सुमधुर कलाकारी अनुभूतिहरू बाँड्दै कलाकार बुद्धि गुरुङका चित्रकला सतत् सिर्जनामा उचाइ अवतरणको उपलब्धिमा छन्। उहाँको यात्रा एकोहोरो कलाकर्मको व्यस्तताबाट अहिले प्राज्ञको कुर्सीमा पुगेर मोडिएको छ। आज पछाडि फर्किएर हेर्दै उहाँ आफूलाई आफैंले आत्म मूल्याङ्कन पनि गर्दै हुनुहुन्छ। लामो कलायात्राको अविरल हिँडाइपछि उहाँ विश्रामका साथ परम्परागत शिल्पकलाको संरक्षण, प्रवर्द्धन आदिको जिम्मेवारी बोझमा पनि हुनुहुन्छ। यो बोझभन्दा पनि आफूले गर्नुपर्ने कलाविकासको एक अवसरसमेत भएको कुरालाई उहाँले सगर्व मनन गर्नुभएको छ।
वि.सं. २०१५ सालमा अर्मलाकोट, कास्कीमा जन्मनुभएका गुरुङ सानैदेखि दु:ख र सुखसँग साक्षात्कार हुनुभयो। जिन्दगीलाई त्यतिबेलै बुझ्नुभएका उहाँका जीवन–सङ्घर्षका पलहरू प्राय: पीडादायी थिए। तिनै पललाई प्रेरणाका रूपमा लिएर उहाँले जीवन्त जीवनको बाटो समाउनुभयो। …
