कलाकारलाई समाज र संस्कृतिको प्रतिनिधि मात्रै मानिँदैन, उनीहरू समाजको आदर्श समेत ठानिन्छन् । तर कलाकर्मीहरू किन समाजमा आदर्श पात्र बन्न सकेका छैनन् ? किन कलाकारको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकिरहेको छैन । चलचित्रको पर्दामा जस्तै राम्रो घरजम भएका कलाकारको प्रेम र पारिवारिक आदर्श किन चकनाचुर भइरहेको छ ? यो अहिलेको बहसको विषय हो ।
अहिले सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यममा गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा र नायिका अरुणिमा लम्सालले दोस्रो पतिसँग सम्बन्ध विच्छेद गर्न लागेको निकै चर्चा छ । गत वैशाख ५ गते बागलुङ घर भई हाल अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासँग विवाह गरेकी चौहानले श्रीमान् विष्णु सापकोटाले मानसिक यातना दिएको र सम्बन्ध राम्रो नभएको भन्दै सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएकी हुन् ।
यस्तै अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह पनि सङ्कटमा परेको छ । अरुणिमाले इन्स्टाग्राम र फेसबुकको टाइमलाइनबाट पति काँग्रेस नेता युवराज श्रेष्ठसँगको फोटोहरू समेत हटाएकी छिन् । गत भदौ ३ गते काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा विवाह भएको थियो । लम्सालको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनबाट पतिको फोटो गायब भएपछि उनीहरू बिचको सम्बन्ध पनि चर्चामा आएको हो ।
त्यसो तः वर्ष २०८० बिदा गर्दै गर्दा नेपाली सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा दुई पात्र हुन् राजेश पायल राई र निशान भट्टराई निकै रङ्गिएका थिए । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपाने बिच गत २०८० चैत ७ गते सम्बन्ध विच्छेद भएको थियो । उनीहरूले दुई वर्षको प्रेम सम्बन्धपछि तीन वर्षअघि बिहे गरेका थिए । राईले पनि झन्डै ५ वर्षको लिभिङ् रिलेसन पछि आफूभन्दा २६ वर्ष कान्छी पत्नी सङबुङ राईसँग २०८० चैत १५ गते अदालत गएर सम्बन्ध विच्छेद गरे ।
यी दुई प्रतिनिधि पात्रको दाम्पत्य जीवन भत्किएको तथ्य बाहिर आएपछि गायक राजेश पायल राईले टिप्पणी गरे, दुनियाँमा पारपाचुके गर्ने म पहिलो कलाकार हैन । किनकि राईको यो पिडादायी पारपाचुके घटनापछिको टिप्पणीले धेरै सत्य बोलिरहेको थियो । जुन तितो परिस्थिति यसअघि धेरै कलाकारले सामना गरे अथवा अहिले त्यही परिस्थिति नजिक धेरैको वैवाहिक पारिवारिक जीवनमा सङ्घर्ष चलिरहेको छ ।
एउटा बच्चाको बाउ बनेपछि मात्र आफ्नो वैवाहिक स्थितिबारे खुलेका राईले पारपाचुके गर्नु अघि यसै गरी पिडादायी वैवाहिक जीवन यात्रा गुजारी रहेकी पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाको पनि यस्तै पत्याउनै नसक्ने निजी जीवनको रङ्गविहीन वास्तविकता बाहिर आएको थियो ।
लामो समय निजी जीवनको पिडादायी भोगाइलाई गोप्य राखेकी सुब्बाले प्रियङ्का कार्कीको पोडकाष्टमा आफ्नो वैवाहिक जीवन, गर्भावस्था, बच्चा जन्मिनु अघिको जीवन, छोरा भइसकेपछि फेरिएको जीवनशैली, सम्बन्ध विच्छेद र को–पेरेन्टिङ साथै जीवन भोगाइबारे खुलेर कुराकानी गरेपछि प्राय सबै चकित परेका थिए । किनकि पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाको बाहिर देखिने रङ्गिन भूमिका बेग्लै थियो । श्रीमान् रियाज श्रेष्ठसँगको उनको रङ्गविहीन जीवन कसैले कल्पनासम्म गरेका थिएनन् । सम्बन्ध बिग्रेपछि सुब्बा घर परिवार तथा सम्पत्ति त्यागेर एक्लै बसेकी छन् । यसरी पारपाचुके गर्नेहरूको अनुभव उस्तै उस्तै सुनिने गरेको छ, जीवन पार्टनर र श्रीमान् अथवा जीवन पार्टनर र जीवन सङ्गिनीको अभाव महसुस भएपछि सम्बन्ध तोडिने रहेछ ।
कलाकारको भद्रगोल पारिवारिक जीवन
केही वर्ष अघि चर्चित गायिका अन्जु पन्त र सङ्गीतकार मनोज राजको ११ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्गिएको खबर आयो । अन्जु अहिले अर्कै विवाह गरेर बसेकी छन् । छोराछोरीका साथ अमेरिकामा बस्दै आएकी अरुणिमा लम्सालले अमेरिका मै रहेका पति अमित अर्यालसँग १२ वर्षपछि पारपाचुके गरिन् ।
अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्मा अथवा नयाँ पुस्ताकी चर्चित गायिका मिलन अमात्य र मेन्सन अमात्यले पनि ६ वर्ष लामो वैवाहिक जीवन सम्बन्ध विच्छेदको औपचारिक ‘ताम्र पत्र’ मा हस्ताक्षर गरेर बिट मारे । अमेरिकामा रहेका युवा रोचक मैनालीसँग विवाह गरेर केही समय अमेरिका मै बसेर ग्रिन कार्ड लिएपछि नेपाल फर्किएकी कलाकार प्रियङ्का कार्की यस्तै अर्को उदाहरण हुन् जो हाल आयुष्मान देशराज जोशीसँग दोस्रो विवाह गरेर बसेकी छन् ।
त्यसो त नेपाली चलचित्र उद्योगमा बुढो बाघको नामले चिनिएका अभिनेता भुवन केसी त झन् पारपाचुके गर्ने कलाकारको पर्याय नै हुन् । चलचित्रको पर्दामा आदर्श प्रेमी, आदर्श श्रीमान् र आदर्श बाबु बनेका नायक केसीले पहिलो र दोस्रो श्रीमतीसँग डिभोर्स गरिसकेका छन् । भुवनले सुस्मिता बमजनसँग विवाह गर्नुअघि विजया मल्लसँग पारपाचुके गरेका थिए । अहिले विजया, सुस्मिता र भुवन आ–आफ्नो बाटो लागेका छन् । भुवन केसीसँग लिभ–इन रिलेसनमा बस्दा बस्दै अभिनेत्री सुष्मिताको कोखबाट जन्मिएका अनमोल केसी नेपाली चलचित्र उद्योगमा अहिले स्थापित भई सकेका छन् । भुवन र सुष्मिता बिच सन् २००१ मा डिभोर्स भयो । सुष्मिताले अस्ट्रेलियाका व्यापारी किलन स्वामीसँग विवाह गरिसकिन् भने भुवन पुनः नायिका जिया केसीसँग लिभ–इनमा छन् ।
करियरमा सफल, वैवाहिक सम्बन्ध असफल
रङ्गमञ्चको सफल यात्रापछि विवाह गरेर पनि पारपाचुकेपछिको जीवन भोगिरहेकी कलाकार हुन् अभिनेत्री मनीषा कोइराला । उनको वैवाहिक जीवन पनि उनको चलचित्रका पर्दामा देखिएका क्षणिक प्रेम कथा जस्तै केही वर्ष मै चकनाचुर भयो । सम्राट दाहालसँग छुट्टिएर क्यान्सर सर्भाइभर कोइराला अहिले अभिनयको अलावा महिला अधिकार, महिला हिंसाको रोकथाम र मानव बेचबिखन रोक्न विभिन्न सङ्गठन मार्फत काम गरिरहेकी छन् ।
गौरी मल्ल नेपाली चलचित्र उद्योगमा अभिनय क्षमताका कारण स्थापित नाम हो । तर अभिनयकै दौरानमा प्रज्जवल भण्डारीसँग विवाह गरेकी गौरीले विवाह लगत्तै देश छाडिन् । केही वर्ष दुवै जना अमेरिकामा बसे । तर गौरी अमेरिका बसेर फर्किए लगत्तै प्रज्जवलसँग सम्बन्ध विच्छेद भयो ।
अहिले ग्रिन कार्ड कै लागि अमेरिकामा गएर सन्तान जन्माएको आरोप खेपी रहेकी अभिनेत्री रेखा थापा नेपालकै सर्वाधिक चर्चित चलचित्र निर्देशक तथा निर्माता छविराज ओझाको तेस्री श्रीमती भएर भित्रिइन् । करिब एक दशक छविसँगै बसेर सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गरिसकेकी छन् ।
छविले तत्कालै आफ्नो छोरीको उमेर सरहकी अभिनेत्री शिल्पा पोखरेलसँग चौथो विवाह गरे । छविको चौथो श्रीमती बनेकी नायिका शिल्पा पोखरेललाई छविले कानको जाली फुट्ने गरी पिटेको बताउँदै उनले प्रहरीमा उजुरी हालिन्, मिडियामा रुवाबासी गरिन् र प्रेमबाट सुरु भएको यिनको पहिलो वैवाहिक सम्बन्ध अदालत पुगेर सकियो ।
सुरज चन्दसँग सम्बन्ध विच्छेद गरेर अमेरिका पलायन भएकी अभिनेत्री पूजा चन्दले अमेरिकामै एन्जल्स ब्यान्डका गायक राजु लामासँग विवाह गरेकी छन् । निर्देशक श्याम भट्टराईसँग विवाह गरेर अमेरिका पसेकी अभिनेत्री रञ्जना शर्माले श्यामसँगको सम्बन्ध तोडिन् ।
अभिनेता आकाश शाहसँग पारपाचुके गरेर अभिनेता निखिल उप्रेतीको कान्छी श्रीमती बनेकी सञ्चिता लुइँटेल अर्को प्रतिनिधि पात्र हुन् । जसले सुरुमा आकाश शाहसँग प्रेम विवाह गरेकी थिइन् । धन विक्रम मल्लसँग पारपाचुके गरेकी मौसमी मल्ल, शङ्कर क्षेत्रीलाई छाडेर बसेकी लोक तथा दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ यस्तै पारपाचुकेको बाटो रोज्ने कलाकार हुन् ।
गायक धिरज राई अहिले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विश्वव्यापी सन्देश लिएर घुमी रहेका छन् । जसले ‘डायरी’ चलचित्रकी निर्माता एवं नायिका छुल्ठिम गुरुङसँग प्रेम विवाह गरेका थिए । तर ‘नोभेम्बर रेन’ बाट चर्चामा आएकी छुल्ठिमले दुई वर्ष मै गायक राईलाई छाडिन् ।
अमेरिका बस्दै आएका इन्जिनियर आशिष गेलालसँग लगनगाँठो कसेकी नायिका वर्षा सिवाकोटीको पहिलो विवाह एक वर्ष पनि टिक्न सकेन । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
सन् २०११ मा आकृति राणासँग पारपाचुके गरेर अमेरिका पलायन भएका गायक यम बरालले गुपचुप गीता सिवाकोटी उर्फ गीताञ्जली शर्मासँग बिहे गरे । गायन क्षेत्रमा स्थापित बराल अमेरिकी नागरिक बनिसकेका छन् भने गीता काँग्रेस राजनीतिमा क्रियाशील छिन् ।
धेरैको जीवनमा मेल खाने माया प्रेमका गीत गाएका गायक रामकृष्ण ढकालले २०७६ साल मै निलम शाहसँग डिभोर्स गरेको चर्चा बाहिर आएको हो । १७ वर्षको वैवाहिक जीवन यात्रा अदालतमा पुगेर टुङ्ग्याएका ढकाल र शाहको सम्बन्ध कसरी चलिरहेको छ भन्ने विषयमा दुवै खुलेका छैनन् । किनकि ढकाल बेलाबखत अहिले पनि श्रीमती निलम शाह र छोरी रानी ढकालसँग देखिने गरेका छन् । तर, जिल्ला अदालत काठमाडौँमा २०७६ पुस ८ गते निलम शाह ढकालले काठमाडौँ महानगरपालिका वडा नम्बर २ निवासी रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर सम्बन्ध विच्छेदको मुद्दा हालेको थिइन् । पुस १० गते न्यायाधीश विदुर कोइरालाको इजलासमा यसको सुनुवाइ भएको थियो ।
अर्की नायिका सिम्पल खनाल, झरना बज्राचार्य, सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु विष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत जस्ता डिभोर्स गर्ने कलाकारको सूची निकै लामो भई सकेको छ । जो अधिकांश कलाकार कै रूपमा विदेश गएका छन् र उतैबाट पारपाचुके गरेर अर्को बिहे गरेर बसेका छन् । यसरी पारपाचुके गर्ने, दोस्रो तेस्रो विवाह गर्ने अथवा पारपाचुकेपछि विवाह नै नगरी बस्ने कलाकार अरू धेरै छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
- ब्रह्मपुत्रमा बाँध: पानी युद्धको बीज रोप्दै बेइजिङ
- ओलीको चीन भ्रमण: ऋणको पासो की अनुदानको आशा ?
- सङ्क्रमणकालीन न्यायको प्रश्नमा द्वन्द्व पीडितको शङ्का: हाम्रो घाउ फेरि बल्झिन सक्छ !
- नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास
- १२ महिनामा प्रचण्ड सरकारको १२ धक्का
- जुर्मुराउदा ती प्रचण्ड र शिथिल यी पुष्पकमल
- बीआरआईको त्रास: श्रीलङ्का र पाकिस्तान बन्ने की इटाली !
- विशेष खोज: शङ्का र स्वार्थमा जेलिँदै एमसीसी परियोजना
- प्रतिशोधको भड्खालोमा जकडिएको चीनको सी–सत्ता
- सीमा अतिक्रमण : कालापानीमा भारत र तातोपानीमा चीनको ज्यादती, भोटेकोशीको बस्ती नै उठ्दै