूपमा घट्दो तथा वृद्ध हुँदै गएको कार्यशील जनसङ्ख्या मुख्य समस्याका रूपमा रहेका छन्।

ताकाइचीले चुनावका क्रममा विकासलाई प्राथमिकता दिने र सरकारी खर्च बढाउने बाचा गरेकी थिइन्। उनले आफ्ना पूर्ववर्तीहरूको नीतिभन्दा फरक धार अपनाउँदै कर कटौती गर्ने र बचतभन्दा बढी खर्च गरेर आर्थिक चक्र चलाउने योजना अघि सारेकी छिन्। उनको यो भारी जितले लगानीकर्ताहरूमा केही उत्साह जगाएको छ, जसका कारण आइतबार राति जापानी शेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको थियो।

लगानीकर्ताको चिन्ता र महँगीको मार

यद्यपि ताकाइचीका योजनाहरू कार्यान्वयन गर्न सहज भने छैन। जापानको सार्वजनिक ऋण विश्वमै सबैभन्दा बढी छ। सरकारी खर्च बढाउन र कर घटाउन थप ऋण लिनुपर्ने हुन्छ, जसले सरकारी ऋणपत्र (बन्ड) को ब्याजदर बढाउन सक्छ। यसले विश्वव्यापी बजारमै असर पार्ने अर्थशास्त्रीहरूको भनाइ छ।

अर्कोतर्फ जापानमा महँगी पनि एक ठुलो मुद्दा बनेको छ। सन् २०२५ मा चामलको मूल्य दोब्बर हुनुले जापानी जनतालाई ठुलो झट्का दिएको छ। केइओ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक केइइचिरो कोबायासी चेतावनी दिन्छन्, “खर्च बढाउँदा मुद्रास्फीति (महँगी) झन् बढ्न सक्छ र सर्वसाधारणको जीवन कष्टकर हुन सक्छ।”

जनशक्ति अभाव र आप्रवासनको मुद्दा

जापानको अर्को गम्भीर समस्या घट्दो जनसङ्ख्या र कामदारको अभाव हो। निर्माण, कृषि र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा श्रमिकको चर्को अभाव छ। विज्ञहरूका अनुसार आप्रवासी कामदारहरू भित्र्याउनु यसको एउटा समाधान हुन सक्छ। तर कट्टरपन्थी आधार भएकी ताकाइची आप्रवासनका सवालमा अनुदार देखिन्छिन्। उनले आप्रवासीको सट्टा प्रविधि, स्वचालन (अटोमेसन) र महिला तथा वृद्धहरूको कार्य सहभागिता बढाउन जोड दिएकी छिन्।

चीन र अमेरिकाबिचको सन्तुलन

भू-राजनीतिक रूपमा पनि ताकाइचीको बाटो चुनौतीपूर्ण छ। चीन जापानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, तर सैन्य र रणनीतिक रूपमा दुई देशबिच तनाव छ। ताकाइचीले चीनमाथिको निर्भरता घटाउने र अमेरिकासँगको सम्बन्धलाई थप मजबुत बनाउने नीति लिएकी छिन्। उनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई पनि प्राथमिकता दिँदै जापानको रक्षा बजेट बढाउने सङ्केत गरेकी छिन्।

ताकाइचीका गुरु मानिने स्वर्गीय प्रधानमन्त्री शिन्जो आबेले ‘आबेनोमिक्स’ मार्फत अर्थतन्त्र उकास्ने प्रयास गरेका थिए। तर ताकाइचीको समय आबेको भन्दा कठिन छ। जापान अहिले अझ वृद्ध समाजमा परिणत भएको छ र चीन अझ शक्तिशाली बनेको छ।

ताकाइचीले पाएको यो भारी बहुमतले उनलाई कडा निर्णय लिने शक्ति त दिएको छ, तर दशकौँदेखिको आर्थिक मन्दी र जनसाङ्ख्यिक सङ्कट समाधान गर्न उनले चाल्ने आगामी कदम निकै चुनौतीपूर्ण हुने देखिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link