बगरमा बन्यो सुन दान गर्ने धार्मिक स्थल

प्रकाश दाहाल

चौध पन्ध्र वर्ष अगाडिसम्म महादेवको सानो जीर्ण मन्दिर र दाहसंस्कार गर्ने घाट एकजना मान्छेको मेहनतले कायाकल्प हुनसक्छ भन्ने उदाहरण हुन हेटौंडाको कुष्माण्ड सरोबर त्रिवेणीधाम र ईश्वरी न्यौपाने। बिक्रम सम्वत् २०६५ साल अघिसम्म खोलाको बगरको हो यो ठाउँ, यो क्षेत्रका मृतकहरूको दाहसंस्कार गर्ने ठाउँ।

ईश्वरी न्यौपाने

तर ६७ वर्षीय ईश्वरी न्यौपानेको भगिरथ प्रयत्नमा अन्य विभिन्न व्यक्ति संघ संस्था अनि सरकारले दिएको साथले हेटौंडा ९ मा रहेको यो कुष्माण्ड सरोबर त्रिवेणीधाम तीर्थस्थलसँगै धार्मिक पर्यटकको गन्तव्य बनेको छ।  अहिले दिनहुँ हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक तथा ज्येष्ठ नागरिक तीर्थयात्राका क्रममा आउने गरेका छन्। भ्रमणका लागि विभिन्न स्थानमा हिँडेका तीर्थयात्री पनि पूर्वपश्चिम राजमार्गबाट नजिक पर्ने हुनाले त्रिवेणीधाममा दर्शन गरेर मात्र जाने गरेका छन्।
आइएनएससँग कुरा गर्दै ईश्वरी न्यौपानेले अहिलेसम्म ७ करोड रुपैयाँभन्दा बढी त्रिवेणीधाम निर्माणमा खर्च भइसकेको जानकारी दिनुभयो। ‘इमानदारीपूर्वक लगनशील भएर कुनै पनि काम गरेपछि सफल भइँदो रहेछ’ न्यौपानेले भन्नुभयो। उहाँको खटाइकै कारण बगरबाट सुन्दर धार्मिक एवं पर्यटकीय स्थलका रूपमा परिणत भएको छ । २०४६ मा देशमा प्रजातन्त्र आएपछि वडाध्यक्षसमेत बन्नुभएका ईश्वरी न्यौपानेले यो ठाउँको ऐतिहासिक महत्त्व रहेको खोजकर्ता पण्डित देवीप्रसाद कोइरालाबाट जानकारी पाउनु भयो। अनि राजनीतिलाई पूर्णतः त्यागेर बगरलाई धार्मिक स्थलमा परिणत गर्न कस्सिनुभएको हो। सुरुवातमा ज्योतिष पण्डित केशवप्रसाद धितालको अध्यक्षता एकमहिने पाठपारायण समेत लगाइएको थियो।
न्यौपाने अध्यक्ष भएपछि गरेका काम निकै लोकप्रिय भए। अझै पनि उहाँ हरेक दिनको सुरुवातसँगै बेलुका अबेरसम्म त्रिवेणीधाममै भेटिनुहुन्छ। बगरबाट धार्मिक स्थलमा परिणत भएको त्रिवेणीधामको चर्चा र पहिचान देशभरि नै बनिसकेको छ । साढे ७ बिघा क्षेत्रफलमा फैलिएको उक्त धार्मिक स्थल निर्माण गर्न तत्कालीन जिविसअन्तर्गतको पर्यटन विकास समितिले ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
कुष्माण्ड सरोबर त्रिवेणी धाममा एक महिने मकर मेला लाग्ने गरेको छ। रत्नावती, कर्णावती र कौशबाहीनीको संगमस्थलमा कुष्माण्ड सरोबर त्रिवेणीधाम स्थापना भएको हो। धाममा विशेष गरी उत्तरबाहिनी नदीको मूलबाट १०८ गौमुखी धारामा स्नान गर्ने भक्तजनको भिड लाग्ने गरेको छ। १०८ धारा निर्माण प्रारम्भ भएको यो स्थलको परिवर्तन अत्यन्त लोभलाग्दो छ।

द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्ने क्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी) को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिए अनुसार मकरमेला लाग्ने गरेको हो। यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको विश्वास छ।


माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्धिक्षेत्र, पाण्डवहरूले श्राद्ध तर्पण गरेको, अम्वरिष राजाले भगवान विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरू निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले आइएनएसलाई बताउनुभयो। तीनवटा नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि यस क्षेत्रमा आएर गरिने स्नान विशेष महत्व रहेको छ। अहिले दिनहुँजसो विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकलाई कुष्माण्ड सरोबरको भ्रमणका लागि ल्याउने गरेका छन्। त्रिवेणीधाममा पर्यटक आकर्षणका विभिन्न माध्यम भएका कारण पनि आवतजावत गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको त्रिवेणीधाम विकास समितिका अध्यक्ष न्यौपाने आइएनएससँग कुरा गर्दै बताउनुभयो। पण्डित देवीप्रसाद कोइरालाको अगुवाइमा यस स्थानको नाम कुष्माण्ड सरोबर त्रिवेणीधाम नामाकरण गरी २०६६ देखि मकरमेला लगाइ निर्माणको प्रक्रिया सुरु गरीएको हो।
कुष्माण्ड सरोबर त्रिवेणी धामको विकासका लागि विभिन्न समयमा लगाइएका धार्मिक कार्यक्रम तथा मेला महोत्सवमा उठेका रकमबाट पनि काम भइरहेको छ। नेपाल सरकार, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकालगायतले पनि यसको निर्माणका लागि बजेट उपलब्ध  गराइरहेका छन्।  यो क्षेत्रको आकर्षणका रुपमा पार्क, कुष्माण्ड सरोबर, हेटौंडाको इतिहास झल्काउने हेडम्बा नगरी निर्माण  गरिएको छ। पर्यटकलाई अर्को आकर्षणका रुपमा सरोबरको डुङ्गा पनि सञ्चालन गरिएको छ। सबैको सहयोग पाउँदै गएकोले कुष्माण्ड सरोबर त्रिवेणीधामका देशकै नमूना धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले आइएनएसलाई  वताउनुभयो।
एक महिने मकर मेलामा पुराणवाचन, बटुकाहरूको सामूहिक व्रतबन्ध, प्रत्येक दिन पाठपारायण, नित्य पूजाआजा हुने गरेको छ। द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्ने क्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी) को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिए अनुसार मकरमेला लाग्ने गरेको हो। यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको विश्वास छ।त्यस्तै यो स्थानमा कुष्माण्ड नवमीको दिनमा कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरे पृथ्वी दान गरेबराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। मेलामा भक्तजनले कुभिण्डो र त्यसमाथि सुवर्ण (सुन) दान गर्ने गरेका छन्।
आफ्ना भक्तजनहरूलाई पापहरूबाट मुक्त गराउने माताका रुपमा कुष्माण्ड परिचित छिन्। उनै कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणीधामले वर्षेनी मेला गर्ने गर्दछ। तीन नदीको संगममा रहेको यस ठाउँमा कुष्माण्ड नवमीका दिन कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्धि प्राप्त गरेको दिनको रुपमा विश्वास गरिन्छ।
त्यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, एक सय आठ गौमुखी धारा, कुष्माण्ड भगवती सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा निर्माण गरिएको छ। तीनवटा नदिको संगम रहेकोले ‍धामको नजिकै दाहसंस्कारको काम पनि निरन्तर चलिरहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
बगरमा बन्यो सुन दान गर्ने धार्मिक स्थल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link