रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा

रामविकास चौधरी/रूपन्देही

कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित एक सामुदायिक विद्यालयको बस निजी विद्यालयले सञ्चालन गरेको छ । विद्यार्थीहरूको सुविधाका लागि खरिद खरिएको लु १ क ५५८१ नम्बरको सो बस, विद्यालय आफैँले सञ्चालन गर्न नसकेको भन्दै २०८० साउन ७ गतेदेखि निजी विद्यालयलाई भाडामा दिएको हो ।

मर्चवार आदर्श मा.बि.ले बुद्ध उन्नोभेटिभ रिसर्च एन्ड टेक्निकल इन्स्टिच्युट प्रा. ली.द्वारा सञ्चालित विराट स्मार्ट नामको निजी विद्यालयलाई सो बस भाडामा दिएको जनाएको छ । प्रदेश सरकारको २५ लाख र विद्यालयबाट २ लाख ७८ हजारको साझेदारीमा २०७९ फागुन २३ गते सो बस खरिद गरिएको थियो ।

प्रदेश सांसद वसीउद्दीन खाँले उद्घाटन गर्नु भएको सो बस सञ्चालनका लागि श्रोत अभावमा झन्डै ४ महिना विद्यालयमै थन्किएको थियो । पछि २०८० साउन ७ गते बुद्ध उन्नोभेटिभ रिसर्च एन्ड टेक्निकल इन्स्टिच्युट प्रा.ली. लुम्बिनी सांस्कृतिक नगरपालिका वडा –२ सँग मासिक २५ हजारका दरले प्रत्येक ३ महिनामा भाडा बुझाउने गरी विद्यालयले सम्झौता गरेको छ ।

विद्यालयको गुणस्तर बढाउन तथा विद्यार्थीलाई यातायातको सुविधा दिने उद्देश्यले खरिद गरिएको सो बसको दुरुपयोग भइरहेको विद्यार्थी तथा अभिभावकको आरोप छ । विद्यालयको आवश्यकता, क्षमता र श्रोतको अध्ययन बिना बस खरिद गरी भाडामा दिइएको गुनासो गर्दै कक्षा १०का एक विद्यार्थीले सो बस विद्यालयले तत्काल फिर्ता लिई सञ्चालन गर्न सुझाव दिनुभयो ।

“सामुदायिक विद्यालयका लागि खरिद गरिएको सो बस निजी विद्यालयका विद्यार्थीहरूले प्रयोग गरिरहेको छ” समाजसेवी गुरूवचन यादवले भन्नुभयो, “बस खरिदको खबरले उत्साहित भएको थियाे, तर विद्यालयले बस सञ्चालन गर्न नसक्दा मन साह्रै दुखेको छ ।” भाडामा दिइएको सो बस तत्काल फिर्ता गराइ विद्यालयको हितका लागि व्यवस्थापन गर्न उहाँको माग छ ।

विद्यालयको बसलाई वनभोज र विवाह पार्टीका लागि समेत भाडामा दिने गरिएको छ । सम्झौता निजी विद्यालय सित भए पनि २०८० फागुन २७ गते कोटहीमाई–४ स्थित श्री गणेश सामुदायिक प्राथमिक विद्यालयलाई वनभोजका लागि १२ हजारमा भाडामा मर्चवार आदर्श मा.बि.ले दिएको भरपाई बाट देखिन्छ ।

त्यसैगर केही महिना अगाडी मर्चवार आदर्श माध्यमिक विद्यालयका एक शिक्षकको छोरीको विवाहमा समेत सो बस प्रयोग गरिएको प्रत्यक्षदर्शी राजेन्द्र गुप्ताले बताउनुभयो । मर्चवार आदर्श मा.वि.का प्रधानाध्यापक धनञ्जय त्रिपाठीले स्थानीय सरकारले बस सञ्चालनका लागि कुनै चासो नदेखाएकोले भाडामा दिन बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी पूर्ण रूपमा स्थानीय सरकारको अधीनमा छौ । विद्यार्थीहरूबाट कुनै शुल्क लिइएका छैनौ । बस थन्किएपछि चालकको तलब पनि दिने अवस्था छैन । गाउँपालिकामा सञ्चालन खर्च माग गर्दा कुनै बेवास्ता गरिन्छ ।“ बसको इन्धन, मर्मत र चालक खर्च कहाँबाट, कसले व्यहोर्ने ? प्र.अ.त्रिपाठीको प्रश्न छ ।” विद्यालयको आन्तरिक स्रोतबाट केही शिक्षक÷कर्मचारी भर्ना गरी विद्यालय सञ्चालन गरिए पनि त्यो पर्याप्त नरहेको त्रिपाठीले बताउनुभयो ।

त्यसैगरि मझगावा चोकमा रहेका विद्यालयका १४ वटा व्यावसायिक सटर समेत सामान्य भाडामा दिइएको भए पनि सो को भाडा समेत समयमा उठ्न नसकेको भन्दै, २–३ वर्षसम्मको सटर भाडा बाँकी रहेको त्रिपाठीले बताउनुभयो । कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले बस सञ्चालनको लागि गाउँपालिकाबाट खर्च व्यहोर्ने कुनै सहमति नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयले आफ्नो क्षमतामा सञ्चालन गर्न प्रदेश सरकारबाट अनुदान माग गरेको थियो ।” बस सञ्चालनको लागि विद्यालयको आफ्नो थुप्रै आन्तरिक स्रोत रहेको र तिनको सदुपयोग नभएको प्राविधिक सहायक चौधरीले बताउनुभयो ।

“सामुदायिक विद्यालयमा यातायात सुविधा पुर्‍याउन लागि खरिद गरिएको बस निजी विद्यालयलाई दिन मिल्दैन“ उहाँले भन्नुभयो । त्यो बस तत्काल फिर्ता लिई विद्यालय स्वयमले श्रोत व्यवस्थापन गरी सञ्चालन गर्नुपर्ने चौधरीको भनाइ छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link