सिडियोले खोले दिउँसो बाटो; सिद्धबाबा सुरुङमार्गको सुस्त निर्माणबाट यात्रुलाई सास्ती

चन्द्रकान्त खनाल/रूपन्देही

हरेक वर्ष पहिरोको कारण सडक अवरुद्ध हुने तथा ठूलो धनजनको क्षति भएपछि वैकल्पिक उपायका रूपमा अत्यधिक समस्याग्रस्त क्षेत्रमा सुरूङ मार्ग निर्माणको विकल्प निकालिएको रूपन्देही  र पाल्पाको सिमाना सिद्धबाबामा ७ अर्ब ३४ करोडमा सुरुङमार्ग निर्माणको काम अगाडि बढेको छ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काममा सुरु गरेपछि बुटवल–पाल्पा सडक खण्ड अबदेखि रातिमा मात्रै बन्द हुने भएको छ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेको र यात्रुलाई सास्ती भएपछि रातिमा मात्रै बन्द गरेर काम गर्न लागि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख बन्धुप्रसाद बास्तोलाले बताउनुभयो। ‘निर्माण कम्पनीले त्यत्ति तदारुकताका साथ काम पनि नगरेको पाइयो। त्यसकारण बन्दै गर्नु पर्ने अवस्था नभएको पाइयो। यात्रुले सास्ती मात्रै पाएको कामको गति सुस्त रहेकाले  बैशाख १४ गते देखि दिउँसो बाटो खुला गरिएको छ। रातिमा भने ११ देखि ४ बजेसम्म बन्द नै हुन्छ।’ उहाँले भन्नुभयो।

राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म साथै राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिइएको थियो। निर्माण व्यवसायीले काम गर्न सहज बनाउने उद्देश्यले धेरै पटक राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएकाले यात्रुले विरोध गर्दै आएका छन्। यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घण्टा सडक बन्द गरिएको थियो।

सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिदै आइएको थियो। डाइभर्सनको काम सुरु भएको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्दलाई यथावत् राखिएको जनाएको छ।

रातिको समयमा सडक बन्द हुँदा सो समय अवधिभर रोक्ने व्यवस्था मिलाइएको सुरुङमार्ग योजनाले जनाएको छ। उक्त समयमा पाल्पाबाट जाने सवारी साधनहरू जडिबुटी चोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने, बुटवलबाट आउने सवारी साधनहरू चिडियाखोला तल्लो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ। सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना/मझौला सवारी साधनका लागि दोभान– नुवाकोट खण्डको भित्री सडक प्रयोग समेत गर्न सकिने छ।

तिनाउ गाउँपालिका–३, दोभान बजार नजिकै रामापिथेकस पार्क नजिकबाट सडक डाइभर्सनको काम गत फागुन दोस्रो हप्तादेखि भइरहेको छ। तर निर्माण व्यवसायीले थोरै कामदार, हेभी इक्विपमेन्ट दुई वटा मात्र राखेर काम गरेको छ। जसका कारण सडकमा यात्रा गर्ने यात्रु, चालक, सवारी धनीले सास्ती खेप्दै आएका छन्। सडकदेखि माथिल्लो भागमा रहेका खुकुला ढुंगाहरू खस्दा दुर्घटनाको जोखिम हुने भएकाले राजमार्गको दोभानदेखि तल्लो सिद्धबाबासम्म सवारी साधन आवागमन बन्द गरेर काम गर्ने वतावरण बनाइएको हो।

सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाले जनाएको छ। निर्माण कम्पनीसँग पाँच वर्ष अबधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ। अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ ।

ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ । हरेक वर्ष पहिरोको कारण सडक अवरुद्ध हुने तथा ठूलो धनजनको क्षति भएपछि वैकल्पिक उपायका रूपमा अत्यधिक समस्याग्रस्त क्षेत्रमा सुरूङ मार्ग निर्माणको विकल्प निकालिएको थियो। विभागका अनुसार सबैभन्दा कम बोलकबोल गर्ने यो कम्पनीलाई ७ अर्ब ३४ करोड २१ लाख ७ हजार ४ सय ३४ रुपैयाँमा  रुपैयाँ सुरूङ मार्ग निर्माणको जिम्मा दिइएको हो। केपी ओली नेतृत्त्वको सरकारले २०७७ मंसिर १ मा सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गरेको थियो।

यस्तो बन्छ संरचना

यो सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ भने सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि ३.५ किलोमिटरको रकनेट (जाली) राखिने उल्लेख गरिएको छ। सिद्धबाबा सडक खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ। हरेक वर्षायाममा मात्र नभई हिँउदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ।आगामी ५ वर्षमा निर्माण सम्मपन्न गर्ने लक्ष राखिएको यो सुरूङमार्ग सम्पन्न भएको ५ वर्षसम्म सञ्चालन तथा मर्मत कम्पनीले गर्नेछ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको १ किलोमिटर ३ सय मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो।

सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरूङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लाबासीलाई सुविधा पुग्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link