वीरगन्ज महानगरको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भयो : वडाध्यक्ष चौरसिया

अनिल तिवारी

वीरगन्ज महानगरपालिका जनप्रतिनिधिको शपथग्रहणका बेला पूर्वमन्त्री प्रदीप यादवले भन्नुभएको थियोे, ‘महानगरपालिकाको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भएको छ। यसका प्रमुख अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरको विकास कुनै हालतमा हुन सक्दैन। नगरप्रमुखको पहिलो दायित्व अरविन्दलाल कर्णको सरुवा गर्नु हुन्छ।’

यादवले अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरपालिकाको शैक्षिक महाशाखाको अवस्थामा कुनै प्रगति नहुने दाबी गर्नुभएको थियो।

यता वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष प्रदीप चौरसियाले पनि शैक्षिक प्रशासन महाशाखा भ्रष्टाचारको अखडा भएको आरोप लगाउनुभएको छ। नगरप्रमुखले शिक्षा क्षेत्रमा राम्रो काम गर्ने प्रयास गरे पनि अरविन्दलाल कर्णलगायतका शैक्षिक महाशाखाका कर्मचारीको कमिसनतन्त्रले महानगरको शिक्षालाई धरापमा पारेको उहाँको दाबी छ। ‘शिक्षकको नियुक्तिदेखि सरुवा तथा बजेट निकासा सबैमा कमिसन लिने–दिने गरिएकोले शिक्षा ध्वस्त बन्दै गएको हो,’ उहाँले भन्नुभयो।

वीरगन्ज महानगरपालिकाले रिक्त दरबन्दीमा स्वयंसेवी शिक्षक नियुक्त गर्दा महाशाखा प्रमुख कर्णले रकम लिएर असक्षम व्यक्तिलाई नियुक्ति दिएको वीरगन्ज महानगरपालिका वडा नंं ५ का वडाध्यक्ष चौरसियाको आरोप छ।

महानगरले वीरगन्जका चारवटा माध्यमिक विद्यालयमा अनिर्वाय अंग्रेजी माध्यममा पढाउन तथा अन्य विद्याललयमा समेत शिक्षकको अभाव भएको भन्दै १८० जना स्वयंसेवक शिक्षक भर्ना गरेको छ। स्वयंसेवी शिक्षक नियुक्तिमा महाशाखा प्रमुख कर्णले रकमको चलखेल गरी कमजोर शिक्षकलाई समेत नियुक्त गरेको वडाध्यक्ष चौरसिया बताउनुहुन्छ।

सरकारले तोकेको तलब स्केलको ५० प्रतिशत कम पारिश्रमिक दिने सर्तमा महानगरपालिकाले १८० जना स्वयंसेवक शिक्षक नियुक्त गरेको छ। महानगरले आधारभूत तहतर्फ १०६ जना र माध्यामिक तहमा ७४ जना शिक्षक भर्ना गरेको छ। आधा तलब लिएर काम गर्ने सर्तमा नियुक्त भएका शिक्षकसँगसमेत न्यूनतम एक लाखसम्म घुस मागिएको वडाध्यक्ष चौरसियाको आरोप छ।

मेयर राजेशमान सिंहले शिक्षा क्षेत्र सुधारका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष कार्यक्रमको योजना ल्याएको तर महाशाखा प्रमुखको गलत प्रवृत्तिले मेयरको योजनालाई समेत असफल पार्ने अवस्था देखिएको अध्यक्ष चौरसियाको भनाइ छ।

यस्तै पूर्वमेयर विजय कुमार सरावगीको पालामा समेत शिक्षक नियुक्ति र विद्यालयमा पठाइएका उपकरणमा घुस खाएको आरोप लगेका कर्ण महाशाखा प्रमुख रहुन्जेल वीरगन्जको शिक्षामा कुनै सुधार हुन नसक्ने पनि वडाध्यक्ष चौरसियाले बताउनुभयो।

‘महाशाखामा भइहेको भ्रष्टाचारबारे प्रमाण संकलन गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु।’

विद्यालयको दरबन्दी मिलान, शिक्षकको सरुवा र रिक्त दरबन्दीमा विद्यालय व्यवस्थापन समितिले शिक्षक नियुक्ति गर्दासमेत शैक्षिक महाशाखाका प्रमुख कर्णले रकम लिने गरेको गुनासो पटकपटक आउने गरको वडाध्यक्ष चौरसियाको भनाइ छ। मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाले कर्णको दरबन्दी पदअनुसार अन्य स्थानीय निकायमा दरबन्दी नभएका कारण जसले जति विरोध गर्दा पनि जनप्रतिनिधिले खासै कारबाही गर्ने अवस्था नभएको महानगरपालिकै एक कर्मचारी बताउँछन्।

महानगरपालिकाले चालू शैक्षिक सत्रदेखि वीरगन्जको त्रिजुद्ध, माईस्थान, सिद्धार्थ र नृसिंह माध्यमिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन गर्ने निर्णय गरेको छ। महानगरपालिकाभित्र सञ्चालनमा रहेका अन्य विद्यालयमा भने नेपाली भाषामा पढाइ हुने शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले बताउनुभयो।

यसपटकको शिक्षकको छनौट प्रक्रिया निष्पक्ष गरिएको र कुनै शिक्षकसँग रकम नउठाइएको अधिकृत राउतको दाबी छ। ‘परीक्षा लिएर निष्पक्ष शिक्षक छनौट गरिएको छ,’ अधिकृत राउतले भन्नुभयो, ‘कुनै रकमको चलखेल भएको छैन, यो गलत प्रचार मात्र गरिएको छ। यसबारेमा महाशाखा प्रमुख कर्णसँग सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन।

नगरप्रमुख सिंहले शिक्षामा कुनै भ्रष्टाचार भएमा कारबाही गर्ने चेतावनी दिँदै आउनुभएको छ। आफू मेयर निर्वाचित भएको एक वर्षसम्म कुनै गुनासो नआएको तर महाशाखाका प्रमुख कर्णबारे वडाध्यक्ष चौरसियाले रकमको चलखेल गरी शिक्षक नियुक्ति गरेको कुरा उठाएपछि कर्णमाथि छानबिन गर्नुपर्ने कुरा उठाएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
वीरगन्ज महानगरको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भयो :  वडाध्यक्ष चौरसिया
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link