कोसी प्रदेशमा जिम्मेवारीविहीन हुँदा मन्त्रीहरू फुर्सदिला

मुख्यमन्त्री सरकारी क्वार्टरमा, मन्त्री भाडाको घरमा

ध्रुव भट्टराई/मोरङ

कोसी प्रदेशमा मन्त्रीपरिषद्को शपथ लिएर मन्त्रालयको जिम्मेवारी नपाएका बिना विभागीय मन्त्रीहरू फुर्सदिला बन्नुभएको छ ।

मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने कुरामा चासो नदिँदा मन्त्रीहरू फुर्सदिला बन्नुभएको हो । उहाँहरू लामो समयदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एक कोठामा बसेर दिन कटाउँदै आउनुभएको छ । 

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विस्तार गरेको मन्त्रीपरिषद्का तीन मन्त्री अहिले जिम्मेवारी विहीन हुनुहुन्छ । गठबन्धन भित्र मन्त्रालयको भागबन्डा नटुङ्गिएको कारण मन्त्रीहरू गणेश उप्रेती, शमशेर राई र कमलप्रसाद जबेगुले जिम्मेवारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । पछिल्लो समय मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने विषयमा गठबन्धन दल भित्र छलफलसमेत नभएको बताइएको छ 

कोसी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बनेसँगै मन्त्री मण्डलमा काङ्ग्रेसका शमशेर राई मन्त्री बन्नुभएको थियो । उहाँ मन्त्री बनेको ४५ दिन बितिसक्दा पनि अहिलेसम्म विना विभागीय मन्त्रीको रूपमा नै कायम हुनुभएको छ । राई गएको असोज २७ गते मन्त्री नियुक्त हुनुभएको थियो ।

सोही दिन मन्त्री पदमा नियुक्त हुनुभएका एमालेका रामबहादुर राना मगरले भने कार्तिक १८ गते राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री कार्कीले कार्तिक १७ गते माओवादीबाट उप्रेती र नेकपा (एस) बाट जबेगुलाई मन्त्री नियुक्त गर्नुभएको हो । यद्यपि मन्त्रीद्धय उप्रेती र जबेगुले मन्त्री पदको शपथ लिएर एक महिना पुग्न लाग्दा समेत जिम्मेवारी पाउनुभएको छैन ।

विना विभागीय मन्त्रीहरूलाई कार्यालय समयमा बस्नका लागि मुख्यमन्त्री कार्यालयमा नै कार्यकक्ष बनाइएको छ भने बासका लागि आ–आफ्नो तरिकाले स्वयं मन्त्रीहरुले नै बन्दोबस्तको व्यवस्था मिलाउनु भएको छ।

विना विभागीय मन्त्रीहरूका लागि मुख्यमन्त्री कार्यालयमा राजनीतिक सल्लाहकारको कार्यकक्ष, प्रमुख सल्लाकारको कार्यकक्ष र मुख्यमन्त्रीको स्वकीय सचिवको कार्यकक्ष उपलब्ध गराइएको छ । मुख्यमन्त्री कार्यालयमा कार्यकक्ष बनाइए पनि तोकिएको जिम्मेवारी नभएकाले मन्त्रीहरू फुर्सदिला बन्नुभएको हो ।

केदार कार्की नेतृत्वको कोसी सरकारमा उहाँहरू बिना विभागीय मन्त्रीको झन्डा हल्लाएर हिँडिरहनु भएको छ । मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी नपाएका कारण बेरोजगारजस्तै बन्नु भएको हो । 

मन्त्रीहरूको काम केही नभएकाले प्रायः निजी र पार्टीको काममा हिँड्ने गर्नुभएको छ । कोही भने दिनभरि मन्त्री क्वार्टरमै बसेर दिन कटाउँदै आउने गर्नुभएको छ ।

मन्त्रालय नतोकिँदा मन्त्री भएजस्तो अनुभूति नै नहुने विना विभागीय मन्त्रीहरू बताउनुहुन्छ । ‘मन्त्री भए पनि जिम्मेवारी विहीन हुदाँ जनताको गुनासो सम्बोधन गर्ने भूमिका पनि नहुँदो रहेछ, एक मन्त्रीले गुनासो गर्नुभयो । ‘प्रदेश सभा र मन्त्रिपरिषद् बैठकमा सहभागी हुने बाहेक खासै काम रहेन । मन्त्री भएर बस्नलाई न क्वार्टर नै उपभोग गर्न पाएका छौ ।’

मुख्यमन्त्री कार्की भने प्रदेश सभाबाट विश्वासको मत लिए लगतै सरकारी क्वार्टरमा सर्नुभएको छ । सुनसरी मोरङ सिचाई‌ आयोजनाको कार्यालयमा रहेको मन्त्री क्वार्टरमा मुख्यमन्त्री कार्की बस्दै आउनुभएको छ । मुख्यमन्त्री कार्कीले गएको कार्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । 

विपक्षी नेकपा एमालेको समर्थनमा नियुक्त हुनु भएका कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले केन्द्रमा हाल कायम माओवादी केन्द्रसहितको गठबन्धन दलहरूको समर्थनमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको थियो ।

विना विभागीय मन्त्रीहरू सबैको विराटनगरमा घर नभएका कारण उहाँहरू आफ्नै भाडाको निवासमा बस्दै आउनुभएको छ । उहाँहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोके बमोजिमका मन्त्रालयका सवारी साधन भने प्रयोग गरिरहनु भएको छ । 

कोसी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरीले अहिले मुख्यमन्त्री कार्यालयले तोकेका गाडीहरू नै बिना विभागीय मन्त्रीहरूले प्रयोग गरिरहेको जानकारी दिनुभयो । 

सचिव गिरीले मन्त्री भएपछि सरकारी क्वार्टर भएको अवस्थामा सुविधा लिन सक्ने भए पनि सरकारी क्वार्टर नभएकाले मन्त्रीज्युहरूले आ–आफनै तरिकाले बसोबासको बन्दोबस्त मिलाउनु भएको हुन सक्ने बताउनुभयो ।

मुख्यमन्त्रीले मन्त्रीहरूलाई जिम्मेवारी नदिँदा कार्की आफैले छ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । दलीय भागबन्डा मिलाउन नसक्दा मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय,आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको हो । 

गएको असोज २७ गते नेकपा (एमाले)को समर्थनमा काँग्रेसका केदार कार्की कोसी प्रदेशको आठौँ मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको थियो  । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम काँग्रेसको विद्रोही समूहका आठ र एमालेका ३९ गरी ४७ सांसद समर्थनमा  कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेलाई समेत सहभागी गराएर मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

मुख्यमन्त्रीको शपथ लिए लगत्तै कार्कीले मन्त्रिमण्डलमा काङ्ग्रेसबाट शमशेर राई र एमालेबाट रामबहादुर मगर मन्त्री नियुक्त हुनुभएकाे थियो । तर, एमालेबाट मन्त्री बन्नुभएका मगरले राजीनामा दिइसक्नु भएको छ । एमाले अहिले कोसी प्रदेशमा प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
कोसी प्रदेशमा जिम्मेवारीविहीन हुँदा मन्त्रीहरू फुर्सदिला
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link