पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप

अनिल तिवारी

पर्सा प्रहरीले नै दलित बालिका बलात्कार घटना दबाउने प्रयास गरेको आरोप लागेको छ । बिचौलियाको सक्रियता प्रहरी अधिकारीले बलात्कारको मुद्दा दर्ता गर्न आनाकानी गरेको पीडित पक्षको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल बिदा गएको वेला निमित्त प्रमुख बसेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा बिचौलियाको प्रभावमा परेर घटना दबाउन चलखेल गरेको पीडित पक्षको आरोप छ ।

गत २२ गते पर्साको कालिकामाई गाउँपालिकामा एक दलित युवतिको बलात्कार भएको थियो । वडा नम्बर ३ हरिहरपुर बिर्ताकी १३ बर्सिया बालिकालाई उनकै छिमेकका ५० वर्षीय बनारसी महतो केवटले वैशाख २२ गते राति बलात्कार गरेको घटना शनिवार सार्वजनिक भएको हो ।

चापाकलमा पानी लिन घरबाट बाहिर निस्केको बेला छिमेकका केवटले मुख थुनेर बाँसघारीमा लगेर नशालु पदार्थ सुँघाएर बेहोस बनाई बलात्कार गरेको पीडित  बालिकाको भनाइ छ ।

पानी लिन गएकी वालिका घर नफर्के पछि घर परिवारले खोजी सुरु गरेका थिए । आइतबार बिहान  बाँसघारीमा युवतीलाई टोलका महिलाहरूले अचेत अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए । बेहोस बालिकालाई घरमा ल्याएर घरेलु उपचार गरेको र होस खुलेपछि रुँदै छोरीले आफूसँग केवटले गरेको दुष्कर्मका बारेमा सविस्तार बताएको पीडितका बुवाले बताउनुभयो ।

घटनाबारे आरोपित केवटको घरमा वैशाख २३ गते बिहान आफूहरू पुगेर सोधिखोजी गर्दा केवटले आफूले बलात्कार गरेको स्वीकार गर्दै एक लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्की समेत दिएको  पीडित परिवारजनको आरोप छ । पीडित बालिकाका बुबाले भने,‘ केवटले तिमीहरू सानो जातका हौँ केही गर्न सक्दैनौँ, मेरो पहुँच ठुलाबडा नेताहरूसँग छ  भनेर धम्की दियो ।’

आरोपित केवट पहिला पनि अपहरण तथा ज्यान मार्ने मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका व्यक्ति हुन । जसले गर्दा गाउँ समाज देखि लिएर प्रहरी समेतमा आफ्नो पहुँच भएको भन्दै आफूहरूलाई घटना दबाउन दबाब दिएको पीडित बालिकाको बुवाले बताए।

पिडक केवटबाट लगातार धम्की आउन थालेपछि गत मङ्गलवार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त लिएर पुगेको पनि प्रहरीले हालसम्म जाहेरी दर्ता नै नगरेको उनले दुखेसो व्यक्त गर्दै भने, ‘बलात्कारको घटना सार्वजनिक भएको एक हप्ता बितिसक्दा पनि प्रहरीकै चलखेलमा बालिकाको मेडिकल हुन सकेको छैन ।

अपराधी अहिलेसम्म पक्राउ पनि परेको छैन । यता प्रहरीकोमा चार दिनदेखि सधैँ धाइरहेको छु । तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेको छ।’ पीडित परिवारले भने ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने पीडित बालिका र जाहेरी लिएर आउने बुबा बिचको बयान फरक परेकाले प्रहरीले जाहेरी दर्ता नगरेको बताए । स्वास्थ्य परीक्षणका लागि बालिकालाई शुक्रवार नारायणी अस्पतालमा पठाएको भन्दै परीक्षणको रिपोर्ट आएपछि मात्रै मुद्दाको प्रकृति हेरी कारबाही अगाडि बढाउने नायब उपरीक्षक थापाले बताउनुभयो । आरोपित भनिएका केवट भने घटना भएकै समयदेखि घर छाडेर फरार रहेको उनले बताए । फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थापाले बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link