रुपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् सबस्टेशनको काम ४० प्रतिशत पूरा भएको छ । तीन वटा पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सबस्टेशनको निर्माण कार्य पूरा भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर जगदीशराज बरालका अनुसार, मर्चवारस्थित महदेई सबस्टेशनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा अगाडी बढिरहेको उनले बताए ।
निर्माणका लागि इथोस पावर एसआईपीएस जेभीसँग २०७९ सालको फागुन महिनामा सम्झौता भएको उनले बताए । “अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सबस्टेशन सञ्चालनमा ल्याउने योजनामा हामी छौ”, उनले भने ।
साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको भन्दै प्राधिकरणका इन्जिनियर बरालले भने, “सब स्टेसन निर्माणका लागी चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै कामहरू तीव्र गतिमा अगाडी बढेको छ ।”
निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण कार्य समयमै पूरा हुन नसकेको बताए । उनले भने, “डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म ८ सय ५० ओटा विद्युत् पोलको जडान सम्पन्न गरिसकेका छौँ ।”
योजना प्रबन्धक सिंहका अनुसार, “अबको केही दिनमै पोलमा तार तान्ने काम गरिनेछ । तार पोलको व्यवस्थापन भइसकेपछि ट्रान्सफर्मरको व्यवस्था गरी लो–भोल्टेज र विद्युत् कटौतीको समस्या पनि समाधान हुनेछ ।”
बारम्बार बत्ती जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधिहरू प्रभावित हुने गरेको सम्मरीमाइ गाउँपालिका वडा नं.७का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, “समृद्धिको सम्भावना राख्ने क्षेत्रमा विद्युत्को नयाँ संरचना निर्माण र विस्तारका लागि भइरहेका कामहरू ढिलो हुँदै आएका छन् ।”
मर्चवार क्षेत्रको महदेइमा विद्युत् सबस्टेशनको निर्माणपछि तीन वटै गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमा विकासको नयाँ अध्याय सुरु हुने लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले बताए । उनले भने, “यहाँ लो भोल्टेज र अनियमित बिद्युत कटौतीको समस्या छ ।” बिद्युत प्रवाहमा गुणस्तरीय सुधारका लागी सब–स्टेसनको गुणस्तरीय निर्माण कार्यलाई तीव्रता दिन निरन्तर अनुगमन गरिरहेको उनले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- मर्चवार लिफ्ट सिँचाई: निर्वाचनको सुरुमै विवाद
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो