म्यानमारकी पूर्व नेतृ आङ सान सुकी जेलबाट नजरबन्दमा

म्यानमारको सैन्य सरकारले जेलमा रहेकी पूर्व नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई जेलबाट घरमा नजरबन्दमा सारेको छ। करिब पाँच वर्षअघि सैन्य कू मार्फत सत्ताच्युत भएपछि ८० वर्षीयै सुकी लगातार कारागारमा थिइन्।

बिहीबार साँझ म्यानमारको सरकारी टेलिभिजनमार्फत यो जानकारी सार्वजनिक गरिएको हो। सैन्य सरकारले ‘बुद्ध जयन्ती’ को अवसरमा मानवीय आधार र राज्यको दया देखाउन यो कदम चालिएको दाबी गरेको छ। यद्यपि, उनलाई कुन स्थानमा सारिएको हो भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।

सन् २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सुकीलाई विभिन्न आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको थियो। हालैको आममाफीपछि उनको सजायमा कटौती गरिएको छ, तर अझै पनि उनले १३ वर्षभन्दा बढी समय बाँकी सजाय पूरा गर्नुपर्ने हुन्छ।

यस कदमलाई लिएर अन्तर्राष्ट्रिय समुदाय र अधिकारवादीहरूले संशय व्यक्त गरेका छन्। सुकीका छोरा किम एरिसले यसलाई वास्तविक स्वतन्त्रता नभई सैन्य सरकारको एउटा चालबाजी भएको टिप्पणी गरेका छन्। उनले आफ्नी आमाको स्वास्थ्य अवस्था र हालको अवस्थाबारे कुनै पनि भरपर्दो जानकारी नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विश्लेषकहरूका अनुसार भर्खरै म्यानमारको नागरिक राष्ट्रपति बनेका सैन्य प्रमुख मिन आउङ ह्लाइङले आफ्नो छवि सुधार्न र अन्तर्राष्ट्रिय दबाब कम गर्न यो रणनीतिक कदम चालेका हुन्। संयुक्त राष्ट्रसङ्घले यसलाई ‘सकारात्मक कदम’ भने पनि म्यानमारको मुख्य विपक्षी समूहले भने यसलाई सैन्य शासनको औचित्य पुष्टि गर्ने प्रयासका रूपमा लिएको छ।

लामो समयपछि सार्वजनिक गरिएको तस्बिरमा सुकी केही वृद्ध देखिएकी छन्। उनको अवस्थाबारे अझै पनि अन्योल कायमै रहेको छ र अधिकारकर्मीहरूले उनलाई बिनाशर्त रिहा गर्न माग गरिरहेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link