रुसमाथि थरिथरिका प्रतिबन्ध

आशुतोष अधिकारी

रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको बाह्रौ दिन भएको छ। रुसको यो कदमको विरोधमा सारा विश्वले आवाज उठाइरहे तापनि युक्रेनलाई साथ दिएर रुसविरुद्ध युद्ध लड्नका लागि भनेरै कुनै देश वा समूह सोझै युद्धमैदानमा होमिएको छैन। सोझै हतियार उठाएर रुसको विरुद्ध लड्ने काम कुनै शक्तिराष्ट्र वा समूहले आजका दिनसम्म नगरे पनि रुसमाथि अन्य विभिन्न किसिमका प्रतिबन्ध लगाएर उसलाई एक्ल्याउने प्रयासमा भने सबै पक्ष एक भएका छन्। युक्रेनमाथि सैन्य कारवाही थालेयता रुसमाथि कुन–कुन राष्ट्र, संघ–संस्था वा कम्पनीहरूले कस्ता–कस्ता विषयहरूमाथि प्रतिबन्ध लगाए त?

रुसको सबैभन्दा ठूलो टाउको दुखाइको विषय पश्चिमा मुलुकहरूले उमाथि लगाइरहेको विभिन्न तरिकाका आर्थिक प्रतिबन्ध बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति जे. वाइडेनले रुसका प्रमुख दुई बैँकमाथि प्रतिबन्ध लगाएका छन् जसको सीधा सम्पर्क क्राइमिया र रुसी सेनासँग रहेको बताइएको छ। बेलायतले रुसका प्रमुख पाँचवटा बैंकमाथि प्रतिबन्ध लगाइसकेको छ भने रुसी राष्ट्रपति पुटिनका विशेष सहयोगी जेन्नाडी टिमचेन्को र अन्य दुई रुसी अर्वपति इगोर र बोरिस रोटेनवर्गको ब्रिटेनमा भएका सम्पूर्ण चलअचल सम्पत्ति फ्रिज गरिएको छ। रुसले युक्रेनविरुद्धको युद्ध तत्काल नरोके रसियन कम्पनीहरूको अमेरिकी डलर र ब्रिटिस पाउण्डमाथिको पहुँचलाई नै खत्तम गरेर संकटमा पारिदिने चेतावनी बेलायतले रुसलाई दिएको छ।

जेन्नाडी टिमचेन्को

त्यस्तै जर्मनीले नोर्ड स्ट्रीम टू परियोजनाको पाइपलाइन प्रमाणीकरण गर्ने प्रक्रिया तत्काललाई स्थगित गरिएको बताएको छ। जर्मनीको बाटो भएर रसियन ग्यासलाई पाइपलाइन मार्फत युरोपेली देशहरूमा पुर्‍याउने यो परियोजना रोकियो भने रुसले आर्थिक रुपमा ठूलो घाटा ब्यहोर्नुपर्ने देखिन्छ।

क्यानडा र अष्ट्रेलियाले समेत रुससँगको हवाई यात्रा र केही रुसी बैकहरूमाथि प्रतिबन्ध लगाइसकेका छन्। यी दुवै देशले स्पष्ट शब्दमा रुसको कदमको आलोचना गर्दै आगामी दिनमा उसले चाल्ने कदमलाई हेरेर प्रतिबन्ध बढाउँदै लगिने प्रतिक्रिया दिएको छ। जापानले पनि रुसमाथि आर्थिक प्रतिबन्धहरू लगाइने र तत्काल युद्ध नरोकेमा केही सीमित रुसीहरूको जापानमा रहेको सम्पत्ति जफत गरिने बताइसकेको छ। जापानजस्तै ताइवान र न्युजिल्याण्डले पनि रुसको बैकिङ क्षेत्र, सैन्य आपूर्ति र तेल र ग्यास रिफाइनरीलाई निशाना बनाएर विभिन्न किसिमका प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले लगाएको हवाई प्रतिबन्धका कारण पनि रुसी नागरिकहरूले धेरै समस्याको सामना गर्नुपर्ने देखिएको छ। युक्रेनको भूमिमा रुसी सैन्य प्रवेश गरे पछि सबैभन्दा पहिले युरोपियन युनियनले रसियन वायुसेवाका कुनै पनि जहाजलाई आफ्नो युनियनअन्तर्गतका कुनै पनि राष्ट्रको हवाई मार्ग प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो। युरोपियन युनियन पछि युरोपकै अर्को शक्तिराष्ट्र बेलायतले पनि रुसमाथि हवाई प्रतिबन्ध लगायो। रुसको राष्ट्रिय ध्वजावाहक “एरोफ्लट”को कुनै पनि विमानलाई बेलायतको आकाशमा उड्न प्रतिबन्ध लगाइयो। यसका साथै हवाइजहाज निर्माण गर्ने दुई प्रमुख कम्पनी बोइङ र एयरबसले पनि रसियन एयरलाइन्सहरूलाई उपलव्ध गराउँदै आएको सेवा बन्द गरिएको र रसियन एयरलाइन्सहरूमा स्पेयर पार्टसहरूको निर्यातमा पनि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ। आफ्नो देशको हवाई सेवामाथि पश्चिमा मुलुकले पूर्ण रूपमा प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरुप रुसले पनि विभिन्न ३६ देशमाथि हवाई प्रतिबन्ध लगाएको छ।

बोरिस रोटेनवर्ग

आइफोन निर्माण गर्ने अमेरिकी कम्पनी एप्पल र कम्प्युटर निर्माता माइक्रोसफ्टले रुससँगको आफ्नो सबै किसिमको व्यापारलाई स्थगित गर्ने निर्णय गरेको केही समयभित्रै रुसमा स्मार्ट फोनको सबैभन्दा ठूलो कारोवार भएको सामसंग मोवाइलले पनि त्यहाँ आफ्नो उत्पादनको बिक्रीवितरण बन्द गरिएको जानकारी दिएको छ। त्यस्तै मेटा, इन्टेल, डेल टेक्नोलोजिज, ओराकल कर्प आदि संसारका प्रमुख टेक्नोलोजी कम्पनीहरूले पनि रुसबाट आफ्नो सेवा तत्कालका लागि बन्द गरेका छन्। सोसल मिडिया प्लाटफर्म फेसबुक र ट्वीटरका साथै युट्युवले पनि रुसको सरकारी कन्टेन्टहरूलाई नियन्त्रण गरिने र रसियन सरकारी समाचार संस्था आरटी र स्पुतनिकलाई युरोपियन युनियनको पहुँचबाट बाहिरै राखिने बताएको छ।

त्यसअघि नै विश्वप्रसिद्ध फेसन कम्पनी जाराले रुसमा भएका आफ्ना ५ सय शाखाहरूका साथै सम्पूर्ण अनलाइन कारोवार समेत बन्द गरिदिएको थियो। एडिडास, नाइके र पुमाजस्ता विश्वप्रसिद्ध खेलकुद ब्राण्डले पनि रुसमा आ–आफ्ना स्टोर र कमर्शियल अपरेसनहरूलाई तत्कालका लागि स्थगित गरिसकेको छ।

इगोर रोटेनवर्ग

उर्जाको क्षेत्रमा पनि रुसले ठूला कम्पनीहरूको प्रतिबन्धको सामना गर्नुपर्ने देखिन्छ। फ्रान्सको तेल र ग्यास कम्पनी टोटल इनर्जीले रसियन परियोजनामा गरिरहेको सम्पूर्ण लगानीलाई स्थगित गरेको छ भने ब्रिटिश पेट्रोलियमले पनि रसियन तेल कम्पनी “रोजनेफ्ट”मा गरेको झण्डै २० प्रतिशत लगानीलाई तत्कालका लागि रोकिदिएको छ। अमेरिकाको एक्जोन, नर्वेको इकुइनोर, अर्को प्रसिद्ध तेल कम्पनी शेलले पनि रुसमा गरिरहेको लगानी र सेवालाई तत्कालका लागि बन्द गरिएको जानकारी दिइसकेको छ।

संसारभरका प्रमुख मोटर निर्माता कम्पनीहरूले पनि रुसबाट आफ्नो सेवा बन्द र कटौति गरेको समाचार छ। रसियन मोटर उत्पादक कम्पनी कामाजमा १५ प्रतिशत लगानी रहेको जर्मनीको मर्सिडिज बेन्जले सो लगानी फिर्ता लैजाने निर्णय गरेको छ भने अमेरिकन कम्पनी फोर्डले पनि रुसमा रहेको आफ्नो सम्पूर्ण अपरेशन बन्द गरिएको बताएको छ। जनरल मोटर्स, स्वीस कम्पनी भोल्भो, जापानको मित्सुबिसि र होन्डा, जग्वार, बीएमडब्ल्यु लगायतका प्रमुख मोटर उत्पादकहरूले रुसमा आफ्नो उत्पादनको निकासी र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन्।

युक्रेनमाथि सैन्य कारवाही थालेपछि संसारभरका खेल संस्थाहरूले रुसमाथि प्रतिबन्ध लगाएका छन्। फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको युइएफएले रुसमाथि अनिश्चितकाल सम्मका लागि प्रतिबन्ध लगाएका छन्। यो प्रतिबन्ध अनुसार रुसको राष्ट्रिय टोलीका साथ–साथै क्लवहरू समेत सबैखाले प्रतियोगिताबाट प्रतिवन्धित भएका छन्। योसँगै रुसले आगामी मार्चमा हुने विश्वकप छनौटअन्तर्गत पोल्याण्डविरुद्ध हुने प्ले अफ खेल गुमाउने छ भने रुसी क्लव स्पार्टक मस्को युरोपा लिगबाट बाहिरिनेछ। युइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्धसमेत तोडेको छ। गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको एक प्रमुख प्रायोजक हो। युइएफएको यो प्रतिबन्धसँगै आगामी मे २८ मा रुसको सेन्ट पिर्सवर्गमा हुने तय भएको च्याम्पियन्स लिगको फाइनल अब पेरिसको स्टेट डे फ्रान्समा खेलाइने छ।

त्यसमाथि अन्तर्राष्ट्रिय डोपिङ संस्था वाडाले समेत रसियन खेलाडीहरूमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि रुसले यसै वर्ष हुने विश्वकप समेत गुमाउने सम्भावना बढेको छ। त्यस्तै विन्टर पाराओलम्पिक कमिटिले समेत प्रतिबन्ध लगाएपछि रुस र बेलारुसका खेलाडीले मार्च ४ बाट चीनको बेइजिङमा शुरु भएका प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएका छन्। विश्व खेलकुदको सवोच्च निकाय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले समेत विश्वभरका खेलकुद संस्था र आयोजकहरूलाई रुस र बेलारुसका खेलाडीहरूमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको छ। त्यसको प्रतिक्रियास्वरूप बास्केटबल, टेनिस, स्वीमिङ, ब्याडमिन्टन, रग्बी, जूडो, तेक्वान्डो, फेन्सिङ लगायत थुप्रै खेलसंस्थाले रुसमाथि प्रतिबन्ध लगाइसकेका छन्।

एशियाका शक्तिशाली राष्ट्रहरू चीन, भारत र पाकिस्तानले रुसको कदमलाई गलत बताए पनि ऊविरुद्ध अहिलेसम्म कुनै किसिमको प्रतिबन्धको घोषणा गरेका छैनन् भने ब्राजिल, मेक्सिको र दक्षिण अफ्रिकाले भने रुसमाथि कुनै किसिमको प्रतिबन्ध नलगाउने घोषणा गर्दै रुसको यो कदमलाई समर्थन दिएका छन्।  (श्रोत: INS NEWS-स्वतन्त्र समाचार)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link