नेपाली क्रिकेटलाई आजको स्थानसम्म ल्याइपुर्याउन ब्याटिङले भन्दा बलिङले महत्वपूर्ण भूमिका निभाएको छ। तर पछिल्ला केही समययता नेपालले खेलेका खेलहरूलाई विश्लेषण गर्ने हो भने नेपालको ब्याटिङमा पनि आशाका नयाँ किरण देखा परेका छन्, कालो बादलको छेउमा चाँदीको घेरो देखिएजस्तै। विशेषगरी करण केसी, कुशल भुर्तेल र रोहित पौडेलको आगमनले नेपाली ब्याटिङलाई एउटा नयाँ दिशा प्राप्त भएको छ।
क्रिकेटलाई ‘ब्याट्स्मेन्स् गेम’ पनि भनिन्छ अर्थात् ब्याट्स्म्यानहरूको खेल। तर आधुनिक नेपाली क्रिकेटको इतिहासलाई हेर्ने हो भने ब्याटिङमाथि बलिङ सदैव हावी हुँदै आएको देख्न पाइन्छ। मूलतः ब्याटिङ पक्ष नेपाली क्रिकेटको परम्परागत कमजोरी रहँदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव हासिल गरिसक्दा पनि नेपाली क्रिकेटमा ब्याटिङ पक्ष भने सधैँ कमचलाउ हिसाबमा मात्र चलिरहेको कुरा बुझ्न खासै गाह्रो पर्दैन।
तीन दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपालका कुनै पनि ओपनिङ ब्याट्स्म्यानमा वीरेन्द्र शेहवाग, क्रिस गेल, शहिद अफ्रिदी वा एडम गीलक्रिस्टको जस्तो आक्रमकता अझैसम्म देख्न पाइएको छैन। ओपनिङ पार्टनरशीपले नै खेलको आधारशीला तयार पार्ने गर्दछ, तर नेपाली क्रिकेटमा अहिलेसम्म त्यस्तो आक्रामक र भरपर्दा सलामी जोडी पनि देख्न पाइएको छैन र त्यो समस्या आजपर्यन्त कायमै छ। प्रारम्भिक जोडीमात्र होइन, ठूला साझेदारीका मामिलामा नेपालको समग्र ब्याटिङ लाइनअपमा नै समस्या रहँदै आएको देखिन्छ। नेपालले पहिलो एकदिवशीय शतकीय साझेदारीका लागि १७औँ खेलसम्म पर्खनुपरेको कुराले पनि यही समस्यालाई उजागर गर्छ।
नेपालको ब्याटिङ लाइनमा अरू पनि थुप्रै समस्या छन्। एउटै खेलाडीमाथि भर पर्नु नेपालको अर्को समस्या हो। नेपाली ब्याटिङ्लाई धेरै समयसम्म पारस खड्काले आफ्नो काँधमा धानेर अगाडि बढिरहे। पारसको त्यो यात्रामा उनलाई समयक्रमसँगै फरक–फरक खेलाडीहरूले साथ नदिएका होइनन्, त्यसमध्ये ज्ञानेन्द्र मल्लको भूमिका विशेष रह्यो।
अन्य एसोसिएट्स वा टेस्ट खेल्ने राष्ट्रको तुलनामा नेपाली खेलाडी, शारीरिक एवम् मानसिक दुबै हिसाबले केही कमजोर रहँदै आएका छन्। आवश्यक परेको बेलामा लामो इनिङ खेल्न नसक्नु, प्रेसरमा आएर गलत सट खेल्दै आउट हुनु वा ‘म्याच वीनर’ खेलाडी जन्म नसक्नु नेपाली ब्याटिङका स्थायी समस्या रहँदै आएका थिए।
आज सीमित ओभरको क्रिकेटमा मात्र होइन टेस्ट क्रिकेटमा समेत अलराउण्डरहरूलाई विशेष भूमिका दिने गरेको पाइएको छ। भारतका रविन्द्र जडेजा, इंग्ल्याण्डका बेन स्टोक्स, बंगलादेशका शकिव अल हसन अथवा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल आदि यसका उदाहरण हुन्। नेपालमा ब्याटिङ र बलिङ दुवै गरेर खेल जिताउन सक्ने खेलाडीहरूको ठूलो अभाव रहँदै आएको छ। मेरो व्यक्तिगत विचारमा नेपाली क्रिकेटले पाएको सबैभन्दा उत्कृष्ट अलराउण्डर महबुब आलम हुन् तर नेपालको सन्दर्भमा पूर्वकप्तान पारस खड्कालाई एउटा अलराउण्डर क्रिकेटरको अनुपम उदाहरण मान्न सकिन्छ।
समग्रमा भन्नुपर्दा नेपाली क्रिकेटलाई आजको स्थानसम्म ल्याइपुर्याउन ब्याटिङले भन्दा बलिङले महत्वपूर्ण भूमिका निभाएको छ। तर पछिल्ला केही समययता नेपालले खेलेका खेलहरूलाई विश्लेषण गर्ने हो भने नेपालको ब्याटिङमा पनि आशाका नयाँ किरण देखा परेका छन्, कालो बादलको छेउमा चाँदीको घेरो देखिएजस्तै। विशेषगरी करण केसी, कुशल भुर्तेल र रोहित पौडेलको आगमनले नेपाली ब्याटिङलाई एउटा नयाँ दिशा प्राप्त भएको देखिन्छ।
ओपनिङ ब्याट्स्म्यानका रूपमा नेपालले पाएको अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् कुशल भर्तेल। आफ्नो छोटो करिअरमा उनले आफ्नो खेलद्वारा यस तथ्यलाई प्रमाणित गरेका छन्। केवल ११ खेल खेल्दै कुशलले टी–२० मा सर्वाधिक अर्धशतक (५वटा)को किर्तिमान आफ्नो नाम गराइसकेका छन् भने टी–२० विश्व वरियताक्रमको शीर्ष ३० भित्र पर्न सफल भएर अर्को इतिहास रचेका छन्। आइसीसीको वेवसाइट अनुसार अहिले टी–२० क्रिकेटमा सबैभन्दा राम्रो औसत भारतका विराट कोहलीको नाममा छ जसको औसत ५१.५० रहेको छ। कुशलले थोरै म्याच खेलेको भए पनि उनको ब्याटिङ औसत ७१ भन्दा माथिको छ। यसै कुराबाट पनि उनको क्षमताको अनुमान गर्न सकिन्छ। लामो समयसम्म क्रिजमा टिकेर ठूला इनिङ्स खेल्नसक्ने क्षमता उनमा भरपूर छ।
तर कुशल भुर्तेलले मानसिक रूपमा त्यत्ति नै सशक्त भएर आउनु आवश्यक छ। अझै पनि आवश्यक समयमा कुशलको ब्याटबाट रनको वर्षा हुन सकेको छैन। उनले यो समस्यामाथि ध्यान दिने हो भने नेपालले उनको ब्याटिङबाट धेरै फाइदा उठाउन सक्ने निश्चित छ। उनी एक विकेटकिपर–ब्याट्स्म्यान समेत भएका कारण टिमलाई यसबाट थप फाइदा पुग्नेछ, टिममा एकजना अर्को विशेषज्ञ व्याट्स्म्यान वा अलराउण्डरले स्थान पाउन सक्नेछ।
पछिल्लो समयमा करण केसी र रोहितकुमार पौडेलले पनि आफ्नो व्याटिङका माध्यमबाट विशेष प्रभाव पारिरहेका छन्। आवश्यक परेको समयमा रन बनाउन सक्ने र खेलको दिशा नै बदल्न सक्ने खेलाडीका रूपमा यी दुई खेलाडीको उदय हुनु नेपाली क्रिकेटको भविष्यको लागि सुखद संकेत हो। चाहे क्यानडा विरुद्ध खेलिएको ४२ रनको त्यो ऐतिहासिक इनिङ्स होस् जसले नेपाललाई एकदिवशीय क्रिकेटको मान्यता दिलायो, चाहे त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध अन्तिम ओभरमा १७ रन प्रहार गरेर होस्, करण केसीले आफूलाई एउटा अब्बल दर्जाको अलराउण्डर प्रमाणित गरिसकेका छन्।
दुवईमा जारी क्रिकेट वल्र्ड कप सुपर लिग २ अन्तर्गत हिजो सम्पन्न पपुवान्यूगिनीविरुद्धको खेलमा समेत करणले नौ नम्वरमा ब्याटिङ गर्दै हारको संघारमा रहेको नेपाल टोलीको उद्दार गरेका थिए। तर यस खेलको जितको आधार तयार पारेका थिए युवा खेलाडी रोहित कुमार पौडेलले। २०१६ को अन्डर–१९ एशिया कपमा भारतविरुद्ध सनसनीपूर्ण ६८ रनको इनिङ खेलेर सबैको नजरमा परेका पौडेललाई पनि नेपाली क्रिकेटको महत्वपूर्ण खोज मान्न सकिन्छ। धेरै महत्वपूर्ण पारी खेलेर मध्यक्रममा आफ्नो उपयोगिता सिद्ध गरिसकेका रोहितमा तनावका बेला पनि क्रिजमा टिकेर बस्न सक्ने र स्ट्राइक रोटेट गर्न सक्ने खुवी देख्न पाइन्छ। रोहितसँग आवश्यक परेको बेलामा ठूला–ठूला शटहरू हिर्काउन सक्ने खुवी पनि छ। पौडेलकै ५८ रनको सहयोगमा ४२–४ को स्थितिबाट नेपाली टोली जितसम्म पुग्न सफल भएको थियो।
नेपाली क्रिकेटको ब्याटिङमा यस्ता सुखद परिदृष्यहरू विरलै देख्न पाइन्छन्। तर पछिल्लो समय नेपालको ब्याटिङमा धेरै सकारात्मक परिवर्तन देख्न पाएको क्रिकेटप्रेमीहरूले आभाष गरेका छन्। पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि एक हिसाबले नेपाली ब्याटिङको नेतृत्व ज्ञानेन्द्र मल्लको काँधमा आएको थियो। प्रतिभाशाली युवा खेलाडीहरूको आगमनले धेरै हदसम्म ज्ञानेन्द्रको त्यो बोझ हलुका भएको हुनुपर्छ। एक अनुभवी खेलाडीका रूपमा तत्कालका लागि टोलीलाई मल्लको आवश्यकता हुनसक्ला, तर उनले नेपाली टोलीमा नयाँ खेलाडीका लागि स्थान बनाइदिनेतर्फ सोच्ने बेला भइसकेको छ।
त्यसबाहेक वर्तमान नेपाली टोलीमा अर्का अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरीले ब्याटिङमार्फत आफ्नो प्रभावलाई कायम राखेका छन्। आरिफ र आशिफ शेखको उपस्थितिले नेपालको मध्यक्रम बलियो देखिएको छ। समग्रमा भन्नुपर्दा अहिलेको नेपाली टोलीलाई बलरहरूको होइन, ब्याट्स्म्यानको टोली मान्न सकिने आधार तयार भएको छ। अबका दिनमा नेपालले यही लयलाई कायम राख्न सक्नुपर्छ।
नेपाली क्रिकेटको अबको लक्ष्य भनेको सन् २०२३ को विश्वकप क्रिकेट हो। तर यसका लागि नेपालले अझै लामो र कठिन बाटो तय गर्नुपर्नेछ। विश्वकप छनौटको आधारको रूपमा रहेको आइसीसी क्रिकेट वर्ल्डकप लिग २ प्रतियोगिता अन्तर्गत नेपालले अबको एक वर्ष व्यस्त हुनु पर्नेछ। र, यस अवधिमा नेपाली टोलीले वास्तविक परिक्षा दिनु पर्नेछ।
सात राष्ट्र सम्मिलित वल्र्डकप लिग २ मा नेपाल अहिले छैठौँ स्थानमा छ। प्रतियोगिता अन्तर्गत नेपालले पहिलो सिरिज गृहमैदानमा र दोस्रो सिरिज गत महिना ओमानमा खेलिसकेको छ। युएईमा जारी सिरिज प्रतियोगितामा नेपालको तेस्रो श्रृंखला हो। अब नेपालले आगामी जुन महिनामा अमेरिकामा, जुलाईमा स्कटल्याण्डमा, नोभेम्बरमा नामिबियामा र सेप्टेम्बरमा पपुवा न्युगिनी गएर सिरिज खेल्नेछ। फेब्रुअरी २०२३ सम्ममा थप दुईवटा सिरिज नेपालको गृहमैदानमा खेल्ने कार्यक्रम तय भएको छ।
वल्डकप लिग २ प्रतियोगिताले नेपाली क्रिकेटलाई ठूलो एक्स्पोजर प्रदान गर्ने कुरामा कुनै शंका छैन। विश्वकपमा छनौट हुने सम्भावनाका साथसाथै यो प्रतियोगिताले नेपाली क्रिकेटको विकासका लागि पनि ठूलो अवसर प्रदान गरेको छ। त्यसैअनुसार कार्ययोजना बनाएर अगाडि बढ्ने हो भने नेपाली क्रिकेट सही दिशातर्फ अगाडि बढ्न सक्छ। तत्कालका लागि भने हाम्रो सम्पूर्ण ध्यान दुवईमा जारी त्रिकोणात्मक श्रृंखलातर्फ केन्द्रित हुनु आवश्यक छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आशुतोष अधिकारी का अन्य पोस्टहरु:
- धमाधम बनिरहेको छ विश्वकपमा स्कोर र ब्याटिङ रेकर्ड
- लो स्कोरको म्याचमा अस्ट्रेलियालाई जित्यो भारतले
- दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान
- नेदरल्याण्डस् विरुद्धको जीतमा पाकिस्तानको औसत प्रदर्शन
- विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
- आजबाट क्रिकेटको महाकुम्भ सुरु, को हुन् जितका बलिया दाबेदार?
- नेपाली क्रिकेटको एसियाड यात्रा टुंगियो
- भारतविरुद्धको नेपालको बहादुरीपूर्ण ब्याटिङ
- परम्परागत कमजोरी: ब्याटिङले फेरि डुबायो
- एउटा महान् गोलरक्षकको बिदाइ