गत ५ भदौमा आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट खुलेको थियो ।
विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि प्रहरीले हजुरबुबालाई पक्राउ गरेको थियो ।
गएको असारमा इलामकै एक बालिकाको आफ्नै सौतेनी बाबुले बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । १२ वर्षकी उक्त बालिकामा तीन महिनाको गर्भ आएपछि उनी बलात्कृत भएको पुष्टि भएको थियो । बलात्कार अभियोग लागेका बाबु अहिलेसम्म फरार नै छन् ।
बालिकाकी आमाले दोस्रो विवाह गरेको केही समयपछि सुत्केरी भइन् । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर–सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौतेनी बाबुले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन् ।
गत भदौ १५ गते मोरङमा १३ वर्षीय बालिकाले बच्चा जन्माइन् भन्ने खबर सार्वजनिक भयो । १६ वर्षीय किशोरको जबरजस्ती करणीबाट उनी गर्भवती भएकी थिइन् । गर्भ ८ महिनाको भएपछि मात्र परिवारले थाहा पाए । ती बालिकाले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।
कोशी प्रदेशमा रहेको दीर्घकालीन पुनर्स्थापना केन्द्रमा मात्रै १७ जना बालिका आश्रयमा बसेका छन् । जसमध्ये ७ जना आमा बनिसकेका छन् । आमा बनेकाहरू आफैँमा बालबालिका हुन् ।
जबरजस्ती करणीका घटनामा सबैभन्दा बढी साना उमेरका बालबालिकाहरू पीडित हुने गरेको माथि उल्लेखित घटनाक्रमले पनि पुष्टि गर्दछ । यतिसम्मकी उमेरले आफैँ बालबालिका उनीहरू यौनजन्य हिंसाको सिकार हुँदा सानै उमेरमा आमा बन्न बाध्य हुन परेको छ ।
कोशी प्रदेश प्रहरीको तथ्याङ्कले पनि पछिल्लो समय १८ वर्ष मुनीका बालिका माथि हुने यौनजन्य हिंसाका घटना वृद्धि भएको देखाएको छ ।
कोशी प्रदेशमा पछिल्लो तीन वर्षमा दर्ता भएका बलात्कारका १ हजार ८ सय ५४ मुद्दा मध्ये १ हजार २९६ वटा बालिका माथि करणीका छन् । आर्थिक वर्ष ७७/०७८ देखि ७९/०८० र ०८०/०८१ को कात्तिक मसान्तसम्मको अवधिमा दर्ता भएको करणी उद्योगका ४ सय ६८ मुद्दामा २ सय ६९ वटा बालिका माथि करणी भएका छन् ।
प्रहरीको यो तथ्याङ्कले बालिका माथि हुने यौनजन्य हिंसाको जोखिम उच्च रहेको देखाएको छ । यस्ता घटनामा पीडकहरू नजिकका आफन्त, परिवारका सदस्य, नातागोता तथा आफ्नै साथी भाइ हुने गरेको प्रहरीको भनाई छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका सह प्रवक्ता सुनिल दाहालका अनुसार– ‘धेरैजसो घटनामा उमेर नपुगेका बालिकाहरू नै बलात्कार पीडित बनेको पाइएको छ ।’
दाहालका अनुसार– ‘सानो उमेर भएकाले प्रतिकार गर्न नसक्ने अवस्थाका कारण उनीहरू यौन हिंसामा परेका देखिन्छ । यस्ता घटनामा नाता भित्रकै, आफन्त र विश्वास गरेको मानिसहरूको बढी संलग्नता देखिएको छ।’
आफ्नै साथीहरूले विभिन्न प्रलोभनमा पारी पीडकहरूले बालिकाहरूलाई फकाइ, डर धम्की वा बलात्कार गर्ने गरेको प्रहरीको भनाई छ । लामो समयसम्म घटना सार्वजनिक नहुँदा पीडित बालिकाहरू आमा बन्ने गरेको अवस्था समेत भएको सस प्रवक्ता दाहालले बताए ।
बलात्कार वा यौनजन्य दुर्व्यवहारका घटनामा बालिकाहरू नै बढी प्रभावित भइरहेको चालु आर्थिक वर्षको तथ्याङ्कले देखाएको छ ।
संसार भरी अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो वर्षको अभियानको नारा महिला र बालिकामाथिको हिंसा नियन्त्रणको लागि बालिकामा एकीकृत लगानी गरौँ भन्ने तय गरिएको छ ।
नारामा उल्लेख गरे अनुसारको लगानी साँच्चिकै वालिकामा गर्ने हो भने बालिकामाथि हुने हिंसामा कमी आउने आवाज विभिन्न फोरमहरूमा उठ्दै आएको छ ।
केही दिन अघि विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्चमा समेत प्रहरीमा दर्ता हुने मुद्दा तथा उजुरीको दर मात्रै बढेको नभएर हिंसाको स्वरूपमा समेत वृद्धि भएको र यसबाट बालिकाहरू बढी प्रभावित भएको निष्कर्ष निकालिएको महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेश संयोजक मञ्जिता उपाध्यायले बताइन् । उनका अनुसार अहिले बालिका माथि हुने यौनजन्य हिंसाका घटना समाजमा बढेका छन् ।
समाजमा पहिला पनि घटना हुन्थे तर बाहिर आउँदैन थिए । तर पछिल्लो समयमा सचेतना बढेकोले घटना बाहिर आउने गरे पनि अहिले पनि कानुन कार्यान्वयनको अवस्था कमजोर भएकोले प्रभावितहरूले सहजै न्याय पाउन सकेको उपाध्याय बत्ताउँछिन्। त्यसैले पिडकहरूलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउन र न्याय पाउन सहज वातावरण बनाउनु पर्ने आवश्यकता रहेको पनि उपाध्यायको भनाई छ ।
कोशी प्रदेशमा ३ वर्षको अवधिमा दर्ता भएका ३ हजार ४ सय ७१ वटा लैङ्गिक हिंसाका मुद्दामा ३ हजार ३४९ जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको कोशी प्रदेश प्रहरीका सह प्रवक्ता दाहालले बताए ।
कोशी प्रदेश प्रहरीमा जबरजस्ती करणी, करणी उद्योग बाहेक अप्राकृतिक मैथुन का २१ वटा, मानव बेचबिखन तथा ओसारपसारका ५७ वटा, अपहरणका ३७ वटा ,बहुविवाहका ३४ वटा यस्तै बालविवाहका ४ सय ७९ वटा, बोक्सीको आरोपका ११ वटा, कर्तव्य ज्यानका १ सय ७६ वटा र गर्भपतनका घटनाका २४ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
- कोशीमा सांसदहरूले भत्ता बापत १९ लाख रुपैयाँ बुझे, बनेन जनसरोकारका कानुन
- झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो
- ‘विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस्’- अध्यक्ष नवीन रिजाल
- हिँड्ने बाटो रोकिएपछि बढ्यो कोसीका तीन जिल्लामा हात्तीको आक्रमण
- कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
- कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान
- चुलोले स्खलित गरेको पदको गरिमा
- कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि
- कोसीमा चार हजार ३५८ महिला हिंसाका उजुरी, अधिकांश मिलापत्र
- कोसी प्रदेशमा जिम्मेवारीविहीन हुँदा मन्त्रीहरू फुर्सदिला