सुमधुर कलाकारी अनुभूतिहरू बाँड्दै कलाकार बुद्धि गुरुङका चित्रकला सतत् सिर्जनामा उचाइ अवतरणको उपलब्धिमा छन्। उहाँको यात्रा एकोहोरो कलाकर्मको व्यस्तताबाट अहिले प्राज्ञको कुर्सीमा पुगेर मोडिएको छ। आज पछाडि फर्किएर हेर्दै उहाँ आफूलाई आफैंले आत्म मूल्याङ्कन पनि गर्दै हुनुहुन्छ। लामो कलायात्राको अविरल हिँडाइपछि उहाँ विश्रामका साथ परम्परागत शिल्पकलाको संरक्षण, प्रवर्द्धन आदिको जिम्मेवारी बोझमा पनि हुनुहुन्छ। यो बोझभन्दा पनि आफूले गर्नुपर्ने कलाविकासको एक अवसरसमेत भएको कुरालाई उहाँले सगर्व मनन गर्नुभएको छ।
वि.सं. २०१५ सालमा अर्मलाकोट, कास्कीमा जन्मनुभएका गुरुङ सानैदेखि दु:ख र सुखसँग साक्षात्कार हुनुभयो। जिन्दगीलाई त्यतिबेलै बुझ्नुभएका उहाँका जीवन–सङ्घर्षका पलहरू प्राय: पीडादायी थिए। तिनै पललाई प्रेरणाका रूपमा लिएर उहाँले जीवन्त जीवनको बाटो समाउनुभयो। अर्मलाकोटबाट पोखराको रानीपौवामा आएपछि उहाँको दैनिकी कलामै डुबिरहेको छ र आज उहाँको परिवारै चित्रकलामा सुख र सुन्तुष्टिका साथ रमाएर लागिरहेको छ। यो लगन, यो साधना, यो सिर्जनशीलताको यात्रा अरूका लागि पनि प्रेरणादायी पक्ष हो।
उहाँका तीन छोरी ज्योति गुरुङ, कृति गुरुङ र हेमकान्ति गुरुङ तीनैजना बाबुकै बाटोमा हिँड्न सुरु गरिसकेका छन्। उहाँका अनुसार उनीहरू पोखराका उदीयमान प्रतिभाशाली कलाकारमा चिनिएका छन्। उहाँका तिनै छोरीहरू कलामा अग्रणी छन्। यसरी छोरीहरू पनि कलाक्षेत्रमा आफ्नो उत्तराधिकारी भइसकेकोमा उहाँ खुसी हुनुहुन्छ। उहाँकी पत्नी हरिमाया गुरुङले भने चित्र बनाउनु हुन्न तर सधैं कलामा लागिरहन आफू र छोरीहरूलाई साथ दिइरहने गरेको उहाँ बताउनुहुन्छ।
नेपाली कलामा जलरङ (वाटरकलर) माध्यमको लोकप्रियतालाई विस्तार गराउनमा उहाँको पनि महत्वपूर्ण योगदान रहेको छ। ‘मनभित्रको बस्ती’, ‘भट्टीपसल’, ‘रिक्साचालक’, ‘गाइनेको गीत’, ‘पहाडको ध्वनि’, ‘सारङ्गी’, ‘गन्धर्व’, ‘युद्धको गीत’ आदि शीर्षकमा उहाँले चित्र–शृङ्खला नै रचना गर्नुभएको छ। यी चित्र–शृङ्खलामा नेपाली पहिचान मुखरित भएको मान्न सकिन्छ। केही वर्षदेखि आफूले कलामा परम्परा र शिल्पकला संयोजन गरी केही पृथक किसिमको कलारचना गर्दै आएको उहाँ बताउनुहुन्छ।
आमा श्रीमाया गुरुङले आफूलाई भन्नुभएको कुरा बुद्धिलाई आजै जस्तो लाग्छ। आमाले भन्नुभएको थियो– ‘यस ठाउँमा बसेर हामी त अनपढ भयौं। कान्छा, तिमीलाई मैले धेरै पढाउनु छ। यहाँका भीरपाखामा खेतीपाती गरेर खान सकिँदैन। त्यसैले अब हामी पोखरा झरौं।’
कलाकार गुरुङले वि.सं. २०३६ सालमा पोखराको मोहरिया टोलस्थित ‘इगल आई आर्ट स्टुडियो’ मा कलाकार दुर्गा बरालसँग कलाको प्रारम्भिक शिक्षा हासिल गर्नुभएको हो। त्यहाँदेखिको उहाँको कलायात्रा निरन्तर जारी छ। उहाँले वि.सं. २०४२–०७५ सालसम्म कलाशिक्षकका रूपमा पनि काम गर्नुभयो। गुरुङ भन्नुहुन्छ– ‘मैले विभिन्न शृङ्खलामा विभिन्न माध्यम (जलरङ, एक्रिलिक, तेलरङ आदि) मा चित्रहरू बनाउँदै आइरहेको छु। म आधुनिक कला शैलीमा काम गर्छु तर ललितकला प्रज्ञा–प्रतिष्ठानमा परम्परागत कलाप्रवर्द्धनको अभिभारा पाएको छु। यससँगै परम्परागत कलाप्रति मेरो रुचि झन् बढ्यो। अहिले म परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिनमा प्रयासरत छु। मेरा लागि यो नयाँ प्रयोग पनि हो, र चुनौती पनि।’
उहाँ अगाडि भन्नुहुन्छ– ‘कलामा यस प्रयोगका क्रममा मैले गणेश, बज्रयोगिनी, योगिनी, कुमारी आदिका आकृति क्यानभासमा उतारिसकें। तिनै देवाकृतिसँग प्राकृतिक सौन्दर्यलाई पनि समावेश गरेको छु, जस्तै: माछापुच्छे«, अन्नपूर्ण हिमाल, पहाड, रूख, खोलाखहरेलाई पनि समेट्छु। मैले गण्डकी प्रदेशका गुरुङ समुदायले मनाउने प्रसिद्ध ट्हो‘टे पर्वका चित्र पनि बनाएको छु। मठमन्दिर, प्रकृति र पहाडलाई त मैले एक्रिलिक र जलरङमा अविच्छिन रूपमा सिर्जना गर्दै आइरहेको छ।’
वि.सं. २०७६ सालमा ‘इन्टरनेसनल वाटर कलर सोसाइटी, नेपाल’ ले उहाँलाई जलरङको विकास एवम् विस्तारमा पुर्याउँदै आएको योगदानका लागि सम्मान प्रदान गरेको थियो। विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले उहाँलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो। उहाँले ‘रामानन्द जोशी वाटर कलर सम्मान’ पनि पाउनुभएको थियो। पोखरेली सांस्कृतिक परिवारबाट ‘ललितकला पुरस्कार’ का साथै क्षेत्रीय प्रतिभा पुरस्कार पनि उहाँले पाइसक्नुभएको छ।
उहाँले वि.सं. २०४२ र २०४५ सालको राष्ट्रिय कलाकौशल प्रदर्शनीमा क्रमश: विशेष पुरस्कार र द्वितीय पुरस्कार पाउनुभएको थियो। उहाँकी आमा श्रीमाया गुरुङले आफूलाई भन्नुभएको कुरा बुद्धिलाई आजै जस्तो लाग्छ। आमाले भन्नुभएको थियो– ‘यस ठाउँमा बसेर हामी त अनपढ भयौं। कान्छा, तिमीलाई मैले धेरै पढाउनु छ। यहाँका भीरपाखामा खेतीपाती गरेर खान सकिँदैन। त्यसैले अब हामी पोखरा झरौं।’
कलाकार गुरुङ भन्नुहुन्छ– ‘हामीकहाँ निजी प्रयास र लगानीले मात्रै कलागतिविधिहरू भइरहेका छन्। अझै चित्रकारहरू पूर्णत: व्यावसायिक रूपमा जीवनयापन गर्न समर्थ भइसकेका छैनन्। मेरो विचारमा सिर्जनाका नाममा एउटै कामको पुनरावृत्ति गर्ने वा सधैं एकै धारको काम गर्ने प्रवृत्तिले कलामा नवीनता पस्किन सकिँदैन।’
विगत स्मरण गर्दै उहाँ भन्नुहुन्छ– ‘आमाले देख्नुभएको सपना बोकेर हामी वि.सं. २०२७ सालमा पोखरा झरेका थियौं। त्यसबेला पोखरामा कतै पनि पिच बाटो थिएन। टिनले छाएका घरहरू, खरले छाएका छाप्राहरू, रातोमाटोले लिपेका घरहरू, खुल्ला आकाशमुनि देखिने माछापुच्छ«ेले स्वागत गरेको अनुभूति हुन्थ्यो। टुँडिखेलस्थित बालज्योति निमाविमा चार कक्षामा म भर्ना भएँ। संस्कृत निमावि, भीमकाली पाटनमा छ कक्षामा पढ्दा दुई महिनाको लामो बिदामा मैले विज्ञान विषयको किताबका सबै चित्रहरू सिसाकलमबाट बनाएको थिएँ। त्यस समयदेखि चित्रकलाप्रति मेरो अभिरुचि बढ्न थाल्यो।’
उहाँ भन्नुहुन्छ– ‘म राष्ट्रिय व्यावसायिक विद्यालयमा कक्षा १० मा पढ्दै थिएँ। तेर्सापट्टीमा एउटा आर्ट ग्यालरी खुलेको थियो। त्यस ग्यालरीमा दुर्गा बरालले बनाउनुभएका जलरङका दृश्यचित्रले मेरो मानसपटलमा गहिरो छाप पार्यो। त्यसै दिनदेखि म पनि त्यस्तै चित्र बनाउँछु भन्ने अभिलाशाले मभित्र जरा गाड्यो। चित्र बनाउने कार्यलाई निरन्तरता दिन थालें। पछि बराल सरसँगको सङ्गत र कला सिकाइले म यसैक्षेत्रमा रमाउन थालें।’
पोखरेली कलाकार बुद्धि गुरुङको ख्याति अहिले पोखरामा मात्र सीमित छैन। उहाँ राष्ट्रिय स्तरमै स्थापित भइसक्नुभएको छ। हाल उहाँ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य हुनुहुन्छ। कलाकार गुरुङ भन्नुहुन्छ– ‘हामीकहाँ निजी प्रयास र लगानीले मात्रै कलागतिविधिहरू भइरहेका छन्। अझै चित्रकारहरू पूर्णत: व्यावसायिक रूपमा जीवनयापन गर्न समर्थ भइसकेका छैनन्। मेरो विचारमा सिर्जनाका नाममा एउटै कामको पुनरावृत्ति गर्ने वा सधैं एकै धारको काम गर्ने प्रवृत्तिले कलामा नवीनता पस्किन सकिँदैन।’
कलाकार गुरुङको पहिलो एकल कलाप्रदर्शनी वि.सं. २०४५ सालमा काठमाडौंस्थित नेपाल ललितकला संस्थामा भएको थियो। उहाँले अन्तर्राष्ट्रिय स्तरका कलाप्रदर्शनीहरूमा पनि सहभागिता जनाउनुभएको छ। वि.सं. २०५२ सालमा दक्षिण कोरियामा सम्पन्न पाँचजना नेपाली कलाकारका सामूहिक कलाप्रदर्शनीमा उहाँ सहभागी हुनु भएको थियो। बेलायत, बङ्गलादेश र इटलीमा पनि उहाँका चित्रकृति प्रदर्शित भइसकेका छन्। वि.सं. २०६३ सालमा काठमाडौंमा उहाँको छैटौं एकल कलाप्रदर्शनी भएको थियो। कलाकार गुरुङका चित्र रचनामा प्राय: घुर्मैलो, अँध्यारो, उज्यालो रङ विन्यास देख्न सकिन्छ।
उहाँका दृश्यचित्रमा पनि कलाकारको कल्पनाशीलता दृष्टिगोचर हुन्छ। राताम्मे गुराँस फुलेका जङ्गल हुन्, रूखका पोथ्रा, पहाडका अक्करे भीर अथवा पहाडका खोंच, रूखमा झुत्ती खेलिरहेका झ्याउ, लहरा सबै उहाँका कलामा साकार भएको पाइन्छ। यसबाहेक बुद्धि गुरुङले ग्रामीण जीवनका विपन्न पक्षलाई आफ्ना सिर्जनामा समेट्दै आउनुभएको छ। गाउँबाट सहर पसेका रिक्सा चालक हुन् वा सडकमा गाउँदै हिँड्ने गाइने हुन्, ती सबै पात्रलाई उहाँले निकै आत्मीयतापूर्वक आफ्ना प्रत्येक क्यानभासमा अङ्कन गर्नुभएको छ।
(तस्बिरहरू लेखक स्वयम्)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित