नेपाली चियाको स्वाद चखिलो बनाउँदै शान्ता

कञ्चनजंगा टि स्टेटकी कार्यकारी निर्देशक शान्ता बाँस्कोटा कोइराला नेपाली चियालाई १२ वटा स्वाद दिने प्रयासमा

तारा वाग्ले

नेपालका महिला उद्यमीहरूमा चिरपरिचित नाम हो शान्ता बाँस्कोटा कोइराला। २२ वर्षदेखि चिया उत्पादन क्षेत्रमा क्रियाशील शान्ता कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरमा कार्यकारी निर्देशक हुनुहुन्छ। जन्मथलो पाँचथरमा रहेको चिया उद्योगबाट विभिन्न प्रकार र स्वादका चिया उत्पादन गरी विभिन्न देशमा निर्यात गर्दै आउनुभएकी शान्ता सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ। बुबा दीपक प्रकाश बाँस्कोटाले स्थापना गरेको टि स्टेटमा रहेर चिया उत्पादन, प्रशोधन, बजारीकरण  तथा व्यवसाय प्रवर्द्धनमा लाग्नुभएकी शान्ताको अनुभवहरू उहाँकै शब्दमाः
बुबाको बिँडो धान्दै व्यवसायमा
मैले पाँचथरमा जन्मिएर त्यहीँकै स्थानीय विद्यालयबाट एसएलसी सम्मको अध्ययन गरेकी हुँ। पछि काठमाडौँ आएर समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेँ। म राजनीतिक परिवारमा हुर्केकी हुँ। मेरो बुबा दीपक प्रकाश बाँस्कोटा पूर्व गृहराज्यमन्त्री हुनुहुन्थ्यो। साथै उहाँले पाँचथरमा चिया उद्योग पनि खोल्नुभएको थियो। राम्रो पढ्ने तथा केही नयाँ काम गरेर स्थापित हुने प्रेरणा पनि मैले बुबाबाटै पाएको हो। अहिले मलगायत मेरा सबै दाजुभाइ तथा दिदीबहीनी विभिन्न क्षेत्रमा क्रियाशील छौं।  मेरो  बुबाले कञ्चनजंगा टि स्टेट  सन् १९८४ मा स्थापना गरेसँगै हाम्रो परिवार चिया उत्पादन क्षेत्रमा सहभागि भएको हो। बुबाको प्रेरणाले यस क्षेत्रमा लागेकी हुँ।  यस क्षेत्रबाट नै धेरै कुराहरू सिक्ने अवसर पाएकी छु। बुबाले शुरु गरेको उद्योगलाई पुस्तौं पुस्तासम्म सञ्चालन गर्न र दीर्घकालिक रुपमा प्रतिफल पाउनेगरी स्थापित गर्ने उद्देश्यले यो क्षेत्रमा आएको हुँ।  नेपालमा उत्पादित चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन एवं विस्तार गर्ने कार्यलाई बुबा पछि हामीले निरन्तरता दिनुपर्छ भनेर म लगायत मेरा ३ बहिनी  सन् २००२ देखि  यस क्षेत्रमा क्रियाशील छौ।
जागिरको इच्छा अधुरै
मलाई सानैदेखि बैंकमा जागिर खाने रहर थियो। साथै बुबाले उद्योगको क्षेत्रमा गरेको संघर्ष देखेर यही क्षेत्रमा केही गरौँ भन्ने पनि लाग्थ्यो। २२ वर्षको उमेरमै बिहे भयो। शिक्षित र समझदार परिवारमा बिहे भएकोले मैले थप पढ्नको लागि र आफ्नो व्यक्तित्व विकासको लागि हौसला र सहयोग पाइरहेँ। एकपटक म बैकमा जागिर खानको लागि एक बैकमा बायोडाटा बुझाएर आएकी थिएँ। आफ्नै बुबाको उद्योग हुँदा पनि किन अरु ठाउँमा जागिर गर्ने, तिमीले त अरुलाई जागिर दिने पो हो  भनेर मेरो श्रीमानले भनेपछि मलाई पनि जागिर नखाइ व्यवसाय गर्छु भन्ने लाग्यो। बुुबाले धेरै दुख गरेर स्थापित गरेको उद्योगलाई निरन्तरता दिने अभिभारा अव हाम्रो भन्ने सोचेर यो क्षेत्रमा आई व्यवस्थापकिय क्षमता विकास गर्दै लगेर अहिले यो स्थानमा पुगेकी हुँ।
सम्पन्न उद्योग बनाउन निरन्तर क्रियाशील
अहिले हाम्रो उद्योगले जिन्जर, लेमनग्रास, ओरेन्ज पिल लगायतका विभिन्न फ्लेभरमा चिया उत्पादन गर्दै आएको छ। यस्ता चिया प्रति मानिसहरूको रुचि बढ्दो छ। हामीले पनि करिब १ दर्जन भेराइटीका चियाहरू उत्पादन तथा प्रवर्द्धन गर्दै आएका छौं। विगत २ दशक पहिलेले  नेपालका कुनै महिला पनि चिया उत्पादन तथा बजारीकरण लगायतका व्यवस्थापन कार्यमा सहभागि भएका थिएनन्। नेपालमा चिया क्षेत्रमा संलग्न भएका महिलाहरू केवल चिया टिप्ने कार्यमा मात्र सीमित थिए। त्यस बेलामा मैले यसै क्षेत्रमार्फत कसरी आफ्नो जिल्लाका महिला दिदीबहिनीहरूको अवस्थालाई माथि उठाई सम्पन्न बनाउन सकिन्छ ? यस कार्यमा मेरो भूमिका के हुन सक्छ ? भन्ने बारे आफैँले खोज गरेँ। मलाई आफ्नै जन्मभूमिको रुपमा रहेको पाँचथरबाट नै कसरी त्यहाँ उपलब्ध स्रोतको पहिचान र प्रवर्द्धन गर्दा  सामाजिक रुपमा प्रतिष्ठित एवं आर्थिक रुपमा सम्पन्न भई सामाजिक दायित्व निर्वाह गर्न तथा सशक्तीकरण लगायतमा सरिक हुन सकिन्छ भन्ने सम्बन्धमा विचार गरी यस उद्योगलाई  नयाँ गति दिने योजना बमोजिम अघि बढेँ।
चिया निर्यातमा पहल
शुरु देखि नै नेपालमा हामीले चिया पारखीहरूको लागि लक्षित गरेर अर्गानिक अर्थोडक्स चियाको प्रवर्द्धनलाई विशेष महत्वको साथ अघि बढाउँदै गयौँ। नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्पेसल चिया अन्तरगत उलन टि, ह्वाइट टि, गोल्ड टि, सिल्भर टि लगायतका चियाहरू अहिले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा छन्। श्रीलङ्का, चीन लगायतका देशहरूमा साधारण चिया नै बढी प्रचलनमा रहेपनि अमेरिका, युरोप लगायतमा भने फ्लेभर चियाको माग निकै नै बढेको छ। साथै चिया क्षेत्रमा नयाँ सम्भावनाहरू समेत देखिँदै गएका छन्। अहिलेको अवस्थामा जिन्जर, लेमनग्रास, ओरेन्ज पिल लगायतका विभिन्न फ्लेभरमा उत्पादन हुने चिया प्रति मानिसहरूको रुचि बढ्दो छ। हामीले पनि करिब १ दर्जन भेराइटीका चियाहरू उत्पादन तथा प्रवर्द्धन गर्दै आएका छौं। अहिले नेपालमा अर्गानिक चिया प्रयोग गर्ने बारेमा निकै कम व्यक्तिहरू मात्र जागरुक छन्। यद्यपि नेपालमा समेत अर्गानिक चिया प्रतिको क्रेज भने बढ्दो छ। खासगरी पछिल्ला केही वर्षहरूमा नेपालमा ग्रीन टिको माग निकै नै बढेको छ।
जागिरजस्तो सजिलो छैन
उद्यमी महिलाको लागि आफ्नो उद्योग व्यवसायमा निरन्तर खटेर उपलब्धि हासिल गर्न निकै धेरै चुनौतीको सामना गर्नुपर्दो रहेछ। पहिलेदेखि नै उद्यम क्षेत्रको निर्णायक तहमा पुरुषको प्रभुत्व भएर होला महिलालाई त्यो ठाउँमा पुग्न निकै ने संघर्ष गर्नुपरेको हुन्छ। पहिले त उद्योग क्षेत्रमा महिलाहरू केवल कामदार मात्र हुन्छन् मालिक हुँदैनन् भन्न सोच थियो। यस्तो बेला मैले उद्योगको नेतृत्व तह सम्हाल्दा धेरै पुरुष उद्यमीहरू तथा ग्राहकको  विश्वास जित्न निकै कठिन भएको  थियो। बिजनेसका बारेमा छलफल हुँदा महिलाले पनि ठूला ठूला बिजनेस सम्हाल्न सक्छन् र भनेर शङ्काको दृष्टिले हेर्थे।  अर्को कुरा बिजनेस सम्हाल्नु १० देखि ५ को जागिर गरेजस्तो सजिलो  हुँदैन। जतिबेला पनि खट्नु पर्छ। यसको साथै पारिवारिक तथा सामाजिक जिम्मेवारी त भै नै हाल्यो। यस्ता जिम्मेवारी निर्वाह गर्दै बजारको माग र आवश्यकताको आधारमा उत्पादन बढाउँदै विश्व बजारसम्म पुर्याउनु निकै ठूलो संघर्ष गरियो। त्यसैले त अहिले यो स्थानमा पुगिएको छ। पहिले मैले चिया उद्योग सम्हाल्न सकुँला र ?  भनेर अविश्वास गर्नेहरू अहिले भने सँगसँगै काम गर्ने प्रस्ताव लिएर आउँछन्। आफूले इमानदारीपूर्वक हिम्मत नहारी निरन्तर प्रयास गर्ने हो भने सफल हुन सकिन्छ।
चिया क्षेत्रमा दक्ष जनशक्तिको अभाव
नेपालमा चिया क्षेत्रमा काम गर्न शिक्षित व्यक्तिहरू पाउन निकै गाह्रो छ। कामदारहरू समेत सहजै पाउन नसकिने भएको कारण उत्पादन भएको चिया (ग्रिन लिफ) समेत टिप्न सकिएको अवस्था छैन। जसले गर्दा चिया पूर्ण परिमाणमा उत्पादन हुन सकेको छैन। नेपालमा कञ्चनजङ्गा टि स्टेट शुरु हुँदाका दिनमा दार्जिलिङमा चिया प्रशोधन कार्यमा संलग्न प्राविधिकलाई नेपालमा ल्याई काममा लगाएको कारण उनीहरूबाट नेपालीहरूले समेत चिया उत्पादन तथा प्रशोधन सम्बन्धी कामहरू सिक्ने अवस्था सिर्जना भयो। अहिले भने नेपालमा चिया उत्पादन तथा प्रवर्द्घन कार्यमा संलग्न माथिल्लो तहका जनशक्ति समेत नेपाली नै छन्। तर अहिले पनि नेपालका अन्य विभिन्न चिया गार्डेनहरूमा नेपालीहरू जनशक्तिमा प्राविधिक ज्ञानको अभाव रहेको कारण विदेशी प्राविधिक जनशक्ति नै कार्यरत छन्। नेपालमा चिया सम्बन्धी अहिले पनि राम्रा नीतिहरू बन्न सकेका छैनन्। साथै राज्य पक्षले पनि चियाको विकास र प्रवर्द्धन कार्यमा आफ्नो भूमिका के हुने भन्नेमा समेत खासै चासो दिएको पाईंदैन। निजी क्षेत्रका समस्याहरू के छन् र राज्यले के गर्नुपर्छ भन्ने सम्बन्धमा राज्य पक्ष पनि जिम्मेवार बन्न सकेको खण्डमा मात्र हामीले नेपालमा चियाको उत्पादन बढाउन र बाहिर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्नेछ। यद्यपि अहिले नेपालमा कर्मचारीहरूको लागि ल्याइएको सामाजिक सुरक्षा ऐन समेत चिया बगानमा काम गर्ने कर्मचारीहरूलाई उपयुक्त हुने किसिमको छैन। राज्यले ल्याएको अहिलेको नीतिको कारण चिया निर्यातमा समेत समस्या सृजना हुने अवस्था देखिएको छ। सामाजिक सुरक्षा नीति सँगै चिया उत्पादनमा हुने लागत ४० प्रतिशत भन्दा बढीले वृद्धि हु्ने अवस्था देखिएको छ। साथै यसबाट विदेशी मुलुकका क्रेताहरू माझ हाम्रो उत्पादन निर्यात गर्नमा समस्या सृजना हुने अवस्था समेत छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap