बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन

एउटा टेबुल सञ्चालन गर्न ७९ लाख धरौटी

अनिल तिवारी

तराईका जिल्लामा खुलेका मिनी क्यासिनोहरूमा आपराधिक गतिविधि बढेको छ । क्यासिनो नियमावली अनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । तर, स्थानीय प्रहरी–प्रशासनको सेटिङ्ग मिलाएर त्यहाँ पनि ठुला क्यासिनोमा जस्तै जुवा खेलाउने गरिएको  छ ।

नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठुला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्त्याउँदै वीरगन्जको लड्स दियालो प्लाजामा रहेको किङ्गस् क्यासिनोमा तास जुवाको खेल भइरहेको खुलासा भएको छ ।

संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता अनिल रुङ्गटाको होटेल लड्स दियालोमा सञ्चालित यो क्यासिनोमा सरकारी पहुँच र स्थानीय प्रशासनकै  सहयोगमा  खुलेआम तास जुवा सञ्चालन भइरहेको बताइन्छ ।

किङ्गस् क्यासिनोले मिनी क्यासिनोको इजाजत लिए पनि तास तथा जुवाको विभिन्न खेलहरू सञ्चालन गरेको प्रमाण प्राप्त भएको छ । ७९ लाख रुपैयाँ धरौटी लिएर किङ्गस् क्यासिनो सञ्चालनको इजाजत प्राप्त दियालो गेमिङ्ग प्रालिले जितपुर सिमराका एक व्यक्तिलाई पप्लुको टेबुल सञ्चालन गर्न सम्झौता गरेको हो । दियालो गेमिङ्गको तर्फबाट सुजन केसी र पप्लुको टेबुल सञ्चालन गर्ने दोस्रो पक्षको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने रामललाको छोरा अजितकुमार गुप्ता रहेका छन् । किङ्गस्  मिनी क्यासिनोमा सञ्चालन हुने पप्लु र म्यारिजका दुई टेबुल मध्ये पप्लुको टेबुलबाट प्रत्येक रात्रि गेमको आम्दानी रकम मध्ये ३० प्रतिशत दियालो गेमिङ्गलाई दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्र ।

भारतीय ग्राहकलाई लक्षित गरी  मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरूकोसमेत भिड लाग्ने गरेको छ । जसले गर्दा कतिपय नेपाल परिवारहरूको बिल्लिबाठ हुन पुगेका छन् । किङ्गस् क्यासिनोले सञ्चालन गरेको तास जुवाबाट वीरगन्जका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् ।

किङ्गस् क्यासिनोमै म्यारिज, पप्लु र फलासको जुवाबाट वीरगन्ज माई स्थानको रौनियार थरका कपडा व्यापारी घर न घाटका बनेका छन् । सिमरा जितपुरमा रहेका केही धनाड्य गुप्ता र गिरि थरका र वीरगन्जका अग्रवाल थरका मेडिसिन व्यापारी यो क्यासिनोको पप्लु र म्यारिजको रेगुलर खेलाडी रहेको  बताइन्छ ।

क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ ।

नेपालका क्यासिनोहरुले यो मापदण्ड मानेका छैनन् । वीरगन्जमा रहेको अधिकांश मिनी क्यासिनोहरु सरकारी नियमलाई लत्त्याउँदै खुलेआम जुवा तास सञ्चालन गर्ने गरेका छन् ।  साथै समय समयमा भारतबाट नर्थकी समेत ल्याएर नचाउने देखि देह व्यापार र लक्की ड्रसमेत सञ्चालन गर्ने गरेको बताइन्छ ।

वीरगन्जको आदर्श नगरमा रहेको लड्स दियालो होटेलमा सञ्चालित किङ्गस् क्यासिनो भारतको सीमाबाट पाँच किलोमिटर भन्दा नजिकको दुरीमा रहेको छ ।

यो क्यासिनोले भारतीय ग्राहक ओसारपसारको लागी सञ्चालन गरेको भारतीय नम्बरको गाडीसमेत सेटिङ्गमै चल्ने गरेको एक कर्मचारीले बताए । उनले भने, ‘गाडी यहीँ रहोस् वा भारत जाओस्, हामीले भन्सार वा इन्ट्री गर्नु पर्दैन, भन्सार देखि जनपथ प्रहरी, सशस्त्र सबै तिर सेटिङ्ग छ । जसकारण सीमा क्षेत्रमा क्यासिनोका गाडीमा सुरक्षा निकायले चेकिङ समेत गर्दैनन् । ग्राहक ल्याउन केटी प्रयोग गरिने र क्यासिनो भित्रै पनि अवैध धन्दाहरू चल्ने गरेको स्रोत बताउँछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link