तनहुँमा ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम

विद्यार्थीको नियमित उपस्थिति र शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास

नारायण खड्का

विद्यार्थीलाई नियमित उपस्थित गराएर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तनहुँका केही पालिकाले ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेका छन्।

सामुदायिक विद्यालयमा पठनपाठनसँगै स्वास्थ्य सेवा समेत प्रदान गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका केही सामुदायिक विद्यालयमा ‘एक मध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरिएको छ।

विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि आँबुखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट तलब तथा अन्य सेवा सुविधा उपलब्ध गराउने गरी करारमा नर्स नियुक्ति गरेको छ।

गाउँपालिकाले वडा–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रमको सुरुवात गरेको हो। भदौ महिनाको पहिलो साताबाट उक्त विद्यालयमा स्टाफ नर्स प्रकृति कट्वाललाई तीन महिनाको करार सेवामा नियुक्ति गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले बताउनु भयो।

विद्यालयमा नर्स राखेपछि विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनमा धेरै सुधार आएको उहाँले बताउनु भयो। ‘पहिले दिनकै १०/१२ जना विद्यार्थी बिरामी भइराख्थे, अभिभावकलाई बोलाएर घर पठाउनुपर्दथ्यो’, उहाँले भन्नुभयो– ‘तर अहिले विद्यालयमै उपचार हुन्छ, केही समय नर्सको रेखदेखमा उपचार भएपछि पुन: कक्षा कोठामा फर्किन्छन्। अहिले जटिल समस्या देखिएका २/३ जना मात्र घर पठाउने गरेका छौं।’

यस विद्यालयमा २ हजार ८ सय विद्यार्थी अध्ययनरत छन्। गर्मीका कारण बेहोस हुने, खेल्दा चेटपटक लाग्ने, महिनावारीको समस्या, टाउको दुख्ने, मौसमी रुघा खोकीको उपचार गर्ने गरेको विद्यालयकी नर्स कट्वालले बताउनु भयो।

‘अहिले सामान्य समस्याको उपचार र स्वास्थ्य सम्बन्धी जान्नुपर्ने सामान्य ज्ञानहरू पनि सिकाउँदै आएकी छु’, उहाँले भन्नुभयो– ‘विद्यालयमा स्वास्थ्य सम्बन्धी एउटा कक्षा सञ्चालन गर्ने तयारीमा पनि छौं।’

विद्यालयमा नर्स राखेपछि विद्यार्थीलाई निकै सहज भएको शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा ११ की छात्रा मञ्जु बिक बताउनु हुन्छ। ‘विशेष गरी महिनावारी भएको समयमा सहज रूपमा स्वास्थ्य सेवा लिन पाइएको छ’, उहाँले भन्नुभयो– ‘म र मेरो साथीहरूले कति पटक त कक्षा नै छाडेर घर जानुपथ्र्यो तर अहिले भने त्यो समस्या छैन। एकछिन मेडिकल रुममा गएर तातो पानी खाने, तातोपानीले सेक्ने र आवश्यक परे औषधी लिएर आराम गरे निको हुन्छ र फेरि कक्षा कोठामा फर्कन्छौं।’

विद्यालयमा नर्स राखेपछि विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनमा धेरै सुधार आएको उहाँले बताउनु भयो। ‘पहिले दिनकै १०/१२ जना विद्यार्थी बिरामी भइराख्थे, अभिभावकलाई बोलाएर घर पठाउनुपर्दथ्यो’, उहाँले भन्नुभयो– ‘तर अहिले विद्यालयमै उपचार हुन्छ, केही समय नर्सको रेखदेखमा उपचार भएपछि पुन: कक्षा कोठामा फर्किन्छन्। अहिले जटिल समस्या देखिएका २/३ जना मात्र घर पठाउने गरेका छौं।’

यस्तै कक्षा १२ का बिबेक पौडेलले विद्यालयमा नर्स राखेपछि पेट दुख्ने समस्या कम भएको बताउनु भयो। ‘बिहानै कलेज आउनुपर्दथ्यो, खाली पेट भएकाले ग्यास्ट्रिक भएको रहेछ’, उहाँले भन्नुभयो– ‘अहिले भने कम भएको छ। उहाँले स्वास्थ्य रहने धेरै उपायहरू सिकाउनु भएको छ। साथै विद्यालयमा हिड्डुल गर्दा लडेर चोटपटक लाग्दा मेडिकल खोज्दै बाहिर पनि जानुपरेको छैन।’

विद्यालयले छुट्टै मेडिकल रुम बनाएको छ। उक्त रुममा चार वटा बेड र दुई वटा अक्सिजन सिलिन्डर पनि राखिएको छ। नर्सले प्राथमिक उपचार सँगसँगै महिनावारी विशेष शिक्षा, विद्यार्थीको पौष्टिक खाना, बालबालिकाको वृद्धि विकास लगायतका कुरामा पनि ध्यान दिने गर्नुभएको छ।

महिनावारीको बेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि नर्सले समाधान गर्दै आउनु भएको छ। किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउने, महिनावारी भएका बेला सेनेटरी प्याड नि:शुल्क प्रदान गर्दै आएको विद्यालयकी नर्स समीक्षा भण्डारीले बताउनु भयो।

‘विद्यार्थीहरुलाई यौन तथा प्रजनन् शिक्षा, पौष्टिक खानेकुरा र स्वस्थ्य रहन अप्नाउनुपर्ने शिक्षा पनि दिंदै आएको छु’, उहाँले भन्नुभयो– ‘यो सँगसँगै परीक्षासँग डराउने (इग्जाम सिक्नेस), परिवारिक कारणले पढ्न मन नगर्ने जस्ता समस्यालाई सहजिकरण गर्दै आएको छु। प्राय: विद्याथीहरू परीक्षाको समयमा डराएर बिरामी पर्दछन्।’

त्यस्तै ११ र १२ पढ्ने अधिकांश विद्यार्थीमा ग्यास्ट्राइटिसको समस्या बढी देखिएको तर अहिले भने निकै कम भएको उहाँको अनुभव छ। नर्सले अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै सचेतना जगाउने पनि गर्दै आउनु भएको छ।

पञ्चमुनि देव माविले विद्यालयकै आन्तरिक श्रोतबाट २०७६ देखि एक नर्स नियुक्त गरेको विद्यालयका प्लस टु संयोजक लक्ष्मण पुरीले बताउनु भयो। उहाँले भन्नुभयो– ‘बालबालिकामा समय–समयमा स्वास्थ्य चेकजाँच, रक्तचाप जाँच, स्वास्थ्य सम्बन्धी शिक्षा लागयतका कार्यका लागि नर्स राखिएको हो।’

विद्यालयमा नर्स भएकै कारण कोरोना संक्रमणको समयमा पनि सहज भएको उहाँले बताउनु भयो। ‘कोरोना भाइरस संक्रमण हुँदा के गर्ने कसो गर्ने, लक्षण पनि झट्टै यही हो भन्न नसक्ने अवस्था थियो। हामी सबै अन्यौलमा थियौं’, शिक्षक पुरीले भन्नुभयो– ‘तर नर्सले विद्यार्थी र शिक्षकलाई कोरोनासँग नडराइ कसरी सुरक्षित रहने भन्ने विषयमा शिक्षा प्रदान गर्नुभयो। यसले विद्यार्थीहरूमा परेको मानसिक त्रास कम गर्न पनि मदत गर्‍यो।’ यस विद्यालयमा करिब २ हजार ५ सयजना विद्यार्थीहरू अध्ययनरत छन्।

त्यस्तै, व्यास नगरपालिकास्थित सत्यवति माध्यमिक विद्यालयले पनि बिएससी नर्सिङ उत्तीर्ण सुनिता जोशी मार्फत विद्यालयमा नर्सिङ सुविधा प्रदान गर्दै आएको छ। विद्यालयमा नर्सले किशोर–किशोरीलाई प्रजनन्, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिँदै आउनु भएको छ।

विद्यालयमा बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नर्स कार्यक्रम सुरुवात गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनु भयो। ‘अहिले हाम्रो लक्ष्य भनेकै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको विकास र विद्यार्थीलाई नियामित पठनपाठनमा सहभागी गराउने हो’, उहाँले भन्नुभयो– ‘यसका लागि विद्यार्थीको स्वास्थ्य पनि उत्तिकै आवश्यक पर्ने हुँदा माध्यमिक तहका विद्यालयहरूमा नर्स राख्ने कार्यक्रम ल्याइएका हौं।’

गाउँपालिकामा ३४ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय छन्। यसमध्ये पनि ६ वटा विद्यालय मध्यामिक तहका छन्। हाललाई रामशाह माविमा मात्र नर्स करारमा नियुक्त गरिए पनि चाँडै अन्य ५ वटा माध्यमिक तहका विद्यालयमा पनि करारमा नर्स नियुक्त गर्ने तयारी रहेको अध्यक्ष चुमानले बताउनु भयो।

बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने भएकाले त्यहाँ स्वास्थ्य समस्या पर्दा उपचार समयमै हुन सक्ने भएपछि यो कार्यक्रम प्रभावकारी हुने अध्यक्ष चुमानको विश्वास छ।

तस्विर : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित पञ्चमुनि देव माध्यमिक विद्यालयमा अध्यनरत एक छात्रा विरामी भएपछि विद्यालयमै उचारसेवा लिँदै।

तस्विर : नारायण खड्का/तनहुँ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
तनहुँमा ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link