
चन्द्रकान्त खनाल/रूपन्देही
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनु भएको छ। रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो।
उहाँले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताउनु भयो। मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उहाँले बताउनु भयो। “अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापना तर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो।
राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताउनु भयो। राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो। उहाँले विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकास सँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ”, भण्डारीले भन्नुभयो।
राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भयो। उहाँले बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने समेत बताउँदै उहाँले उद्योगको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउँछ, स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणमा समेत सहयोग पुग्ने बताउनु भयौ। यस्ता प्रदर्शनीले उद्योगी, उपभोक्ता र सरकारी निकायबीच अन्तरक्रियाको अवसर प्रदान गर्ने भन्दै आयोजकलाई धन्यवाद समेत दिनु भयो।
ब्याजदर नघटाए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री खाँण
कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तिय संस्थामा वृद्धि भइरहेको ब्याजदर घटाउन आग्रह गर्दै त्यसो नभएमा सरकारले हस्तक्षेप गर्ने चेतावनी दिनुभयो। मुलुकमा भईरहेका आर्थिक मन्दिका कारण उद्योग व्यापार व्यवसाय पलायन हुने अवस्था आएको बताउँदै उहाँले बैंक तथा वित्तिय संस्थालाई गम्भिर बन्न आग्रह गर्नुभयो।
‘उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने र समाधान गर्ने सरकारको दायित्व हो।’ गृहमन्त्री खाँणले भन्नुभयो– ‘तपाईंहरूको साथमा सरकार र सरकारका सबै अंगहरू हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु, यो हामी सबैको साझा दायित्व हो।’ उहाँले विकासका काममा आफ्नो पनि प्रयत्न रहेन विश्वास दिलाउनु भयो।
प्रदर्शनी आयोजक मूल समितिका संयोजक समेत रहनुभएका रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बैंक तथा वित्तिय संस्थाहरूले ब्याजदरमा गरेको वृद्धि, खुला सिमा नाका लगायतका कारण यस क्षेत्रका उद्योगी व्यवसायी मारमा परको भन्दा ती समस्या समाधान गरिदिन सरकारलाई आग्रह गर्नुभयो।
उहाँले औद्योगिक विकास र उत्पादित बस्तुको प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको जानकारी गराउँदै यसले मुलुकको औद्योगिक विकासमा टेवा पुग्ने भनाई राख्नुभयो।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा आयोजना गरिएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा विभिन्न १० वटा प्याभिलियनमा ४५० स्टल राखिएको छ।
रूपन्देही उद्योग संघ सहित लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाडौँ समेतको आयोजनामा १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार गर्ने लक्ष्य मेला आयोजक मूल समितिका सहसंयोजक जीवकान्त काफ्लेले बताउनु भयो।
त्यस्तै प्रदर्शनीमा प्रवेशको लागि टिकटमा ६० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँको व्यवस्था मिलाइएको छ। प्रदर्शनीमा बिक्री भएको प्रत्येक टिकटबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि ४ रुपैयाँ र शिक्षा क्षेत्रको लागि ४ रुपैयाँ छुट्याइएको उहाँले बताउनु भयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग
- पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म
- तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने
- दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
- ६ अर्ब १८ करोडको लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल बन्ने
- लुम्बिनीमा सबैभन्दा बढी मातृ मृत्युदर
- ‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट
- गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट
- धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
- लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना
