लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरूले बाह्य पर्यटकको आगमन बढाउन सरकारी स्तरबाट नीतिगत सुधारको माग गरेका छन् ।
नेपाल प्रवेश गर्ने सीमा नाकाहरू र अध्यागमन कार्यालयहरू परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरू चर्को गर्मीमा घण्टौँ लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ ।
यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औँल्याएका छन् ।
लुम्बिनी प्रदेशका पर्यटक स्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसियसन लुम्बिनी (एनएचए) ले लुम्बिनी केबलकार लिमिटेडसँग गरेको अन्तरक्रियामा एसोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्राउन र उनीहरूको बसाई अवधि लम्ब्याउन नसकिने बताउनु भयो ।
सरकारले पर्यटकमैत्री पूर्वाधार, नीति र कानुन बनाउन नसक्दा प्रचुर सम्भावना भएर पनि पर्यटन क्षेत्रबाट लाभ लिन नसकिएको अध्यक्ष पाठकको भनाई छ । नारायणगढ–बुटवल लगायत मुख्य राजमार्गका सडक र सडक पुलहरू निर्धारित समयमा बनाउन नसक्दा रुपन्देहीको होटेल व्यवसायमा ठुलो असर परेको पाठकको भनाई छ ।
‘स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, अध्यागमन कार्यालयमा पर्यटकलाई सहज र सम्मानजनक व्यवहार हुन सकेको छैन,चर्को गर्मीमा पर्यटकहरू गाडीभित्र पसिनाले भिजेर कुर्नुपर्ने बाध्यता छ’–अध्यक्ष पाठकले भन्नुभयो–‘नाका क्षेत्र धुलोमैलो मुक्त स्वच्छ, आकर्षक भयो र अध्यागमन कार्यालयबाट पर्यटकको काम ढिलासुस्तीविना फटाफट हुने हो भने मात्रै पनि पर्यटकमा नेपालप्रति धेरै राम्रो छाप पर्छ ।’
भारतीय र तेस्रो मुलुकका पर्यटकलाई नेपाल घुम्न आएका बेलामा निश्चित परिमाणमा मात्र रकम बोक्न पाइने प्रावधानले नेपाललाई नै घाटा भएको भन्दै अध्यक्ष पाठकले सीमा नतोकी चाहे जति रकम बोक्न दिनुपर्ने व्यवस्था गर्न माग समेत गर्नुभयो ।
एसोसिएसनका उपाध्यक्ष दिलीप गौचनले बुटवलमा प्रदेशकै पहिलो केबलकार सञ्चालनमा आएपछि प्रदेश राजधानी सरेपछि सुस्ताएको बुटवल गुल्जार हुने आशा पलाएको भन्दै यसको प्रवर्द्धनमा सरकार र पर्यटन व्यवसायीबिच सहकार्य हुनुपर्ने बताउनुभयो । केबलकारमा पर्यटन सूचना केन्द्र स्थापना गर्न उपाध्यक्ष गौचनले सुझाव दिनुभयो ।
एसोसिएसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले भारतीय पर्यटकका हकमा कम्तीमा एक लाख रुपैयाँ साथमा ल्याउन दिनुपर्ने माग गर्नुभयो । ‘पर्यटकलाई चाहे जति पैसा ल्याउन नदिएपछि पर्यटन व्यवसाय कसरी फस्टाउँछ ?’– प्रश्न गर्दै श्रेष्ठले भयो–‘बाह्य पर्यटकलाई जतिसक्दो धेरै रकम साथमा ल्याउन पाइने कानुनी व्यवस्था सरकारले गरिदिनुपर्छ अनि मात्र पर्यटनबाट लाभ लिन सकिन्छ ।’
एसोसिएसनका सदस्य प्रवीण शाक्यले भारतको उत्तर प्रदेश र बिहारको करिब ४० करोड जनसङ्ख्याको केही प्रतिशतलाई मात्रै बर्सेनि नेपाल आकर्षित गर्न सके पर्यटन व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भन्दै भारतीय पर्यटकलाई प्राथमिकता दिन र सम्मानजनक व्यवहार गर्न आग्रह गर्नुभयो । भारतीय पर्यटकलाई लक्षित गरेर टुर गाइड तयार गरी मार्केटिङ गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
अन्तरक्रियामा लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले पर्यटक चढेका भारतीय सवारी साधन सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने प्रावधान उपयुक्त नभएकाले चुरे पहाडको फेदीसम्म आउन पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो ।
डेढ दशकसम्म अलपत्र परेको लुम्बिनी केबलकार परियोजनामा आईएमई ग्रुप मुख्य साझेदार बनेपछि दुई वर्षमै सञ्चालनमा आएको र टप स्टेसनमा बनेको कामाख्या देवी मन्दिर हिन्दु धर्मावलम्बी भारतीय पर्यटकलाई आकर्षण बनेको बताउनुभयो ।
केबलको टप स्टेसनमा ४० लाख लागतमा जिप लाइन सञ्चालनमा आइसकेका, डेढ करोड लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ,बाल उद्यान छिटै सञ्चालन हुने र साढे ३ अर्ब लगानीमा १५० कोठा, एक हजार जना क्षमताको ब्याङ्कवेट हल, क्यासिनो र स्विमिङ पुल सहित पाँचतारे होटेल निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो ।
जेठ १५ देखि सञ्चालनमा आएको लुम्बिनी केबलकार परियोजना पाँचतारे होटेलसहित ५ अर्ब लागतको हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग
- पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म
- तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने
- दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
- ६ अर्ब १८ करोडको लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल बन्ने
- लुम्बिनीमा सबैभन्दा बढी मातृ मृत्युदर
- ‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट
- गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट
- धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
- लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना