हामीले साउदी वा साउदी अरब भन्ने खाडी राष्ट्र साउदी अरेबिया अधिराज्य ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको मुलुक हो। नेपालले साउदी अरेबियासँग सन् १९७७ मा द्विपक्षीय सम्बन्ध स्थापना गरे देखियता उक्त सम्बन्धलाई व्यापार, पर्यटनसहितका क्षेत्रमा अझ विस्तार गर्नमा जोड दिइएको छ। साउदी अरेबियासँगको सम्बन्धलाई सुमधुर बनाउने तथा त्यहाँ कार्यरत नेपालीका समस्यालाई सम्बोधन गर्ने जिम्मेवारी हाल साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीको काँधमा आएको छ। गत चैत्र २४ गतेको मन्त्रिपरिषद् बैठकले नवराज सुवेदीलाई साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो। गत ६ महिनादेखि साउदी अरेबियामा नेपालको प्रतिनिधित्व गर्दै आउनु भएका राजदूत सुवेदीले यसअघि प्राध्यापक, कानुन व्यावसायी तथा प्रतिनिधिसभा सदस्य रहेर देशका विविध पक्षहरूलाई नजिकबाट नियाल्दै ति क्षेत्रहरूमा आफ्नो यथासक्क योगदान दिनुभएको छ। साउदी अरेबियासँग नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तारमा केन्द्रीत सुवेदी साउदी अरेबियामा रहेका ३ लाख १३ हजार नेपालीहरूका अभिभावक बनेर उनीहरूका श्रम सम्वन्धी समस्या समाधानमा समेत सक्रिय रहनुभएको छ। २०१९ बैशाख १० गते प्यूठान जिल्लाको टारी गाउँमा जन्मिनुभएका भएका सुवेदीले दिल्ली विश्वविद्यालयबाट सन् १९८९ मा कानुनमा स्नातकोत्तर गर्नुभएको छ। साथै उहाँले २८ वर्ष अघि प्यूठान जिल्लाबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भई दुई कार्यकालसम्मको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो भने परराष्ट्र सम्बन्ध र मानवअधिकार समितिको सदस्यका रुपमा दश वर्ष काम गर्नुभएको थियो। नेपाल र साउदी अरेबियाबीचको कूटनीतिक सम्बन्ध थप उचाइमा पुर्याउन तथा साउदी अरेबियामा रहेका नेपाली श्रमिकको अभिभावकत्व निर्वाह गर्न राजदूत सुवेदीले गरेका कार्य तथा अनुभवका सम्बन्धमा आइएनएस स्वतन्त्र समाचारको लागि तारा वाग्लेले गरेको कुराकानीः
राजनीतिमा सक्रिय भैरहेको बेला कूटनीतिक क्षेत्रमा आउनुभयो, उल्लेखनिय संयोग पक्कै होला, हाल कार्यरत रहेको क्षेत्रको कार्यअनुभव कस्तो रहेको छ?
मैले २०५१ साल देखि सार्वजनिक पदमा रहेर काम गर्न पाएँ। मेरो वचपनको परिवेश, गुरुहरूको शिक्षा र समाज परिवर्तन प्रतिका मेरा अग्रजहरूको साधनाका कारण निरकुंश, अलोकतान्त्रिक शासन कतै पनि टिक्न सक्दैन भन्ने दह्रो विश्वास म मा थियो,त्यसैले मैले धेरै पटक विभिन्न चुनौति र अप्ठेराहरू भोगेर पनि समानता,स्वतन्त्रता र न्यायपूर्ण समाज स्थापना गर्ने अभियानमा लागे। त्यसै संकल्पले म सुरुमा विद्यार्थी राजनीति, तत्पश्चात वुद्विजीवी संघको केन्द्रिय पदाधिकारी हुँदै प्रतिनीधिसभा सदस्यमा २०५१ सालमा प्यूठान जिल्लाबाट निर्वाचित भए र २०५६ मा म दोहोर्याएर फेरि लडे र जिते। मलाई निरंकुश र अलोकतान्त्रिक शासन विरुद्ध लोकतन्त्र,समाजवाद,समृद्वि र सुशासनका पक्षमा उभिने मूल प्रेरणा मुक्ति माध्यमिक विद्यालय,रातामाटाका गुरुहरू,मेरा अग्रजहरूवाटै प्राप्त भएको हो। कुटनीतिक क्षेत्र राजनीतिबाट अछुतो छैन। तर राजनीति कहिलेकाही मूठभेडसम्म पुग्छ। कुटनीतिमा भने मतभेदहरू भएछन् भने पनि सिष्ट रुपमै व्यक्त गरिन्छ र फेरि भेट भएर समाधान दिने संकल्प सहित सौहार्दतापूर्वक उठिन्छ। कुटनीति राष्ट्र,समुह र व्यक्तिबीच शान्तिपूर्ण सम्बन्ध कायम गर्ने कला वा विज्ञान हो। राजदूतले देशकै प्रतिनीधित्व गरेर वोल्दछ र व्यक्त गर्दछ। तौलि तौलिकन तर सम्पूर्ण आत्मविश्वास सहित व्यक्त गर्ने काम राजदूतको हुन्छ। आजको कुटनीति बहुआयामिक छ जस्तै राजनीतिको अलावा आर्थिक,सांस्कृतिक,बाणिज्यगत र श्रम कुटनीति आदि। आजको हाम्रो उत्पादनसम्बन्ध र देशको अवस्थाले राजदूतको कार्यभारलाई प्रभावित गर्दछ। म जून देशमा पुगेको छु ,यो हाम्रो लागि एउटा महत्वपूर्ण श्रम गन्तव्य हो, अन्य कुराका अतिरिक्त आजको विश्वमा श्रमको स्थिति,श्रमको मूल्य ,श्रमिक वर्गको सेवा,सुरक्षा र सुविधा कसरी प्राप्त हुन सक्छ भन्ने मेरो कुटनीतिक कामको एउटा विषय हो। काम गरिदै छ र सिकीदै छ। त्यसो गरेर नै समृद्ध हुँदै जाने हो। सिक्ने र शिक्षा लिने काम एक निरन्तर प्रकृया हो। फेरि पनि कुनै मुलुक उस्को आफ्नै गतिमा हुन्छ। राजदूतको गन्तव्य मुलुकको अवस्था,स्थिति के छ भन्ने कुराले पनि दुवै देशको कुटनीतिलाई निर्धारित गर्दछ वा प्रभावित पार्दछ। म कार्यरत रहेको मुलुक साउदी अरेबिया तिव्र आर्थिक विकाशको गतिमा छ। यस्को अधिकतम् लाभ हामीले पनि लिने प्रयत्न जारी छ।
राजदूतमा नियुक्त भएदेखि हालसम्म के के महत्वपूर्ण कार्यहरू गर्नुभयो ? खासगरी, आम चासो रहने विषय तथा त्यहाँ कार्यरत नेपाली नागरिकको हकहितका लागि गरेका उल्लेखनिय कार्यहरू कस्ता छन् ?
मैले केही कुरा भर्खरै पनि उल्लेख गरे। लामो समय झण्डै १५ महिना साउदी अरेबियामा राजदूत पद खाली थियो। राजदूतको तहबाट हुने सम्पर्क, सम्बन्धमा केही कमि यस विचमा आउनु स्वभाविक थियो, यद्यपी दुतावासका कर्मचारी साथीहरूले आफ्नो तहबाट पनि अधिकतम गर्नु नै भएको थियो। तैपनि,राजदूत हुनु—नहुनुको मिशनमा अन्तर पर्छ नै। आखिर गन्तव्य देशलाई हाम्रो आफ्नो कुरा मूलतः राजदूतले नै सम्प्रेषण गर्दछ। म पद वहाली भएपछि नेपालका श्रमिक दाजुभाईहरूका वेतनका समस्या ,क्षतिपूर्तीका समस्या, मृतकका शव फर्काउने समस्या, विभिन्न कारणले इलिगल (गैरकानुनी) भएर बस्नु परेका समस्या, सिकीस्त र कोमामा रहेर दशकभन्दा बढी साउदी अस्पतालका बेडमा विताएका विरामीका समस्या आदी समस्याहरू थिए। ती मध्ये कतिपय हल गरिएका छन्,कतिपय हल हुने क्रममा छन्। खासगरि लामो समय कोमामा रहेका विरामीहरूलाई वैदेशिक रोजगार वोर्ड र परराष्ट्र मन्त्रालयको सहयोगमा हामिले फिर्ता गरेका छौ। साउदीका ठुला कम्पनिका स्वामीहरूसँगको भेटमा न्युनतम मानवोचित सुविधा र नेपाल सरकारले निर्धारण गरेको न्यूनतम वेतन अनिवार्य उपलव्ध गराउन उनीहरूलाई नीरन्तर सचेत गराएका छौ। साउदी अरेवियाका विभिन्न मन्त्रालय, विभागहरूमा हाम्रा सरोकारका विषय पुर्याईरहेका छौँ। नेपाल र साउदी सरकार बीच परराष्ट्र मन्त्रीस्तरमा गतवर्ष भएको सामान्य सहयोग सम्झौता (GCA) लाई दुई पवित्र मस्जिदका संरक्षक एवं राजा सलमान वीन अब्दुलाजिज अल साउद स्वयमले नेतृत्व गर्नु भएको क्याविनेटबाट हालै अनुमोदन गरिनु एक महत्वपूर्ण उपलव्धी हो। यसले अव श्रम सम्बन्धी विषय मात्र नभएर पर्यटन, शिक्षा,खेलकुद,बन्द व्यापार ,पेट्रोलियम तथा विज्ञान प्रविधिसम्बन्धी खोज अनुसन्धानका क्षेत्रमा समेत द्विपक्षिय वार्ता,छलफल र सम्झौताका ढोका खोलिदिएको छ। अब संयुक्त समितिको बैठक छिटै तोक्ने स्तरमा हामी पुग्दै छौ। साउदीमा रहेका एन.आर.एन.ए. र अन्य सामुदायिक संस्थाहरूसँगको अन्तक्रियाले यस्ता क्षेत्रका संभावनालाई सार्थक तुल्याउने थप सम्भावना बढेको छ।
विदेशमा विना सीप प्रवेश गर्नु पहिले गहिरो नदिमा हाम्फालेर पछि पौडी खेल्न सिक्नु सरह हो। यसो गर्दा डुब्ने सम्भावना पनि त्यत्तिकै रहन्छ, अर्थात ठुलो रिस्क हुन्छ। अझै केही दशकसम्म वैदेशिक रोजगारीलाई हामी रोक्न सक्दैनौ तर यसलाई मर्यादित,नियमित र व्यवस्थित गर्न सक्छौ र गर्नु पर्छ। हाम्रा नीति, योजनाहरूद्वारा सीपमूलक संस्थाहरू व्यापक रुपमा खोल्न ढिलो भएको छ।
पहिलेका राजदूतले ल्याएका नीति कार्यक्रम वा एजेण्डामै केन्द्रित हुनुहुन्छ कि थप योजना वनाउनुभएको छ? कार्यभार सम्हालीसकेपछिका यहाँका प्राथमिकताहरू के के हुन् र कसरी निर्धारण गर्नुभयो?
कुनै पनि काम शुन्यबाट शुरु हुने होइन। मेरा पूर्ववर्तीहरूबाट भएका राम्रा कामहरूको जगमा नै थप काम गर्न म सक्दछु। डिमान्ड प्रमाणीकरणलाई अनलाईन मार्फत पारदर्शी र बैज्ञानिक ढङ्गले बढाउने काम केही अगाडीबाटै थालिएको थियो। त्यसलाई अहिले अझै बढी श्रमिक मैत्री बनाउँदै लगिएको छ र सफ्टवेरमा निरन्तर परिमार्जनको सुझाव दिइएको छ। त्यसैगरी कुटनीतिक भेटघाटलाई तिव्रता दिईएको छ। साउदी उद्यमी, व्यवसायीहरूलाई नेपालमा लगानी गर्न विशेष कार्यक्रम मार्फत आह्वान गर्दैछौ। साउदीको डिप्लोम्याटिक क्वाटर परिसरमा खरिद गरिसकिएको जग्गामा हाम्रो राजदूतावासको भवन निर्माण गर्ने कामका प्रकृया छिट्टै शुरु गर्ने अवस्थामा छौ।
बेरोजगारीको समस्याले आम युवा आक्रान्त छन्। वैदेशिक रोजगारी एक मात्र बाटो भन्ने परेको छ। प्राकृतिक श्रोतको वैज्ञानिक उपयोग जस्तै मानविय श्रोतको पनि उचित र परिणाममुखी व्यवस्थापन हाम्रा लागि गम्भीर चुनौती हो।
नेपालको प्रतिनिधित्व गर्दै विदेशका नियोगहरूमा रहेर जिम्मेवारी निर्वाह गर्ने क्रममा सामना गर्नुपर्ने समस्या चुनौति के छन् ? साथै यस पदमा वहाल रहेपछि प्राप्त गरेका अवसर तथा सफलताका प्रसँगहरू केही छन् कि?
चुनौती हाम्रो अर्थ राजनीतिक अवस्था,उत्पादन प्रणालीबाट शुरु हुन्छ। हामी औद्योगिकरणमा निकै पछि छौ। कृषि अर्थतन्त्रलाई व्यावसायिकरण,आधुनिकीकरण गर्न सकेका छैनौ। यसको असर जहाँकहीँ छ ,असर वजेटमा पनि पर्छ ,पर्याप्त जनशक्ति नहुनुमा पनि पर्छ। कुटनीति प्रवर्द्धनका क्षेत्रमा पनि पर्छ अनि कार्यक्रममा पनि पर्छ। त्यस्तै बेरोजगारीको समस्याले आम युवा आक्रान्त छन्। वैदेशिक रोजगारी एक मात्र बाटो भन्ने परेको छ। तर विदेशमा विना सीप प्रवेश गर्नु पहिले गहिरो नदिमा हाम्फालेर पछि पौडी खेल्न सिक्नु सरह हो। यसो गर्दा डुब्ने सम्भावना पनि त्यत्तिकै रहन्छ, अर्थात ठुलो रिस्क हुन्छ। त्यसैले प्राकृतिक श्रोतको वैज्ञानिक उपयोग जस्तै मानविय श्रोतको पनि उचित र परिणाममुखी व्यवस्थापन हाम्रा लागि गम्भीर चुनौती हो। अझै केही दशकसम्म वैदेशिक रोजगारीलाई हामी रोक्न सक्दैनौ तर यसलाई मर्यादित,नियमित र व्यवस्थित गर्न सक्छौ र गर्नु पर्छ। हाम्रा नीति, योजनाहरूद्वारा अव आम सीपमूलक संस्थाहरू विभिन्न तह (संघ,प्रदेश र स्थानीयतह)मा व्यापक रुपमा खोल्न ढिलो भएको छ। हामीले सेवामूलक क्षेत्रहरू —पर्यटन,शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विदेशी लगानी आकर्षित गर्नु पर्नेछ तर यस्का लागि कार्यक्रम आयोजना गर्ने ,त्यसलाई लागु गर्ने श्रोत साधनहरूको कमी हाम्रो अर्को चुनौती हो। केवल कुराले मात्र हुँदैन, कामबाटै उदाहरण दिनुपर्छ। श्रमको सम्मानको संस्कृति कैयौ विकसित मूलुकमा अगाडी देखिनैछ, हामी भने आफ्नै देशभित्र यो सबैलाई बुझाउन सकेका छैनौ। यस्को सोझो असर नीति निर्माता, हाम्रा संघ संस्था र यीनमा काम गर्ने जनशक्तिको बुझाईमा समेत पर्छ , सेवाग्राहिमा पर्छ ,जताततै हिनतावोध ,कुण्ठा पोखिन्छ। यसरीमात्र हुँदैन,हामी प्रणालीमा कमै चल्दछौ। विधि पद्धतिमा चल्न र श्रमको सम्मान गर्न हामी सबैले जान्नु पर्दछ। यो चुनौती कुनै एक ठाउँका लागि नभएर हामी सबैको लागि हो। कुनै संस्थामा काम गर्ने प्रमुखको सफलता भनेको समस्याको पहिचान त्यस्को व्यवस्थापन, सामुहिक टिम कार्य र नियमित छलफलमा निहीत छ। म आफ्नो नियोगमा त्यसरीनै काम गर्छु। सिमीत श्रोत र साधनका बीच टिमकार्यसहित दिलैदेखि राष्ट्र,जनताको काम गरिरहेको छु। कुटनीतिक,आर्थिक सेवामूलक र सामुदायीक यी चार वटै क्षेत्रमा प्राथमिकता बढाएको छु।
साउदीमा घरेलु कामदारहरू लैजान हामीले निषेध गरेका छौ। तर पनि मानव तस्करहरूले विशेष गरी महिलाहरूलाई विभिन्न अवैध तरिका र बाटोबाट साउदी पुर्याउने गर्दछन्।
साउदी अरेबियामा हाल कति नेपाली कार्यरत छन्? तिनीहरूको अवस्था कस्तो छ र उनीहरूको हितको लागि राजदूतावासले के कस्ता नीति तथा कार्यक्रम ल्याएको छ?
साउदी अरेबियामा अहिले करिव ३ लाख १३ हजार को संख्यामा नेपालीहरू कार्यरत छन्। यो संख्या समय—समयमा हेरफेर भईरहन्छ। ठुलो संख्यामा हाम्रो समुदाय भएकोले साना—ठुला समस्या आईरहन्छन् र तीनको समाधान पनि भईनै रहन्छ। मुख्य समस्या नेपालबाट रोजगारीमा आउनेहरूमा साउदी प्रवेश गर्दा अति जरुरी नियमका बारे प्रष्ट ज्ञान नहुनु हो। अर्को समस्या वैदेशिक रोजगार व्यवसायीले नेपालमा प्रकाशन गर्ने विज्ञापन र यहाँ गर्नुपर्ने वास्तविक काम बीचको तालमेल नहुनु हो। प्रतिकुल मौसम र भाषा आदीका समस्याहरू पनि छन्। दक्षताको अभावमा रोजगारदाताले खोजेको काम नहुने कुरा पनि छन्। साउदीको विशिष्ट किसिमको अध्यागमन र बसोवास सम्बन्धी नियम छ। इकामा (अस्थाई वसोवास कार्ड) बिना साउदीमा कुनै पनि व्यक्ति वसिरहन सक्दैन। त्यो कार्ड बनाउन कम्पनीका तर्फबाट ढिलाई हुनु,कम्पनिले त्यस्तो इकामा बनाउदै नवनाईदिनु, वा रोजगारीमा जानेहरूका तर्फबाट त्यसको म्याद सकिदा थप गर्ने प्रकृयामा नगई लापर्वाही गरिनु जस्ता समस्याहरू पनि छन्। त्यस्तै साउदीमा घरेलु कामदारहरू लैजान हामीले निषेध गरेका छौ। तर पनि मानव तस्करहरूले विशेष गरी महिलाहरूलाई विभिन्न अवैध तरिका र बाटोबाट साउदी पुर्याउने गर्दछन्। समष्टिमा समस्याका रुपहरू विभिन्न प्रकारका छन्। यस्ता समस्या समाधानका लागि दुतावासले आफ्ना तर्फबाट सक्दो काम गरिरहेको छ। आवश्यक परे सम्बन्धीत निकाय र संस्थाहरूलाई लेखेर पठाउने काम पनि गरेको छ। त्यस्तै साउदीका विभिन्न संस्था र निकायमा समेत बारम्वार पुग्ने,छलफल गर्ने र समस्या आउन नदिने प्रयत्न गरिरहेको छ। दुतावासको वेवसाईटमा साउदी आउँदा के गर्न हुन्छ हुदैन भन्ने कुरा पारदर्शी रुपले राखिएको छ। समुदायसँग पनि समय समयमा अन्तरक्रिया गर्ने गरिएको छ।
साउदी अरेबियासँग नेपालको श्रमसम्बन्ध सुमधुर बनाउन, आर्थिक कूटनीति मजबुद बनाउन, तथा पर्यटन प्रवर्द्धन गर्न राजदूतावासले के कस्ता रणनीति अघि सारेको छ?
साउदी अरेबियासँग श्रम सम्झौता गर्ने प्रकृया अगाडी बढीरहेको छ। मस्यौदामा सुझावहरू आदान‐प्रदान भई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा मस्यौदामाथी अन्तिम रुप दिनका लागि परराष्ट्र मन्त्रालय पठाईएको अवस्था हो। हामीले र्आिर्थक कुटनीति अगाडी बढाउने कार्ययोजना पनि बनाएका छौ, साउदीमा मुख्य पत्रपत्रिकामा नेपालको प्राकृतिक सौन्दर्यता र पर्यटन प्रवर्द्धनका सम्भावना वारे अन्तर्वार्ता⁄प्रतिकृया निरन्तर दिई आएका छौ।
काम गर्ने क्रममा भएका नीतिगत, प्रकृयागत तथा प्राविधिक अवरोधका कारण केही अप्ठेरो परिस्थिति आइपरेको छ कि? त्यस अवस्थामा कसरी जिम्मेवारी निर्वाह गर्नुभयो र सरोकारवाला, सहकर्मी वा अन्य तहका पदाधिकारीबाट कस्तो रेस्पोन्स पाउनुभएको छ?
सबैभन्दा ठुलो कुरा प्रर्याप्त श्रोत,साधनको उपलव्धता सम्बन्धी हो। हाम्रो देशको अवस्थाको प्रतिविम्ब हाम्रा सबै संस्थाहरूमा सिधै पर्छ। हामीले यो अवस्था बीच पनि थुप्रै काम गरेका छौ। साधन श्रोत प्रर्याप्त भएमा अझ प्रभावकारी काम हुन्थ्यो भन्ने मात्र हो। देशभित्रका तालुकवाला निकायसँग निरन्तर हुने हाम्रो सम्पर्क र भर्चुअल बैठक आदीबाट सकारात्मक रेस्पोन्स नै प्राप्त छ। तर कहिलेकाहि विभिन्न क्षेत्र र तहबाट यहाँको परिस्थिति ठिक रुपले नबुझेर गरिने टिप्पणी,आलोचनाले हामीलाई आश्चर्य पार्छ, तर यस्तो अवस्थामा पनि हाम्रो संवाद, सम्प्रेषण जारी नै रहन्छ।
नेपाल र साउदी अरेबियाबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन गरिएका प्रयासहरू पर्याप्त छन् वा केही सुधारको खाँचो रहेको पाउनुभएको छ?
प्रकृयागत सवालमा सुधारहरू दुबैतिर आवश्यक छन् ,दुई देश बीचका हाम्रा सहमति⁄सम्झौताहरू छिटो कार्यान्वयन होउन भन्ने सबैको सरोकार हो। साउदी अरेबिया मध्यपूर्वको तिव्रतर आर्थिक विकाश हुँदै गरेको मुलुक हो। हाम्रो कुटनीतिक सम्बन्धको ४५ वर्ष पूरा भएको छ। यो मुलुकसँगको सम्बन्धलाई केबल श्रमसँग मात्र जोडिनु हुदैन। नेपालले साउदी अरेबियासँग बहुआयमिक सम्बन्ध बढाएर जानु पर्छ। यस्ले दुबै देशलाई फाईदा पुग्छ। मैले त्यसै दिशामा निरन्तर जोड दिईरहेको छु।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
तारा वाग्ले का अन्य पोस्टहरु:
- प्रवासी नेपाली श्रमिकको पीडा कसरी कम गर्छ श्रमाधान सेवाले?
- सूचना प्रविधि क्षेत्रमा लगानी सम्मेलनको परियोजना र प्राथमिकता
- आमिरको नेपाल भ्रमणः किन भएन श्रम सम्झौता नविकरण?
- भटाभट खारेज हुँदैछन् वैदेशिक रोजगार क्षेत्रका विवादास्पद प्रावधान, के के भए नयाँ व्यवस्था ?
- सामाजिक सुरक्षा योजना: वैदेशिक रोजगारीमा जाने कामदारको मात्र आकर्षण बढ्यो
- महिला दिवस: एक शताब्दीदेखि उठाइएको छ आवाज, पुग्ला त नीति निर्माताको कानसम्म ?
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता, के के छन् व्यवस्था ?
- अर्को विश्वको सम्भावना खोज्दै सकियो विश्व सामाजिक मञ्चको सम्मेलन, के भयो उपलब्धि ?
- सामाजिक सुरक्षा: श्रमिकहरूको घाउको मलम
- नेपालमा अझै घटेन गरिबी: ५८ लाख जनसङ्ख्या गरिबीको रेखामुनि