बिहेपछि निजामती यात्रामा मैया कडेल: क्षमता प्रमाणित गर्न पुरुषले भन्दा २० प्रतिशत बढि काम

तारा वाग्ले

पछिल्लो समय निजामती  सेवामा महिलाको प्रतिनिधित्व बढ्न थालेको छ। विगत एक दशकदेखि यस क्षेत्रमा महिलाको उपस्थिति बाक्लिदै गएको हो। आर्थिक वर्ष ०६७/ ६८ मा निजामती सेवमा  १३.८४ प्रतिशत महिला थिए भने अहिले २६.५९ प्रतिशत पुगेको छ। निजामती सेवाको विशिष्ट श्रेणीमा (सचिव)मा हालसम्म सात जना महिला पुगिसकेका छन् भने सहसचिवमा पनि पुग्ने महिलाको संख्या ४५ छ। त्यस्तै उपसचिव तहमा ९.५३ प्रतिशत महिला पुगेका छन्।

यी तहहरू निजामती सेवाको नीतिगत वा निर्णयक तह हुन्,जहाँ रहेर महिलाले उदाहरणीय र अब्बल दर्जाको कार्य सम्पादन गर्दै आएका छन्। तीमध्येमा एक हुनुहुन्छ उपसचिव मैया कडेल। धादिङबाट काठमाडौँ आएर २०५४ सालमा निजामती सेवामा प्रवेश गर्नुभएकी मैयाले अर्थशास्त्र र सार्वजानिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ। हाल बैदेशिक रोजगार बोर्डमा प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखामा निर्देशकका रूपमा कार्यरत मैयाको निजामती सेवाको अनुभव:

म भक्तपुरमा सहायक सिडियो भएर बसेको बेला कतिपय महिला दिदिबहिनीले यत्रो पदमा आउने को रहेछ भनेर हेर्न आउनुभएको थियो। कतिले त फोन गरेर सहायक सिडियोलाई पाउँ भन्थे। मैले हजुर बोल्दै छु भन्दा नपत्याएर कुरै नगरी फोन राखिदिन्थे।  कति सेवाग्राही त उच्च तहको कुर्सीमा महिला बसेको देखेर अकमकाउँथे र सहायको कुर्सीमा बसेको पुरुषसँग नै आफ्नो कामको कुरा गर्थे।  १० वर्ष अगाडी महिलालाई मथिल्लो तहमा देख्दा कतिपयले त विश्वास नै गर्दैनथे। प्रमुखको सिटमा पनि महिला हुन्छन् र?  भन्ने सोच अझैपनि छ।   उपत्यका जस्तो ठाउँमा त यस्तो सोच थियो भने गाउँतिर कस्तो होला ?  अरु जिल्लामा शाखा प्रमुख भएर काम गर्दा पनि कति सेवाग्राहीले विश्वास नै गर्दैनथे। कतिपय सेवाग्राही आफ्ना समस्या लिएर आउँथे तर महिलालाई देखेपछि कुरै नगरी फर्कन्थे।

 निजामतीको यात्रा बिहेपछि

मैले यो क्षेत्रमा प्रवेश गरेको विहे पछि हो। मेरा माइतीहरू अरू नै क्षेत्रमा हुनुहुन्छ।  परिवारका सबै सदस्य  यही क्षेत्रमा भएको घरमा बिहे गरेर भित्रिएँ। मेरो ससुरा सहसचिव हुनुहुन्थ्यो। श्रीमान् पनि यही क्षेत्रमा हुनुहुन्थ्यो। मेरो परिवारका सबै सदस्य निजामति सेवामा भएकोले मलाइ पनि यस क्षेत्रमा आउने प्रेरणा मिल्यो। त्यतिवेला यो क्षेत्रमा महिलाले काम सुब्बामा नाम निकाल्नु त निकै ठूलो कुरा हुन्थ्यो।  सबै महिलाले पढ्न पाउँदैनथ्ये। मेरो बुवा भने कानुनी क्षेत्रमा लागेको समाजको बौद्धिक वर्गमा पर्नुहुन्थ्यो। गन्यमान्य हुनुहुन्थ्यो। उहाँले मलाई पढ्नमा कहिल्यै विभेद गर्नुभएन। डिग्री पढाएर मात्र बिहे गरिदिन्छु भन्नुहुन्थ्यो। तर समाजका कतिपय व्यक्तिले भने छोरीलाइ कति बुढी बनाएर राखेको बिहेवारी गरिदिने होइन भनेर वुबालाई सुनाइरहन्थे। जबकी म त्यतिवेला २० वर्षकी मात्र थिए। मैले १४ वर्षमै एसएलसी पास गरेकोले त्यतिवेला डिग्री पढ्दै थिएँ।  त्यसैवेला कुल घरानको ठाउँबाट माग्न आएपछि बुवाले पनि बिहे गरिदिने सोच बनाउनु भयो। त्यसपछि पनि संयुक्त परिवारको बसाई सासुसुरा र श्रीमान्को सहयोगले मलाई पढाइलाई निरन्तरता दिदै निजामती सेवामा प्रवेस गर्न खासै समस्या भएन। २०५४ सालमा नासुको जाँच दिए पहिलो पटक नै नाम निकाल्न सफल भए। यस अवधिमा परिवार जागिर र करियर सँगसँगै लगे। त्यसको  आठ वर्ष पछि अफिसरमा नाम निकाल्न सफल भए।  २०६९ सालमा बढुवाबाट उपसचिव भएँ।

एक त म भित्र केही गरौं भन्ने संकल्प थियो। आत्मविश्वास थियो। अर्को मैले परिवारबाट हरेका कुरामा सुविधा र सहयोग पाएँ। यदि परिवार र अभिभावकबाट प्रेरणा साथ सहयोग पाउने हो भने  महिलाले पनि जुनसुकै  क्षेत्रमा पुगेर आफ्नो क्षमता देखाउन सक्छन्। तर महिलामा मैले गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ। अभिभावकले पनि छोरीलाई समान अवसर दिने कुनै पनि कुरामा विभेद नगर्ने हो भने महिलालाई अगाडी बढ्न प्रेरणा मिल्छ।

परिवार जागिर सँगसँगै

महिला भएपछि परिवार बालबच्चा र आफ्नो जागिर सँगसँगै लैजानुपर्ने हुन्छ। कतिपय अवस्थााममा आमाले नै मात्र पूरा गर्नुपर्ने जिममेवारी पनि हुन्छन्। तिनको उचित व्यवस्थापन गरेर सँगसँगै लैजानुपर्छ। अहिले धेरैजसो बच्चलाई शिशु स्याहार केन्द्रमा राखेर जागिर खानु परेको छ। एकल परिवारमा हुनेलाई परिवारको भार बढि पर्ने भएकोले महिलालाई त्यति सहज भने छैन। मेरो सवालमा भने मैले परिवारबाट धेरै साथ सहयोग पाएकोले कुनैपनि समस्या  वेहोर्नुपरेन। मैले चार वर्षमा २ जना बच्चा जन्माए, आठ वर्षभित्र दुबैजना हुर्किए। यही समयमै मैले आफ्नो अध्ययन र अफिसको कामलाई निरन्तरता दिएँ।  मैले त संयुक्त परिवारमा बसेको भएर पनि परिवारबाट पाउने सहयोग पाएँ। तर सबैले यस्तो अवसर पाउँदैनन्।  बच्चालाई सासुससुराको जिम्मा लगाएर कार्यालयको काममा समय दिन पाएँ। यसबाट वृतिविकासमा पनि धेरै सहयोग मिल्यो।

चार महिनाको शिशु छोडेर काममा

मैले बच्चा भएकै कारण जागिर छोड्ने वा विदा बस्ने गर्नुपरेन। अफिस पनि नियमित गएँ। मैले बच्चा चार महिनाको हुँदा गृह मन्त्रालयको अध्यागमान शाखामा कार्यरत थिएँ। अफिसबाट एक फिल्म सुटिङ  गर्नुपर्ने भएकोले बाहिर जानुपर्ने भयो। वेलुका फर्कने भनेर  चार महिनाको दुधे बालक छोडेर गएकी थिएँ। तर अचानक हावा हुरी आएर प्लेन आउन सकेन। हामी ४ दिन सम्म उतै अड्कियौं। मेरो चार महिनाको दुधे बालक धेरै रोएछ। मेरो श्रीमानले रातभर दिनभर काखमा बोकेरै हेरचाह गर्नुभएछ। बच्चालाई  केही हुन पाएन। मेरो अफिसको जिम्मेवारी पनि पूरा भयो। परिवारको सहयोग भएकैले मैले यसरी बच्चा छोडेर अफिसको काममा समय दिन पाएकी थिए।

चुनौतिभन्दा अवसर बढी

जुनसुकै क्षेत्रमा पनि चुनौति त भैहाल्छन्। यस क्षेमा पनि नभएका होइनन्। तर मलाई चुनौति मात्र भन्दा पनि अवसर के छन् भनेर हेर्नुपर्छ जस्तो लाग्छ। यहाँ भित्रका चुनौतिलाई पनि अवसरको रुपमा लिन सक्नुपर्छ। अहिले त यस क्षेत्रमा चुनौति भन्दा अवसर बढि छ। हामी निजामती सेवामा प्रवेश गर्दा धेरै नै कठिन थियो। कतिले त पढ्ने समेत अवसर पाउदैनथे। अहिले महिलालाई शिक्षामा विभेद छैन। रोजगारीमा पनि विभिन्न व्यवस्था र अवसर दिइएको छ। यसलाई अवसरको रुपमा लिनुपर्छ। मैले नासुबाट यस क्षेत्रमा प्रवेश गर्दा हाम्रो व्याचमा नासुमा जम्मा १४५ जनामा पास भएकोमा म सहित तीन जना मात्र महिला थियौं। अफिसरमा त २०६३ सालपछि मात्र महिलाको फ्लो बढेको हो। त्यतिवेला ३५ / ३६ जना महिलाले एकैपटक नाम निकाल्नुभएको थियो। त्यसपछि समाावेशीको कुरा आयो। महिलालाई यस क्षेत्रमा ल्याउन विभिन्न व्यवस्था ल्याइयो। यो पनि महिलाको लागि ठूलो अवसर हो। महिलाहरू कुनै न कुनै पेशामा आवद्ध भए भने परिवारमा  आर्थिक संकट हुन पाउदैन। बच्चाको पालनपोषण र शिक्षादिक्षा राम्रो दिन सकिन्छ। यस्ता अवसरसँगै चुनौति पनि उत्तिकै छन्। हामीहरूको पालामा अहिले जस्तो सजिलो थिएन। पहिले त पुरुषले आफैं किचनमा गएर एक गिलास पानी सारेर खाए भने पनि घरका अरु सदस्यले अर्कै रुपले हेर्ने गर्थै। सबै काम महिलाले नै गर्नुपथ्यो।  अहिले त्यस्तो छैन पुरुषले पनि घरका काममा हातेमालो गर्ने गरेका छन्। जसले गर्दा महिलाहरू यो क्षेत्रमा आउन पाएका हुन्। तर सबै महिलाले परिवारबाट सहयोग पाएका हुँदैनन् त्यस्तो अवस्थामा घरको जिम्मेवारी भ्याएर पेशाप्रतिको उत्तरदायित्व बहन गर्न भने चुनौतिपूर्ण नै छ। यसैबीच पनि महिलाहरू यति ठूलो संख्यामा यो क्षेत्रमा आउनु र राम्रो काम गरेर देखाउनु पक्कै पनि प्रशंसनिय छ ।

क्षमता प्रमाणित गर्न पुरुषले भन्दा २० प्रतिशत बढि काम

महिला कर्मचारीले उपल्लो तहमा पुगेर जतीसुकै राम्रो काम गरेपनि समाज र सेवाग्राहीले भने पत्याउदैनन्। म भक्तपुरमा सहायक सिडियो भएर बसेको बेला कतिपय महिला दिदिबहिनीले यत्रो पदमा आउने को रहेछ भनेर हेर्न आउनुभएको थियो। कतिले त फोन गरेर सहायक सिडियोलाई पाउँ भन्थे। मैले हजुर बोल्दै छु भन्दा नपत्याएर कुरै नगरी फोन राखिदिन्थे।  कति सेवाग्राही त उच्च तहको कुर्सीमा महिला बसेको देखेर अकमकाउथे र सहायको कुर्सीमा बसेको पुरुषसँग नै आफ्नो कामको कुरा गर्थे।  १० वर्ष अगाडी महिलालाई मथिल्लो तहमा देख्दा कतिपयले त विश्वास नै गर्दैनथे। प्रमुखको सिटमा पनि महिला हुन्छन् र ? भन्ने सोच अझैपनि छ।   उपत्यका जस्तो ठाउँमा त यस्तो सोच थियो भने गाउँतिर कस्तो होला ?  अरु जिल्लामा शाखा प्रमुख भएर काम गर्दा पनि कति सेवाग्राहीले विश्वास नै गर्दैनथे। कतिपय सेवाग्राही आफ्ना समस्या लिएर आउँथे तर महिलालाई देखेपछि कुरै नगरी फर्कन्थे। कार्यक्षेत्रमा अरु सहकर्मी र सिनियरबाट भने केही विभेद भएन। सम्मान पनि भयो। तर काम भने पुरुषको तुलनामा बढि नै गर्नुपर्थ्यो। महिलाले पुरुष सरह सजिलै सेवाग्राहीको विश्वास पाउन पुरुषले भन्दा  १० प्रतिशत वढी काम गुर्नुपर्छ। अनि आफ्नो क्षमता प्रमाणित गरेर पुरुषले सरह जस पाउन २० प्रतिशत बढि राम्रो काम गर्नुपर्छ। अनि मात्र हामी समाज र सेवाग्राहीको विश्वस पाउँछौ। एउटै प्रकृतिको र एकैखाले प्रतिफल हुने काम पुरुषले गरेमा त्यसको कति चर्चा हुन्छ तर महिलाले गरेको भने कसरी गरेको जवाफ दिनुपर्ने वा  समाजलाई क्षमता प्रमाणित गर्नुपर्ने अवस्था आउँछ। हाम्रो पितृसतात्मक सोच र व्यवहारका कारण महिलाले राम्रो काम गरेर पनि जस पाएका छैनन्।  आफ्नो कार्यक्षेत्रमा दिएको योगदानको उचित सम्मान  हुन सकेको छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
बिहेपछि निजामती यात्रामा मैया कडेल: क्षमता प्रमाणित गर्न पुरुषले भन्दा २० प्रतिशत बढि काम
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link