मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

अनिल तिवारी

पर्सा प्रहरी प्रशासनले वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई किर्ते नागरिकता प्रकरणमा सहयोग गरेको आरोपमा विरोध प्रदर्शनलाई तीव्रता दिइएको छ । विभिन्न दलका स्थानीय नेताहरूले प्रहरीले राजेशमान सिंहप्रति देखाएको मोलाहिजा विरोधमा एक हप्तादेखि लगातार वीरगन्ज बजारमा प्रदर्शन गर्दै आएका छन् ।

लालटिन उपहार तथा मशाल जुलुस, सिडिओ र एसपीको पुत्ला दहन र वीरगन्जको मुख्य सडकमा टायर बालेर स्थानीय प्रहरी प्रशासनको विरोधमा प्राय नारा जुलुस चलिरहेका छन् । मेयर राजेश मान सिंहलाई कारबाही नगरी कागज मिलाएर मेयरलाई चोख्याउने काममा भइरहेको आन्दोलनकारी नेताहरूको आरोप छ ।

प्रशासनलाई सचेत गराउन नारा जुलुस प्रदर्शन गरेको नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदिनले बताए । प्रहरी प्रशासनले मेयर राजेशमान सिंह माथि कानुनी कारबाही अगाडी नबढाए आउने दिनमा अर्धनग्न जुलुस सहित गृहमंत्री र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता विरोधका कार्यक्रम आयोजना हुने काँग्रेसी नेता शाहाबुदिनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि शनिवार प्रदर्शन भएको थियो । स्थानीय प्रशासनले मुद्दा दर्ता गरेर आरोपी विरुद्ध कुनै अनुसन्धान नगरेको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा प्रदर्शनकारीको आरोप छ ।
टायर बालेर विरोधमा उत्रिएका प्रदर्शनकारी मध्यका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले बरकत अली, महम्मद नौसाद, शेख रमजान र महम्मद अफताबलाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारीको गिरफ्तारी विरुद्ध पनि वीरगन्जमा प्रदर्शन गरिएको हो । प्रर्दशनकारीहर जिल्ला प्रहरी कार्यालयमा नाराबाजी सहित पुगेका थिए । उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख विरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका आफ्ना साथीहरूलाई हिरासत भित्र यातना दिएको महम्मद शाहबुदिनले आरोप लगाएका छन् । उनले प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकारलाई प्रहरीले बन्देज लगाएर अभिव्यक्तिको अधिकार कुण्ठित गरेको आरोप लगाए । पर्सा प्रहरीले भने अहिले सम्म प्रदर्शनकारीहरूका विषयमा मुद्दा चलाउने वा के गर्ने भन्ने कुनै निर्णय नलिएको स्रोतले जनायो । पर्सा प्रहरीले कुनै यातना नदिएको पर्साका डिएसपी केशरकुमार न्यौपानेले बताउनुभयो ।

स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले गत शुक्रवार वीरगन्जको माई स्थानमा जम्मा भएर प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको पुत्ला दहन गरेका थिए ।

नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको विषयमा प्रहरी प्रशासनले अनुसन्धान प्रक्रिया अगाडी नबढाएको भन्दै पटक पटक विभिन्न विरोधका कार्यक्रम हुँदै आएको छ ।  मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठलाई नागरिकता दिलाउँदा गरेको  सरकारी कागजात किर्ते लगायतको प्रमाण प्रशासनसँग हुँदाहुँदै मेयर सिंहलाई पक्राउ गरी कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरिएको सहभागी मध्येका नेकपा एमालेका नेता लियाकत अलिले बताए ।

नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय केही समय अगाडि खुलासा भएको थियो । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानबिन समिति बने पनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन ।

यता मेयर सिंहले नयाँ नयाँ हतकण्ठा अपनाइ शक्तिकेन्द्र धाउने देखी प्रमाण नष्ट गर्ने काम समेत गरिरहेका छन् । मेयर कारबाहीबाट बच्न कानुनी छिद्रमा टेकेर कहिले दोस्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाक धम्की दिने काम गर्दै आएको प्रदर्शनकारीहरूको आरोप छ ।

यस्तै आन्दोलनकारीहरूले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएका छन् । सचेत नागरिक वीरगन्जका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले ढुङ्गेललाई लालटिन उपहार दिएका हुन् ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता दिलाएर गरेको नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको प्रमाण दिउँसो उज्यालोमा पनि नदेख्ने भएपछि साङ्केतिक रूपमा उनलाई लालटिन उपहार दिइएको हो । 


सचेत नागरिक वीरगन्जका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगन्जको घण्टाघरबाट र्‍याली समेत निकालेको थियो । उक्त र्‍याली नगरको माई स्थान, महावीर स्थान, आदर्श नगर, घडीअर्वा हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । त्यसपछि प्रदर्शनकारीहरुले प्रहरी नायब उपरीक्षक मार्फत प्रहरी प्रमुखलाई लालटिन उपहार बुझाएका हुन् ।

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषयमा मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखि ७ वटा निकायमा जाहेरी परेको छ । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानबिन समिति बने पनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन ।  किर्ते प्रकरण सार्वजनिक भएको तीन महिना पुग्न लाग्दा हालसम्म कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधका कार्यक्रम हुँदै आएको छ । तर पनि प्रशासनले कारबाही गर्ने छाँटकाँट नदेखाएकाले साङ्केतिक रूपमा विरोधको कार्यक्रमहरू गर्न लागिएको प्रदर्शनमा सहभागी जनमतका नेता शशिकपुर मियाले बताए ।

मेयर सिंहले नयाँ नयाँ हतकण्ठा अपनाइरहने, प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट प्रमाण नपाएको बताइरहने र प्रशासन हराएको भनिरहने नियतले देशमा कानुनी राज्यको अभाव खट्किएको जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्विले बताउँछन् । उनले भने, ‘मेयर सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई बुझाएको किर्ते गरेको जन्म दर्ता, सिफारिस लगायतको सहीछाप आधारमा कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ । तर प्रमाण मेटाउन एकपछि अर्को किर्ते गरिरहँदा सरकारी अनुसन्धान भने कमजोर भएको छ ।’

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीबाट वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्वि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष दिलिप कुर्मी, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मोहम्मद सहाबुदिन, राप्रपाबाट महानगर अध्यक्ष जलेश्वर सरार्फ, नेकपा एमालेका नेता लियाकत अलि लगायतको उपस्थिति रहेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link