शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल

अनिल तिवारी

तराईमा बढेको धार्मिक उन्मादसँगै वीरगन्ज भइरहेको ठगी प्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । आफूलाई चमत्कारी बताउने भारतीय काली कम्बलवाला बाबालाई प्रहरीले पक्राउ गर्न खोज्दा फरार भएका छन् । प्यारालाइसिस, लगायत नसाका रोग निको पारिदिने भन्दै वीरगन्जमा चलाइएको  धार्मिक शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको हो ।

आफूलाई चमत्कारी बाबा बताउँदै वीरगन्जमा चैत १ गते देखि धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बल बाबाको उपचार शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको थियो । आफूलाई प्रहरी समाप्त आइरहेको मेसो पाउने बित्तिकै अचानक काली कम्बलवाला बाबा शिविर छाडेर गायब भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली  बाबाले फाल्गुन ३० गते देखि ११ दिनका लागि स्वास्थ्य उपचार गर्ने भन्दै शिविर चलाउँदै आएका थिए । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट उपचारको नाममा बाबाले धार्मिक ठगी गरेको आरोप लागेपछि ढिला गरेर स्थानीय प्रशासनको ध्यानाकर्षण हुनु आफैमा प्रश्नको विषय छ ।

स्व घोषित चमत्कारी बताउँदै प्रशासनको स्वकृति बिना नै स्वास्थ्य उपचारको  शिविर नै चलाएर पक्ष घात भएका, हात गोडा नचल्ने, ढाड कम्मर दुख्ने, क्यान्सर, सुगर, रक्तचाप, पत्थरीलगायत सबै अनौठो रोगका दीर्घ बिरामीलाई कालो कम्बलले टकटकाएर निको पारिदिने कुरा धार्मिक ठगी भएको जिकिर छ । स्वास्थ्य विज्ञानलाई नै पाखा लगाएर धर्मको नाममा बाबाले चमत्कारी उपचार शिविर सञ्चालन गर्दै आएका थिए ।

 बाबाको अन्धविश्वास प्रति बारा, पर्साका सोझा जनताहरूको आकर्षण समेत बढ्दै गएको थियो । शिविरमा उनीबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत दिनहुँ हजारौंको सङ्ख्यामा बिरामीहरूको घुईचो लाग्ने गरेको थियो ।

तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरूले समेत प्रदर्शन गरेका थिए । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केही समय चिनिमिल क्षेत्र तनावग्रस्त बनेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरूले प्रहरी प्रशासनले काली कम्बल बाबालाई पक्राउ गरेर लगेको भन्दै सडकमै बसेर धर्ना दिएका थिए । धर्नामा कारण अवरुद्ध सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते  भएका थिए ।

आफूहरूले पक्राउ नगरेको र बाबा आफैँ गायब भएको भन्दै आन्दोलनकारीहरूलाई प्रहरीले बुझाएपछि अवस्था सामान्य बनेको थियो । पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले विभिन्न रोगको निःशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि उनी आफैँ फरार भएको बताउनुभयो ।

धर्मको आडमा बिरामीलाई निको बनाउने बहानामा ठगी गरेको  विभिन्न आरोपहरू लागे पश्चात् प्रहरीले पक्राउ गर्ने योजनाको पूर्व सूचना पाएपछि बाबा फरार भएको उपरीक्षक ढुङ्गेलको बुझाइ छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link