रङको प्रवाहवान गतिमा क्यानभास नै पहाडी चट्टानको पाटा जस्तै लाग्छ । बगिरहेका रङका भेलमा कलाकार स्वयम् अरूलाई पनि दौडाउन अग्रसर हुन्छन् । क्यानभासमा रङहरू तुलिकाघातमा यसरी दौडिन्छन् जहाँ बेगबतासको गतिले पनि भेट्टाउन सक्दैन । रङहरूको सन्तुलित र सुन्दर संयोजन अनि सौन्दर्यमय अनुभूतिको सम्प्रेषण उहाँका कलाका विशेषता हुन् । ती आकृतिहरूले दिने सन्देश र पार्ने प्रभाव सकारात्मक कलाकारिताका जीवन्त पक्ष हुन् ।
क्यानभासमा उहाँका रङ र रेखाहरू वेगवान प्रवाहमा बहकिएका हुन्छन् । बहकिनुको अर्थ व्यर्थ वा अर्थहीन होइन, हुँदैन । त्यसले दर्शकलाई पनि गतिमय जीवनको सन्देश दिन्छ । गतिशीलता वा सक्रियताको सङ्केत र सन्देश प्रवाह गर्छ । सुरुका दिनमा उहाँले यथार्थवादी शैलीका कैयौं चित्र बनाउनुभयो । हुन त उहाँले गर्ने यो काम अहिले पनि जारी नै छ तर उहाँको खास पहिचान भनेको रङ र रेखाको गतिमान आकृति नै हो । कतै बादल मडारिरहेझैं लाग्ने दृश्य अनुभूति गर्न सकिन्छ । कहीं हिमाली पर्वतमालाका पाटोमा अनेकन आकार–प्रकारका स्वरूप दृष्टिगोचर हुन्छन् । ती पनि एकअर्कामा घनिष्ट मित्र–मिलनमा आकृतिबद्ध बनेका हुन्छन् ।
हाम्रा मौलिक पहिचानका रूपमा विद्यमान पौभाकला, मिथिलाकला, अवधीकला आदिलाई हामीले अपेक्षित रूपमा प्रवर्द्धन गर्न सकेका छैनौं । हाम्रा विद्यालयस्तरीय पाठ्यक्रम तथा पाठ्यपुस्तकमा पनि नेपाली कला र कलाकारबारे अत्यन्तै न्यून जानकारी समेटिएका छन् ।
कलाकार के. के. कर्माचार्य अर्थात् कान्छाकुमार कर्माचार्य समकालीन नेपाली कलाका सुप्रसिद्ध कलाकार हुनुहुन्छ । उहाँको चित्रसिर्जनाका क्षेत्रभित्र व्यापक विधाहरू समेटिएका छन् । निकै लामो समयदेखि पोट्रेट, ल्यान्डस्केप पेन्टिङ, इलस्ट्रेसन, हुलाक टिकट डिजाइन आदि सबै विधामा उहाँले अति कुशलतापूर्वक काम गर्दै आउनुभएको छ । आधुनिक शैलीका सिर्जनशील चित्रकारका रूपमा पनि उहाँको विशिष्ट पहिचान रहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिवको चारवर्षे कार्यकालपछि हाल उहाँ सोही प्रतिष्ठानका कुलपति जस्तो गरिमामय पदमा आसीन हुनुहुन्छ ।
उहाँको जन्म २००४ सालमा काठमाडौंमा भएको हो । उहाँले २०२१ सालमा जुद्धकला पाठशालाबाट कलाप्रवीण उत्तीर्ण गर्नुभयो । २०२४ सालदेखि सरकारी सेवामा प्रवेश गरी २०६१ सालमा सेवा निवृत्त हुनुभयो । तत्पश्चात् उहाँ सिर्जनाकर्ममा अझ सक्रियतापूर्वक लाग्दै आउनुभएको छ । ३८ वर्ष हुलाक सेवा विभागमा आफ्नो लामो जागिरे जीवनको अवधिमा आफूले चार सयभन्दा बढी हुलाक टिकटको डिजाइन गरेको उहाँ बताउनुहुन्छ । टिकट डिजाइनका क्रममा नेपाललाई प्रतिनिधित्व गर्ने प्राकृतिक एवम् सांस्कृतिक सम्पदाका अतिरिक्त विविध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूका चित्र बनाउन पाएकोमा आफू गौरवान्वित हुन पुगेको उहाँको अनुभव छ ।
चित्रकलाका प्राय: सबै विधामा समान रूपमा दक्खल राख्नुहुने कलाकार कर्माचार्यले ‘एकेडेमिक आर्ट’ र ‘कन्सेप्चुअल आर्ट’ दुवै प्रकारका सिर्जना गर्दै आउनुभएको छ । यस्तो क्षमता विरलै कलाकारमा मात्र हुने गर्छ । उहाँले बनाउनुहुने पोट्रेट रचनाहरू एकेडेमिक र उम्दा कोटीका हुने गर्छन् । उहाँले नेपालका ऐतिहासिक तथा सांस्कृतिक जात्रापर्वका वृत्तान्तलाई पनि एकदमै यथार्थपरक एवम् कलात्मक शैलीमा आफ्ना क्यानभासमा उतार्नुभएको छ । उहाँका आधुनिक शैलीका अमूर्त चित्ररचनामा गतिशील रङ र रेखाको बाहुल्य रहेका हुन्छन् । ती रचनामा कतै मडारिँदै गरेका बादल, कहीँ हिमशृङ्खला तथा चट्टानका विविध स्वरूप दृष्टिगोचर हुन्छन् ।
प्रवाहपूर्ण एवम् सन्तुलित रङहरूको सुन्दर संयोजन उहाँका कलारचनाका विशेषता हुन् । २०२८ सालमा उहाँले कोलाज रचनाहरूको एकल कलाप्रदर्शनी नेपाल ललितकला संस्था (नाफा) मा गर्नुभएको थियो । नेपाली कलाक्षेत्रमा कोलाज पद्धतिमा काम गर्ने पहिलो कलाकार आफू रहेको दाबी उहाँ गर्नुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकल र सामूहिक कलाप्रदर्शनी एवम् कार्यशालाहरूमा पनि उहाँको सक्रिय सहभागिता रहँदै आएको छ । ‘त्रिनाले–इन्डिया’, भारत; ‘एसियन आर्ट बाइनाले’, बङ्गलादेश तथा ‘एसियन आर्ट सो’ जापानमा उहाँका कलाकृतिहरू प्रदर्शित छन् । २०६३ सालमा नेपाल कलाकार समाजको अध्यक्ष पदको जिम्मेवारी पनि उहाँले सम्हालिसक्नुभएको छ । उहाँ नेपाल बाल साहित्य समाजसँग पनि आवद्ध हुनुहुन्छ । सो संस्थामार्पmत् उहाँले बालसाहित्यका अनेकौं प्रकाशनमा चित्र बनाउँदै आउनुभएको छ ।
नेपाली कलाको वर्तमान अवस्थाबारे कलाकार के. के. कर्माचार्य भन्नुहुन्छ– “नेपाली परम्परागत कला तथा आधुनिक कला दुवैलाई अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा कम आकलन गर्न मिल्दैन । परम्परागत कला हाम्रो आफ्नो हो । समसामयिक कला विश्वको वर्तमान कलाधार हो । हाम्रा मौलिक पहिचानका रूपमा विद्यमान पौभाकला, मिथिलाकला, अवधिकला आदिलाई हामीले अपेक्षित रूपमा प्रवर्द्धन गर्न सकेका छैनौं । हाम्रा विद्यालयस्तरीय पाठ्यक्रम तथा पाठ्यपुस्तकमा पनि नेपाली कला र कलाकारबारे अत्यन्तै न्यून जानकारी समेटिएका छन् । मैले कति विद्यार्थीलाई अरनिकोबारे सोध्दा थाहा छैन भन्छन्, बरु तिनलाई पिकासो, रेम्ब्रान्ट आदि युरोपेली कलाकारहरूको नाम थाहा छ । यसो हुनुका पछाडि ती कलाकारबारे लेखिएका पुस्तकहरू छ्यापछ्याप्ती पाइनुले हो । ”
मैले कति विद्यार्थीलाई अरनिकोबारे सोध्दा थाहा छैन भन्छन्, बरु तिनलाई पिकासो, रेम्ब्रान्ट आदि युरोपेली कलाकारहरूको नाम थाहा छ । यसो हुनुका पछाडि ती कलाकारबारे लेखिएका पुस्तकहरू छ्यापछ्याप्ती पाइनुले हो ।
उहाँ अगाडि भन्नुहुन्छ– “हामीकहाँ कलाको इतिहास लेख्ने तथा कला र कलाकारबारे अभिलेख राख्ने अभ्यास लगभग छैन नै भने हुन्छ । यस सम्बन्धमा एकेडेमीले अभिलेखहरू तयार गर्ने कामको थालनी गरिसकेको छ । ललितकला विषयक पुस्तकहरूको प्रकाशन गर्न पनि थालनी भइसकेको छ । ललितकलासँग सम्बन्धित अनुसन्धानमूलक कृतिहरूको प्रकाशनका लागि विद्वत्वृत्ति दिएर लेख्न लगाउने तथा प्रकाशन गर्ने योजना पनि अघि बढिसकेको छ ।”
कलाकार के. के. कर्माचार्यले पाउनुभएका प्रमुख पुरस्कार तथा सम्मानहरू– गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, वीरेन्द्र ऐश्वर्य सेवा पदक, उत्कृष्ट इलोस्टे«टर अवार्ड (चार पटक), उत्कृष्ट स्ट्याम्प डिजाइनर (तीन पटक), त्रिमूर्ति सम्मान, जनमत कलाकार सम्मान आदि हुन् । २०७७ सालमा उहाँको कलामाथि डा. यामप्रसाद शर्माद्वारा लिखित ‘क्रियटिभ मोसन्स् अफ के. के. कर्माचार्य’ शीर्षकको पुस्तक प्रकाशित छ । उहाँको जीवनीमा आधारित विजयराज आचार्यले लेख्नुभएको चित्रकथा ‘कान्छा’ पनि प्रकाशोन्मुख रहेको उहाँ बताउनुहुन्छ ।
यसैबीच नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको हालको आकृति आफूले बनाएको उहाँ बताउनुहुन्छ । कर्माचार्य भन्नुहुन्छ– “२०२४ सालमा पृथ्वीनारायण शाहको टिकट निकाल्ने भइयो । त्यो बेला म हुलाक टिकटको डिजाइन गर्थें । पुरानो चित्रमा उनले हातमा फूल लिएका छन् । मैले त्यसलाई हटाएर ‘नेपाल एकीकरण अभियान’ लाई प्रतिविम्बित गर्ने उद्देश्यले एउटा औंला ठड्याएका पृथ्वीनारायण शाह बनाएँ । अहिले सबै ठाउँमा यही तस्बिर चलनचल्तीमा छ ।”
(तस्बिर लेखक स्वयम्)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित