‘राजनीतिक दुरुपयोग’ भन्दै मस्कले गरे फ्रान्सेली समन बेवास्ता

विश्वका धनाढ्य एलन मस्कले फ्रान्सेली अभियोजकहरूले जारी गरेको सोधपुछको समनलाई बेवास्ता गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ को एल्गोरिदम र एआई च्याटबोट ‘ग्रोक’ मार्फत फैलिएका विवादास्पद सामग्रीहरूको अनुसन्धानका क्रममा मस्कलाई सोमबार पेरिसमा उपस्थित हुन भनिएको थियो। पेरिस अभियोजकको कार्यालयले मस्कको नाम स्पष्ट नलिए पनि “बोलाइएका मुख्य व्यक्तिहरू अनुपस्थित रहेको” जानकारी दिएको छ। मस्कले यसअघि नै फ्रान्सेली अधिकारीहरूको यो कदमलाई “राजनीतिक रूपमा प्रेरित” र “न्यायिक दुरुपयोग” को संज्ञा दिँदै आएका थिए।

सन् २०२५ को जनवरीमा फ्रान्सेली अधिकारीहरूले ‘एक्स’ को एल्गोरिदमले फ्रान्सेली राजनीतिमा हस्तक्षेप गरेको आशङ्कामा अनुसन्धान सुरु गरेका थिए। पछि यस अनुसन्धानको दायरा फराकिलो बनाउँदै गम्भीर आरोपहरू थपिएका छन्। जसमा बाल यौन शोषणसँग सम्बन्धित सामग्रीहरू रोक्न नसकेको, पुराना सुरक्षा संयन्त्रहरू हटाएको र मस्कको एआई च्याटबोट ‘ग्रोक’ मार्फत महिला तथा नाबालिगहरूको अनुमतिबिना यौनजन्य कृत्रिम तस्बिरहरू (डीपफेक) निर्माण गरिएको जस्ता विषयहरू समावेश छन्। साथै, होलोकास्ट इन्कार गर्ने र मानवता विरुद्धका अपराधलाई बढवा दिने पोस्टहरू नियन्त्रण नगरेको अभियोग पनि एक्समाथि छ।

फेब्रुअरी २०२६ मा फ्रान्सेली साइबर अपराध इकाईले पेरिसस्थित एक्सको कार्यालयमा छापा मारेको थियो, जति बेला मस्क र पूर्व सिइओ लिन्डा याकारिनोलाई बयानका लागि बोलाइएको थियो। मस्क उपस्थित नभए पनि फ्रान्सेली अभियोजकहरूले अनुसन्धान नरोकिने स्पष्ट पारेका छन्। अभियोजकको कार्यालयले मस्कको अनुपस्थिति अनुसन्धानका लागि अवरोध नहुने बताउँदै उपलब्ध डाटा, छापा मार्दा प्राप्त कागजात र अन्य साक्षीहरूको बयानका आधारमा मुद्दा अगाडि बढाउने जनाएको छ।

यस मुद्दामा फ्रान्सले युरोपोल र अन्य युरोपेली मुलुकहरूसँग समन्वय गरिरहेको छ। यदि ‘एक्स’ ले युरोपेली सङ्घको ‘डिजिटल सर्भिस एक्ट’ उल्लङ्घन गरेको पुष्टि भएमा कम्पनीको विश्वव्यापी कारोबारको ६ प्रतिशतसम्म जरिवाना हुन सक्छ। हाल यो स्वैच्छिक सोधपुछको चरणमा रहे पनि गम्भीर फौजदारी अपराधको प्रमाण भेटिएमा फ्रान्सेली अदालतले मस्कविरुद्ध औपचारिक अभियोग दर्ता गरी अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट समेत जारी गर्न सक्ने सम्भावना छ।

 हालै अमेरिकी न्याय विभागले फ्रान्सलाई यस अनुसन्धानमा सहयोग गर्न अस्वीकार गर्दै यसलाई “अभिव्यक्ति स्वतन्त्रता” माथिको प्रहार मानेको खबर सार्वजनिक भएको छ। फ्रान्सेली अधिकारीहरूले आगामी अप्रिल २४ सम्म एक्सका अन्य कर्मचारीहरूको पनि बयान लिने तयारी गरेका छन्। मस्कको यो अवज्ञाले विश्वव्यापी प्रविधि क्षेत्रका दिग्गजहरू र राष्ट्रिय कानुनबिचको लडाइँलाई नयाँ र चुनौतीपूर्ण मोड दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link