आमिरको नेपाल भ्रमणः किन भएन श्रम सम्झौता नविकरण?

तारा वाग्ले

कतारका अमिर (राजा)  शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। कतारका अमिर  थानीको नेपाल भ्रमणका अवसरमा  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएका छन्।

कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान, युवा तथा खेलकुद तथा  कूटनीति, शिक्षा र तालिमसम्बन्धी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभएको छ। साथै गैसरकारी स्तरमा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता भएको छ।

नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको द्विपक्षीय वार्तामा उक्त सहमती तथा सम्झौता भएका हुन्।  नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा  सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र कतारबीच सन् १९७७ देखि सम्बन्ध कायम रहँदै छ। यस क्रममा दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमणहरू भएका छन्। कतारी राजा आमिरको नेपाल भ्रमण  उपलब्धिमूलक बनाउनेतर्फ नेपालले विशेष प्रयास गरेको छ। नेपालले आमिरको भ्रमणका अवसरमा सार्वजानिक विदा दिएको थियो। साथै नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिएको छ। अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिएको हो।

सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो। संकटापन्न सूचीकृत वन्यजन्तुको आयात(निर्यातका लागि स्विट्जरल्यान्डमा रहेको साइटिस सचिवालयबाट अनुमति प्राप्त नभएकाले उपहार लैजाने प्रक्रिया भने लम्बिने भएको छ।

यस्तै कतारी राजा थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको थियो। साथै उहाँले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

कतारमा कार्यरत झन्डै ४ लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण आधार हुन्। कतारमा कार्यरत नेपाली श्रमिकका समस्यालाई सम्बोधन गर्नेगरी योजना बनाउनुपर्ने खाँचो देखिएको छ। अमिरको भ्रमणका अवसरमा  कतारमा श्रम गर्ने नेपालीको सुरक्षा र रोजगारीमा देखिएका समस्या समाधान गर्नु सरकारको स्वभाविक दायित्वभित्र समेटिएको विषय पनि हो।

यसैलाई ध्यान दिदैँ प्रधानमन्त्री प्रचण्डले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिक पठाउन नेपालमा व्यावसायिक तालिम र सिप विकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री प्रचण्डले नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्नका लागि प्रतिबद्ध भएको र यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको बताउनुभएको छ।

नेपालले राखेका प्रस्ताव

प्रधानमन्त्री प्रचण्डले कतारका अमिरसंग काठमाडौंमा  भएको द्विपक्षीय वार्ता  नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको बताउनुएको छ।   नेपाल–कतारबीचको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र नै कतारमा कार्यरत नेपालीहरू भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुुभएको छ।  प्रधानमन्त्री प्रचण्डले कातारका राजा थानी संग इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षित रूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध समेत गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षा पूरा गर्न मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोगको अपेक्षा गरेको कतारका आमिर समक्ष उल्लेख गर्नुभएको थियो। त्यस्तै नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरू (एमओयू) सम्पन्न भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुवै देशबीच भएका सम्झौता तथा समझदारी परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिनुुभएको छ। साथै उहाँले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताउँदै भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएकोले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने उल्लेख गर्नुभयो।

भएका सम्झौता

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र

२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता

३. नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)

४. नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र

६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण

कतारमा नेपाली श्रमिकको अवस्था

कतारमा नेपाली श्रमिकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ। जनवरी २०२३ सम्म कतारमा ३ लाख ६४,००० नेपाली रहेको दोहास्थित नेपाली राजदूतावासको तथ्यांकमा उल्लेख छ।।गत आर्थिक वर्षमा मात्र कतार जानको लागि १ लाख ३३ हजार १०२  जना नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागकाले जनाएको छ। कतारको विकास र समृद्धि नेपाली श्रमिकको महत्वपूर्ण भूमिका छ। सन् २०२२ को विश्वकपको पूर्वाधार निर्माण कार्यमा ठुलो सङ्ख्यमा नेपाली श्रमिक खटिएका थिए। सोही क्रममा धेरै नेपालीले ज्यान पनि गुमाएका थिए।  दुई वर्षअघि (आर्थिक वर्ष २०७९र८०) मा कतारी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या १२३ थियो। चालु आर्थिक वर्ष (आव २०८०/ ८१) को साढे नौ महिनामा ८० जनाले ज्यान गुमाइसकेका छन्।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो। नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन्। शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरूमा यी दुवै राष्ट्रहरू सदस्यका रूपमा छन्।

किन हुन सकेन श्रम सम्झौता नविकरण?

नेपाल र कतारबीच सन् २००५ मा  श्रम सम्झौता भएको थियो। तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल  भ्रमणका क्रममा  सो सम्झौतालाई लाई पुनरावलोकन गर्ने बताइएको थियो। तर नेपालले महत्त्वका साथ उठाउँदै आएको श्रम सम्झौताको पुनरावलोकन भने हुन सकेन। कतारसँग १९ वर्ष पुरानो श्रम सम्झौता पुनरावलोकन गर्ने नेपाल सरकारको इच्छा व्यक्त गरेपनि कतारी पक्ष सकारात्मक नभएको कारण सो सम्झौता अधुरै रह्यो।

त्यस्तै २० जनवरी २००८ मा अतिरिक्त प्रोटोकल कतारमा नेपाली जनशक्ति आपूर्तिको लागि हस्ताक्षर गरिएको थियो। कतारले हालैका वर्षहरूमा  आप्रवासी कामदारहरूको अधिकार सुरक्षित गर्न धेरै श्रम सुधारहरू ल्याएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ। जसमध्ये कतार भिसा केन्द्रहरू (क्यूवीसी) को स्थापना र सञ्चालन, बहिर्गमन अनुमतिको आवश्यकता नहुने, भेदभावरहित न्यूनतम पारिश्रमिकको कार्यान्वयनलगायत अन्य समावेश छन्।

यसैबीच अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले  कतारका राजाको नेपाल भ्रमणका क्रममा कतारमा आप्रवासी श्रमिकहरूले सामना गरिरहेको श्रम सम्वन्धी समस्यालाई सम्बोधन गर्न सुुझाव दिंदै कतारका राजाको नेपाल भ्रमणका क्रममा  आप्रवासी कामदारको श्रम सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ। उसले कतारमा रहेका श्रमिकहरूका  समास्यको समाधान तथा श्रम सम्वन्धि मुद्दाहरूमा द्विपक्षिय सम्झैता र तिनको कार्यान्वयनबारे पनि सम्वन्धित देशहरूले चासो दिनुपर्ने जनाएको छ। सन् २०२३ को ह्युमन राइटस वाचको प्रतिवेदन अनुसार विश्वकप सम्भव तुल्याएका नेपाल र बंगलादेशका कैयौँ कामदारले श्रम सुधारका बावजुद गम्भीर प्रकृतिका समस्याहरूको समाना गर्नुपरेको छ। सो संस्थाले विश्वकप फुटबलका लागि रङ्गशाला र अन्य पूर्वाधारहरू निर्माण गर्दा कतारमा नेपालीसहित कैयौँ विदेशी कामदारको ज्यान गएका विवरण सार्वजनिक गरेको थियो।

थानीले यस साता नेपालसँगै फिलिपिन्स र बंगलादेशको पनि भ्रमण गर्नुभएको छ।  यी भ्रमणहरूका क्रममा आमिरले सम्वन्धित देशका  अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने उपायहरूमा केन्द्रित भई आपसी हितका विभिन्न विषयमा छलफल गर्नुभएको छ। थानीको  नेपाल भ्रमणले आप्रवासी कामदारहरूको श्रम  संरक्षणको कार्यले प्राथमिकता पाउने सम्वन्धमा पनि चर्चा भैरहेको छ। कतारका राजा आमिरको नेपाल भ्रमणलाई श्रम कूटनीतिको क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ। नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यमा छ। यस समयमा कतारका अमिरको नेपाल भ्रमणबाट नेपाल सरकारले आर्थिक कूटनीतिको क्षेत्रमा पनि धेरै फाइदा लिनसक्ने अवसर रहेको परराष्ट्रका जानकारहरूको भनाइ छ। नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको विज्ञहरू बताउँछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link