विश्व सामाजिक मञ्चले अर्को विश्व सम्भव छ भन्दै १६औँ संस्करण आज औपचारिक रूपमा समापन गर्दै छ । ९० वटाभन्दा बढी देश सहभागी भएको सम्मेलनमा विभिन्न समसामयिक क्षेत्रका १३ वटा मुख्य विधा र त्यसमा आधारित ४०२ वटा उपविधामा छलफल गरिएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराकासाथ यही फागुन ३ गते काठमाडौँमा सुरु भएको सम्मेलन सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको छ ।
विश्वमा प्रचलनमा रहेका नवउदारवाद, पुँजीवाद र विश्वव्यापीकरणभन्दा फरक व्यवस्थाको काल्पनिकता विश्व सामाजिक मञ्चले स्थापनाकाल अर्थात् सन् २००१ देखि नै यो नारा अँगाल्दै आएको छ। सम्मेलन मार्फत समाज र प्रकृतिलाई केन्द्रमा राखेर विश्वको भविष्य निर्धारण गर्ने रणनीतिबारे विमर्श गर्दै मञ्चले भावी सम्भावनाको परिकल्पना सहितको लक्षित भविष्य निर्माणका रणनीति पनि खोजी गरेको छ ।
मञ्चको नेपाल आयोजक समितिमा रहेका गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाका अनुसार प्रचलित व्यवस्थाहरूले पैदा गरिरहेको असन्तुलन र असमानता चिर्न मञ्चको सुरुआत भएको थियो । पुँजीवादी अर्थतन्त्रको असन्तुलित व्यवस्थाले निश्चित देश र निश्चित व्यक्ति धनी हुँदै जाने र गरिब झन् गरिब हुँदै जाने भएकोले धनी देशको शोषण र दोहनकारी प्रवृत्तिलाई प्रतिरोध गर्न नै यो मञ्चको थालनी भएको तिमल्सिना बताउनुहुन्छ ।
के के भयो सम्मेलनमा ?
काठमाडौँमा पाँच दिनसम्म चलेको १६ औँ विश्व सामाजिक मञ्चअन्तर्गत महिला र बालबालिकामाथि हुने हिंसा र अन्यायविरुद्ध विभिन्न कार्यक्रम भएका छन् । सम्मेलनको दोस्रो दिन शुक्रवार सङ्गत नेपाल र टेवा नेतृत्वमा अन्य ३५ वटाभन्दा धेरै संघसंस्थाहरुले वान बिलियन राइजिङ थिम अर्थात् उर्लंदो सय करोड नारासहित विभिन्न कार्यक्रम गरेका थिए । उनीहरूले पितृसत्ता, जातियता, लैङ्गिक विभेद लगायतका विषयमा छलफल गरेका थिए ।
कार्यक्रम मार्फत महिला हिंसाको अन्त्य र न्यायको माग गरेको सङ्गत नेपालकी संयोजक दुर्गा सापकोटाले जानकारी दिनुभयो । सो कार्यक्रममा पीडितहरूले सामना गरेको हिंसालाई प्रतिरोधस्वरुप गीत, नृत्य, कलामार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालसहित दर्जनौँ देशमा महिला अधिकारवादीहरु सहभागी थिए । सम्मेलनमा छुवाछुत तथा रङ्गभेद, लैङ्गिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस भएको सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।
साथै सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कटका विषयमा पनि बहसहरू भएका थिए । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष तिमिल्सिनाले आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशजमा आधारित भेदभाव, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुताजस्ता विषयमा छलफल भएको बताउनुभयो ।
कार्यक्रममा मजदुर, किसान, महिला, दलित, युवा, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरूले सम्बोधन गरेका थिए । मञ्चले सम्मेलनका माध्यमबाट नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलन, शान्तिपूर्ण रूपले राजालाई हटाएर गणतन्त्र स्थापना गरेको, माओवादी द्वन्द्वको अन्त्य गर्न मौलिक विशेषताको शान्ति प्रक्रिया अगाडि बढाएको, विद्रोही सेनाहरू राष्ट्रिय सेनामा समायोजन भई कमान्डर वनेको, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त सहित समाजवाद उन्मुख संविधान निर्माण गरेको बारेमा विश्वलाई सुनाएको जनाएको छ ।
सम्मेलनबाट नेपालले विश्वमा भएका विभिन्न आन्दोलन, सङ्घर्ष र परिवर्तनका कथा तथा विश्वले विकास र समृद्धिमा हासिल गरेको उपलब्धिबारे सिक्ने अवसर पाएको मञ्चको दाबी छ । सम्मेलनमा छलफल गरिएका १३ वटा विषयगत विधाहरूमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत, र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिक कृषि, ऊर्जा र प्राकृतिक स्रोत, शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा, शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानता, लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्याय, स्वास्थ्य, सामाजिक संरक्षण र समानता, जलवायु, पर्यावरण, न्यायोचित रूपान्तरण, वासस्थान र दिगो विकास, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक आन्दोलन, नागरिकको भूमिका र विश्व सामाजिक मञ्चको भविष्य आदि रहेका छन् ।
शोषण विरुद्ध ‘उर्लंदो सय करोड’
उर्लंदो सय करोड अभियान बालिका तथा महिलाहरू माथि हुने अन्याय र शोषण विरुद्धको अभियान हो । महिला हिंसाका घटनाको डरलाग्दो तथ्याङ्क बाहिरिएपछि १४ वर्ष अघिदेखि विश्वव्यापी रूपमा यो अभियान मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्वमा प्रत्येक तीनमध्ये एक महिला हिंसाको सिकार हुन्छन् । यो तथ्याङ्क सार्वजनिक भएपछि सन् २०१२ देखि यो अभियान सुरु गरिएको हो ।
अहिले नेपालमा मात्र होइन विश्वमै अधिकांश महिलाहरू हिंसा र शोषणको सिकार भएका छन् । हिंसा र शोषणका विरुद्ध विश्वव्यापी रूपमा गरिने यस अभियान नेपालमा सन् २०२० देखि चलेको छ । सय करोड अभियान–२०२० अहिले दक्षिण एसियाका विभिन्न राष्ट्रमा मनाउन थालिएको छ । सय करोड अभियान–२०२० को घोषणासँगै सङ्गत, टेवा लगायत विभिन्न महिला सम्बद्ध संस्थाहरूले वर्षभरि विभिन्न कार्यक्रमहरू गरेर मनाउँदै आएका छन् ।
कसरी सुरु भयो विश्व सामाजिक मञ्च?
विश्व सामाजिक मञ्च नवउदारवादको विकल्पमा विचार र अनुभवको आदान प्रदान गर्ने स्वतन्त्र खुला मञ्चका रूपमा गम्भीर बहस गर्ने सिलसिलामा सुरु भएको थियो । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले नवउदारवाद, भूमण्डलीकृत पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जाति तथा रङ्गभेद, नश्लभेद एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका सङ्गठनहरूको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दै आएको छ ।
मञ्चले पुँजीवादी शक्तिको नेतृत्वमा विश्व भूमण्डलीकृत अर्थ व्यवस्था चलिरहे बताउँदै नव उदारवादी पुँजीवादविरुद्ध नयाँ सैद्धान्तिक छाप दिए, पुँजीवादविरुद्ध नयाँ वैकल्पिक अर्थतन्त्र उत्पादन गर्न सम्भव छ भन्नेमा जोड दिँदै आएको छ । अहिले पनि विश्वका सबैजसो देशमा राष्ट्रियता, लैङ्गिकता, भाषिकता, धार्मिकता, जातीयता, क्षेत्रीयता, वर्गीयता जस्ता अन्य धेरै आधारमा मानिसहरूबिच समाजमा असमानता रहेका छन् । ती असमानता विरुद्ध समानता, स्वतन्त्रता र अधिकार प्राप्तिका आन्दोलन र अभियानहरू निरन्तर चलिरहेका छन् ।
विश्वका अधिकांश सामाजिक संरचनाहरूले नै विश्वमा रहेका गरिबी, असमानता, शोषणको निरन्तरता गरिरहेको मञ्चको ठहर छ । यस्ता सामाजिक संरचनाको निरन्तरता गरिरहेका हरेक सदस्य असमानताको लागि जिम्मेवार भएको तथा विकसित भनिएका राष्ट्र, धनी राष्ट्र, पुँजीपति वर्ग जसले यस्ता असमान संरचनाबाट निरन्तर लाभ लिएको मञ्चले बताएको छ । साथै मञ्चले विश्वमा रहेका विभिन्न असमानताको सामना गर्न हामीले सङ्गठित प्रतिरोधको आन्दोलन र अभियान मार्फत विभेदकारी संरचना, मूल्यमान्यताको अन्त्य गर्दै मानिसका आधारभूत आवश्यकता, जीवन, स्वतन्त्रता र समानताको संरक्षण गर्ने सामाजिक संरचनाको विकासले न्यायमूलक र शान्त अर्को विश्व बनाउन सम्भव भएको दाबी गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
तारा वाग्ले का अन्य पोस्टहरु:
- प्रवासी नेपाली श्रमिकको पीडा कसरी कम गर्छ श्रमाधान सेवाले?
- सूचना प्रविधि क्षेत्रमा लगानी सम्मेलनको परियोजना र प्राथमिकता
- आमिरको नेपाल भ्रमणः किन भएन श्रम सम्झौता नविकरण?
- भटाभट खारेज हुँदैछन् वैदेशिक रोजगार क्षेत्रका विवादास्पद प्रावधान, के के भए नयाँ व्यवस्था ?
- सामाजिक सुरक्षा योजना: वैदेशिक रोजगारीमा जाने कामदारको मात्र आकर्षण बढ्यो
- महिला दिवस: एक शताब्दीदेखि उठाइएको छ आवाज, पुग्ला त नीति निर्माताको कानसम्म ?
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता, के के छन् व्यवस्था ?
- सामाजिक सुरक्षा: श्रमिकहरूको घाउको मलम
- नेपालमा अझै घटेन गरिबी: ५८ लाख जनसङ्ख्या गरिबीको रेखामुनि
- सरकारी निकायको ढिलासुस्ती: सुरु भएन ओएनएम सर्भे