
चन्द्रकान्त खनाल/रूपन्देही
गुल्मीको रुरु, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुलको सबै काम सकिए पनि गाउँपालिकाले सार्वजनिक शौचालय थप गर्न खोज्दा उद्घाटन काम रोकिएको छ। १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त पुल विगत केही महिनादेखि उद्घाटनको प्रतीक्षामा छ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भन्नु भयो, “पुल निर्माण सम्पन्न भएको छ तर हामीले केही नयाँ बनाउन स्थानीय पूर्वाधार विभागअन्तर्गतको झोलुङ्गे पुल शाखासँग आग्रह गरेका छौ। सोलारको बत्ती रहेछ हामीले त्यसमा बिजुलीको बनाउनु आग्रह गरेका छौ।”
अध्यक्ष यदु ज्ञवालीले भन्नुभयो, “यो पुलमा लाइट्निङको राम्रो व्यवस्था गरियो भने लन्डन ब्रिजमा जस्तै झकिझकाउ बनाउन सकिन्छ त्यो बनाउन आग्रह गरेका छौ। अर्को पुलमा हामीले शौचालय बनाउन भनेका छौ । यी कुरा पहिले थिएन। सके तीनै तर्फ नभए दुईतर्फ भएपनि शौचालयको आवश्यकता हामीले देख्यौ अनि विभागलाई अनुरोध गरेका छौ।”
पुललाई तीनतर्फ जोड्नका लागि बीचमा ठुलो पिल्लर रहेको छ त्यसमा हामीले पसल राख्ने व्यवस्था मिलाउने पनि आग्रह गरेका छौ जुन हामीले पुलमा आउने जाने आन्तरिक तथा वाह्य पर्यटकका लागि गुल्मीमा उत्पादन भएको गुड, कफीलगायतका स्थानिय उत्पादनलाई प्रोसाहन साथै प्रबर्द्धन गर्न खोजेका छौ।
उक्त पुलमा काम गर्ने निर्माण व्यवसायी करनजित बर्माले भन्नुहुन्छ, “निर्माणको काम सुरु गरेको ८ वर्षमा हामीले तीनमुखे पुलको निर्माण सकेका छौं। कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको हो,” व्यवसायी बर्माले भन्नु भयो।
“अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घाटन गर्ने दिनको प्रतीक्षामा छौं,” उहाँले भन्नु भयो।
तीनमुखे झोलुंगे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डिभञ्ज्याङलाई जोडेको छ।
पुलको काम सकिएपछि उक्त स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्याङ्जाका स्थानीय रामप्रसाद कोइरालाले बताउनु भयो। “केही वर्ष पहिले हामी डुंगामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो। तीनमुखे पुलले अहिले हामीलाई निकै राहत पुगेको छ,” उहाँले भन्नु भयो। तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने कोइरालाको भनाई छ। पुल उद्घाटनपछि अझै पर्यटकको घुइँचो लाग्ने भन्दै स्थानीय कोइरालाले आफूहरु उद्घाटनको प्रतीक्षामा रहेको वताउनु भयो।
गुल्मीका रुरु गाउँपालिका बलेटक्सारका गोकर्ण प्रकाश ज्ञवालीले भन्नुभयो, “तीनमुखे पुलका कारण आवतजावतमा सहज र पर्यटकको घुइँचो लागिरहेको छ। उक्त नमुना पुलले गुल्मेलीलाई धेरै राहत मिल्नेछ।” पाल्पाका स्थानीय कृष्ण प्रसाद गैरेले पुलका कारण तीन जिल्लाको पनि सम्बन्ध नजिकिएको बताउनुभयो। सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल भएको भन्दै पाल्पाका स्थानीय गैरेले नमुना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो।
नेपालका ४ धाममध्ये एक रुरु धाममा नमुना झोलुंगे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय उत्साहित बनेका छन्। पुलको शिलान्यास २०७१ मंसिर १५ गते संविधानसभा सदस्य डा. चन्द्र भण्डारी र तात्कालिक मुख्य सचिव लिलामणि पौडेलले गर्नु भएको थियो। उक्त पुल २०७१ मङ्सिरदेखि बन्न सुरु भएर केही महिनाअघि मात्र निर्माण सकिएको हो।
तीन जिल्ला जोड्ने पुल कुल ९ करोड ८८ लागतमा निर्माण सकिएको हो। कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ। पुलमा २५ मिटर उचाइ सहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन्। कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको बताउनुभयो।
तीन जिल्लाका तीन स्थानीय तह गुल्मीको रुरुक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गरिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो। “सडक विभागसँग समन्वय गरेर हामी तीन स्थानीय तहको सल्लाहमा छिट्टै उद्घाटनको तयारीमा छौं, अध्यक्ष ज्ञवालीले भन्नुभयो। कालीगण्डकीको सामिप्यमा रहेको रुरु क्षेत्रको वारी पारी र गुल्मी र स्याङ्जा मुखामुख गरेका छन्। उनीहरूको बीचमा पाल्पाले मुस्कान छाडिरहेको छ” अध्यक्ष ज्ञवालीले भन्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग
- पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म
- तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने
- दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
- ६ अर्ब १८ करोडको लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल बन्ने
- लुम्बिनीमा सबैभन्दा बढी मातृ मृत्युदर
- ‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट
- गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट
- धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
- लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना
