रुपन्देहीको दक्षिणी क्षेत्रस्थित मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद उत्पन्न भएको छ । निर्वाचनको पहिलो चरणको पहिलो दिनमा ४ वटा ब्लाकको मतदानपछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ ।
संस्थाको ब्लाक नं. १, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन सकेको छैन । ब्लाक नं. १ मा १०१ मत, ब्लाक नं. २ मा ८७ मत, ब्लाक नं. २बी मा ६६ मत, ब्लाक नं. २४बी मा ४५ मत गरी कुल २ सय ९९ मतको मतगणना स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
ब्लाक नं. २४ बी का उम्मेदवार राजेन्द्र यादवले उपभोक्ता नै नभएको व्यक्तिले निर्वाचनमा मतदान गरेको आक्रोश पोख्दै भन्नुभयो, ‘खेत बुवाको नाममा छ, तर छोरा र नातिहरूको नाममा पानी शुल्क भुक्तानी रसिद काटेर फर्जी मातदाता ठड्याइएको छ ।’ आफ्नो खेत बिक्री गरिसकेका व्यक्तिलाई पनि मतदाता बनाइएको यादवको आरोप छ ।
मतदाता नामावली सर्वपक्षीय सहमतिमै तयार पारिएको हो। सहमतिमै शान्तिपूर्वक मतदान भयो, र मतपेटिका पनि शील गरियो । तर एक पक्षले अचानक बोलाएको बाह्य भीडले गाली गर्दै मतपेटिका जलाउने लगायतको धम्की दिन थालेपछि सुरक्षा व्यवस्था कडा पार्दै मतगणना स्थगित गरिएको, निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर विवेक साहले बताउनुभयो ।
मतपेटिकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस करौता (दुइमोहान)को निगरानीमा राखिएको छ। निर्वाचन अधिकृत साहले भने, “विवाद समाधान भएपछि मात्र मतगणना हुने छ।” ब्लाक नं. २४ र ब्लाक नं. २६ को निर्वाचन सम्पन्न भएको छ। ब्लाक नं. २४ मा सदिक अली मुसलमान र ब्लाक नं. २६ को ब्लक समिति अध्यक्षमा वीरेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साहले बताउनुभयो ।
निर्वाचन अधिकृत साहका अनुसार, मतगणना स्थगित भएको ब्लाक नं. १ मा चिनगुद चौधरी, सुभान खान र स्माइल मुसलमान, ब्लाक नं. २ मा इन्ताफ मुसलमान र सुर्यनाथ यादव, ब्लाक नं. २ बीमा सुग्रीम यादव र प्रमानन्द चौहान तथा ब्लाक नं. २४ बीको निर्वाचनमा राजेन्द्र यादव र आशिक अली धुनिया प्रतिस्पर्धी रहेका छन् ।
कुल १ सय ३० ब्लाक सङ्ख्या रहेको मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थामा पानी शुल्क बुझाएका १ हजार ७ सय १० जना उपभोक्ता किसान मतदाता रहेका छन् । माघ ३ गते देखि सुरु भएको ब्लक समितिको निर्वाचन पूर्ण रूपले सम्पन्न भएपछि मूल समितिको निर्वाचन हुनेछ । मूल समितिको निर्वाचनमा ब्लाक समितिमा निर्वाचित ब्लाक अध्यक्षहरू मात्र मतदाता हुने विधानतः व्यवस्था रहेको निर्वाचन समितिले बताएको छ ।…
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू