पुराना पैसा बेच्न खोज्दा इन्स्टाग्राममार्फत ठगिएँ

दुर्गा रानामगर

पोखरा घर हुनुभएको एक महिलाले इन्स्टाग्रामबाट हालैमा आफू ठगिएको महसुस गर्नुभयो। पहिचान नखुलाउने सर्तमा उहाँले आफूलाई इन्स्टाग्राम भेटिएको एउटा आइडीबाट २ लाख ८० हजार रुपैयाँ ठगिएको बताउनुभयो। उहाँले प्रहरीमा निवेदन पनि दिइसक्नुभएको छ र यस विषयमा प्रहरीको अनुसन्धान जारी छ।

यसअघि पोखरासहित देशका विभिन्न ठाउँमा इन्टरनेट सामाजिक सञ्जालको प्रयोग गरि ठगिएका घटनाहरू बाहिर आएका थिए। विशेषत विदेशी मूलका, केही भारतीय र केही नेपालीले नै सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्स एप, जिमेल, इन्स्टाग्रामको प्रयोग गरि लटरी अर्थात् चिठ्ठा परेको छ, पुरस्कार, उपहार पाएको छ भन्ने सन्देश टेक्स्टका साथै अडियोका माध्यममा पठाउने गर्दछन्। त्यसलाई नै पत्याएर उनीहरूसँग कुरा गर्न थालेपछि चलाखी रुपमा उनीहरूले गोप्य विवरण ( इमेल, बैंक खाता ) मा नियन्त्रण गरि ठगीको काम सुरु गर्छन्। त्यस्ता गतिविधि गर्ने व्यक्तिहरूले सर्वसाधारणलाई पैसाको प्रलोभन देखाएर फसाएका छन्।

ठगीको फरक स्वरुप

इन्टरनेटका विभिन्न माध्यमबाट यसरी ठगी गर्नेहरूले हरेक पटक नयाँ र फरक तरिका अपनाउने गरेका छन्।  इन्स्टाग्रामबाट ठगिनुभएको महिलाको घटना फरक छ। उहाँले इन्स्टाग्राममा एक विदेशीको अकाउन्ट विज्ञापन भेट्नुभयो। जसमा उक्त विदेशी ( ठेगाना अमेरिका लेखिएको छ) व्यक्तिले नेपाल, भारतलगायत देशका पुराना पैसाहरू आफूले डलरमा किन्ने बताएका थिए। उहाँले यो सबै कुरामा विश्वास गर्नुअघि त्यो मान्छेको सबै इन्स्टाग्रामको पोस्टहरू हेर्नुभयो। त्यहाँ डलर प्राप्त भएको भनेर नेपालीले बनाएको भिडियोदेखि नेपाली पैसा पठाएको प्याकेजिङको भिडियो तथा तस्बिर पनि राखिएको थियो। उहाँले भन्नुभयो, ‘त्यो सबै देख्दा मलाई यो साँच्चिकै हो जस्तो लाग्यो। उ र म अंग्रेजीमै नै बोल्थ्यौ। पछि ह्वाट्सएपमा टेक्स्टमै कुरा हुन थाल्यो। मलाई विश्वास लाग्यो।’

उहाँले आफूसँग भएको पुराना नेपाली सिक्का, पुरानो नोट जम्मा गरेर उक्त व्यक्तिलाई पठाउनुभयो। उक्त व्यक्तिले नेपाली एक रुपैयाँको रु १० हजार र पुरानो नोटको रु २० हजार दिने बताएको थियो। यो जानकारी उसले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि राखेको थियो। उहाँले पठाएको नेपाली सिक्का र नोटबाट उहाँलाई ३ लाख ८० हजार रकम प्राप्त भनेर बताइयो।

महिलाले नेपाली पैसा कुरियर गरेर अमेरिका उक्त व्यक्तिको ठेगानामा पठाउनुभयो। त्यसपश्चात् उसले डलर पठाउनका लागि कर तिर्नु पर्‌यो, अरु खर्च लाग्ने भयो बताउँदै पटक पटक गरि उहाँलाई २ लाख ८० हजार विभिन्न अकाउन्टमा पठाउन लगायो।

उहाँले आफूसँग र आफन्त साथी भाइसँग सापटी लिएर नै रकम पठाउनुभयो। केही समयपश्चात् उहाँलाई डर लाग्न थाल्यो कतै ठगिएको त होइन भनेर शंका पनि हुन थाल्यो। उहाँले भन्नुभयो, ‘मलाई शंका हुन थालेपछि मैले फोन गरे म्यासेज गरे तर उसले चिन्ता नगर पैसा आउँदै छ मात्र भनिरह्यो। र अहिले उसले मलाई ब्लक गरिसकेको छ। उसले इन्स्टाग्राममा फलो गरेकाहरूलाई पनि मैले सोधे अरुले पनि उसलाई विश्वास गरेर सिक्का पठाउन लागेका रहेछन्। मैले विश्वास नगर भनेर सजग गराए।’ उहाँलाई आफू ठगिएकोमा विश्वास नै लागेको छैन। उहाँलाई अन्जान मान्छेसँग सामाजिक सञ्जालमा साथी बनाउने, बोल्ने काम गर्नुहुँदैन रहेछ भन्ने महसुस भएको छ। उहाँले भन्नुभयो, ‘अब म यसरी सामाजिक सञ्जालमा भेटिएकाहरूलाई विश्वास चाहिँ गर्न सक्दिनँ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले इन्टरनेटका विभिन्न माध्यमबाट सर्वसाधारण ठगिने क्रममा बढ्दो भएकाले यसबारेमा सचेतना जगाउनु निकै आवश्यक भएको बताउनुभयो। यस्ता घटनाका अपराधी नेपालमा नहुने भएकाले पीडितले न्याय पाउन मुस्किल छ। कास्की प्रहरीबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा कास्कीमा ७६ जनाले इन्टरनेटका विभिन्न माध्यमबाट आफू ठगीमा परेको भन्दै निवेदन दिएका थिए। यी मध्ये अझै ६५ वटा निवेदनमाथि अनुसन्धान जारी छ। प्रवक्ता तिवारीले आफ्नो फोन तथा सामाजिक सञ्जालमा प्रलोभन देखाएर आउने अन्जान मानिसका सन्देशहरूलाई विश्वास नगरी सचेत र सजग भएर सामाजिक सञ्जालको प्रयोग गर्न अनुरोध गर्नुभयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
पुराना पैसा बेच्न खोज्दा इन्स्टाग्राममार्फत ठगिएँ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link