इरान र अमेरिकाबिच जारी तनावका कारण विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग ‘हर्मुज जलसन्धि’ तत्काल नखुल्ने भएको छ। अमेरिकाका लागि इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले अमेरिका र इजरायलले बारम्बार युद्धविराम उल्लङ्घन गरेका कारण जलसन्धि खोल्न सम्भव नभएको स्पष्ट परेका छन्। गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नौसैनिक नाकाबन्दीलाई ‘विश्व अर्थतन्त्रलाई बन्धक बनाएको’ आरोप लगाएका छन्।
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले वार्ताका लागि आफ्नो देश तयार रहे पनि नाकाबन्दी र धम्कीपूर्ण व्यवहार वार्ताका मुख्य बाधक रहेको बताएका छन्। यता, पाकिस्तानमा हुने भनिएको नयाँ शान्ति वार्ता अझै सुरु हुन सकेको छैन भने अमेरिकी उप-राष्ट्रपति जेडी भान्स अझै अमेरिकामै छन्।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार समाप्त हुन लागेको अमेरिका–इरान युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभीटले ट्रम्प हालको नाकाबन्दीबाट सन्तुष्ट रहेको र इरान निकै कमजोर अवस्थामा पुगेको दाबी गरेकी छन्। लेभीटले युद्ध कहिले समाप्त हुन्छ भन्ने कुरा ट्रम्पको निर्णयमा भर पर्ने समेत बताइन्।
सोही समयमा, इरानले हर्मुज जलसन्धिबाट ‘अनुमति बिना सञ्चालन भएको’ भन्दै ‘एमएससी फ्रान्सेस्का’ र ‘एपाामिनोन्डास’ नामक दुई वटा कार्गो जहाजहरू कब्जामा लिएको छ। इरानी रिभोलुसनरी गार्डले ती जहाजहरू गोप्य रूपमा उम्कन खोजेको आरोप लगाउँदै कमान्डोहरूले छापा मारेको भिडियो सार्वजनिक गरेको छ।
तनाव बढ्दै जाँदा अमेरिकी रक्षा मन्त्रालयले नौसेना सचिव जोन पेलानलाई तत्काल पदमुक्त गरेको घोषणा गरेको छ, जसको कुनै स्पष्ट कारण खुलाइएको छैन। रणनीतिक विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब बढाउन नाकाबन्दीलाई निरन्तरता दिने रणनीति लिएको छ।
ह्वाइट हाउसले इरानद्वारा जहाज कब्जा गरिएको घटनालाई अमेरिकी वा इजरायली जहाज नभएका कारण युद्धविरामको उल्लङ्घन नमान्ने बताएको छ। यो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा प्रति ग्यालन एक डलरसम्म वृद्धि देखिएको छ, जसले विश्व बजारमा थप चिन्ता पैदा गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- ट्रम्प र सीबिच बेइजिङ वार्ता सम्पन्न, सम्बन्ध सुधारको दाबी तर ठुला सम्झौता भने ओझेलमा
- फिफा विश्वकप: अमेरिकाद्वारा १५ हजार डलरको भिसा धरौटी खारेज
- डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि बेइजिङमा
- सीसँग युक्रेन युद्ध अन्त्यको विषय उठाउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह
- फ्रान्सेली राष्ट्रपति म्याक्रोनद्वारा २७ अर्ब डलरको अफ्रिकामा लगानी योजनाको घोषणा
- इजरायली ‘सेटलर्स’ र संस्थाहरूमाथि युरोपेली सङ्घको प्रतिबन्ध
- मध्यपूर्वमा शक्ति सन्तुलन मिलाउन अमेरिकाद्वारा खाडी राष्ट्रहरूलाई अर्बौँ डलरको हतियार बिक्री
- वायु ऊर्जामा चीनको वर्चस्व: विश्वव्यापी बजार कब्जा गर्ने रणनीति
- मध्यपूर्वको युद्ध लम्बिए विश्व अर्थतन्त्रमा संकट बढ्ने
- भारत विधानसभा निर्वाचन: पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक जित, तमिलनाडुमा नयाँ शक्तिको उदय