अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध र सम्भावित युद्धविरामका बारेमा छलफल गर्न आफ्ना विशेष दूतहरूलाई पाकिस्तान पठाउने निर्णय अन्तिम समयमा रद्द गरेका छन्। अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर शनिबार पाकिस्तानको राजधानी इस्लामावाद जाने तय भएको थियो।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यसको जानकारी दिँदै भनेका छ, “मैले इस्लामावाद जाने प्रतिनिधिहरूको भ्रमण रद्द गरेको छु। यात्रामा धेरै समय खेर गइरहेको छ र यो निकै कठिन कार्य पनि हो। यसबाहेक इरानी नेतृत्वभित्र ठुलो आन्तरिक कलह र अन्योल छ। उनीहरूमध्ये कसले नेतृत्व गरिरहेको छ भन्ने कुरा उनीहरू आफैँलाई थाहा छैन।”
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले आफूहरू वार्ताका लागि हतारमा नरहेको सङ्केत गरेका छन्। उनीहरूले १८ घण्टाको लामो उडान भरेर ‘केही पनि उपलब्धि नहुने’ वार्ताका लागि बस्नु आवश्यक नरहेको उहाँको तर्क छ। ट्रम्पले भने, “हामीसँग सबै कार्डहरू छन्, उनीहरूसँग केही छैन। यदि उनीहरू वार्ता गर्न चाहन्छन् भने मलाई सिधै फोन गर्न सक्छन्।”
रोचक कुरा के छ भने, भ्रमण रद्द भएको १० मिनेटभित्रै इरानले एउटा नयाँ शान्ति प्रस्ताव पठाएको दाबी समेत ट्रम्पले गरेका छन्। यद्यपि, उक्त प्रस्ताव पर्याप्त नभएको भन्दै ट्रम्प्ले त्यसलाई अस्वीकार गरेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको भ्रमण सकेर ओमान प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल ‘एक्स’मा अमेरिकाको कूटनीतिक गम्भीरतामाथि प्रश्न उठाएका छन्। उनले इरानले स्थायी रूपमा युद्ध अन्त्यका लागि एक कार्य ढाँचा प्रस्तुत गरेको तर अमेरिका कूटनीतिमा कत्तिको गम्भीर छ भन्ने कुरा अझै स्पष्ट नभएको बताए ।
यसअघि, इरानी विदेश मन्त्रालयले अमेरिकी प्रतिनिधिहरूसँग कुनै पनि प्रत्यक्ष वार्ता नहुने र पाकिस्तानी अधिकारीहरूमार्फत मात्र सन्देश आदानप्रदान गरिने स्पष्ट पारेको थियो।
इरान र अमेरिका–इजरायलबिच जारी यस युद्धले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर असर पारेको छ। विशेष गरी ‘स्ट्रेट अफ होर्मुज’ लगभग बन्द अवस्थामा रहँदा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ भने इरानले पनि उक्त महत्त्वपूर्ण जलमार्गबाट हुने ढुवानीमा अवरोध पुर्याउँदै आएको छ।
पाकिस्तानले यी दुई देशबिच मध्यस्थताको प्रयास गरिरहेको भए पनि ट्रम्पको पछिल्लो निर्णयले शान्ति प्रक्रियालाई थप जटिल बनाएको छ। अप्रिलको सुरुमा भएको पहिलो चरणको वार्ता पनि कुनै ठोस निष्कर्षबिना टुङ्गिएको थियो।
अहिले इरान र अमेरिकाबिच अनिश्चितकालीन युद्धविराम जारी रहे पनि कूटनीतिक संवादको ढोका बन्द हुँदा पुनः सैन्य तनाव बढ्न सक्ने खतरा देखिएको छ। विश्व समुदायले यस क्षेत्रको तनाव कम गर्न र तेल आपूर्ति सहज बनाउन वार्ताको पुनरारम्भको अपेक्षा गरिरहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- ट्रम्प र सीबिच बेइजिङ वार्ता सम्पन्न, सम्बन्ध सुधारको दाबी तर ठुला सम्झौता भने ओझेलमा
- फिफा विश्वकप: अमेरिकाद्वारा १५ हजार डलरको भिसा धरौटी खारेज
- डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि बेइजिङमा
- सीसँग युक्रेन युद्ध अन्त्यको विषय उठाउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह
- फ्रान्सेली राष्ट्रपति म्याक्रोनद्वारा २७ अर्ब डलरको अफ्रिकामा लगानी योजनाको घोषणा
- इजरायली ‘सेटलर्स’ र संस्थाहरूमाथि युरोपेली सङ्घको प्रतिबन्ध
- मध्यपूर्वमा शक्ति सन्तुलन मिलाउन अमेरिकाद्वारा खाडी राष्ट्रहरूलाई अर्बौँ डलरको हतियार बिक्री
- वायु ऊर्जामा चीनको वर्चस्व: विश्वव्यापी बजार कब्जा गर्ने रणनीति
- मध्यपूर्वको युद्ध लम्बिए विश्व अर्थतन्त्रमा संकट बढ्ने
- भारत विधानसभा निर्वाचन: पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक जित, तमिलनाडुमा नयाँ शक्तिको उदय