दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !

अनिल तिवारी

नेपाल देखि भारत लगायत संसारका विभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्रताको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ। राष्ट्र र राष्ट्रियताका लागि दशकौँदेखि हुँदै आएको यो आन्दोलन किन हुन्छ, यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको विषय पनि हो।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बत लगायत आफ्नो सरण लिएका विभिन्न मुलुकहरूमा आन्दोलन गर्दै आएको छन्। आन्दोलनको  स्वरूप जस्तो भए पनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचानको लागि  नै हो। मुख्य रूपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरूको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ। आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका कलाकारहरूले समेत सहभागिता जनाउँदै फरक कार्यक्रमहरू गर्दै आएका छन्। यसका समर्थकहरूले चीनमा हुने गरेका अन्तर्राष्ट्रिय महत्वका कार्यक्रमहरू बहिस्कार गर्ने माग पनि उठाउँदै आएका छन्। जस्तै २००८ को अगस्त महिनामा चीनमा भएको ओलम्पिक खेल बहिस्कार गर्नुपर्छ भन्ने तर्क आएको थियो।

चीनमाथि दबाब बढाउँदै अमेरिकी संसद्ले तिब्बतको समर्थनमा विधेयक पारित गरेपछि अमेरिका चीनबिचको सम्बन्ध खाडलमा पर्दै गएको छ। तिब्बती नीति र समर्थन अधिनियम (टीपीएसए)लाई अमेरिकी संसद्को दुवै सदनले १.४ ट्रिलियन डलर  सरकारी खर्च विधेयक र ९ सय अर्ब डलर कोभिड–१९ राहत प्याकेज पास गरेको छ।

यो अधिनियम चीनको त्यो अधिकारीहरूको आर्थिक र भिजा दुबैमा प्रतिबन्ध लगाउँछ, जसले दलाई लामाको उत्तराधिकारको विषममा हस्तक्षेपकारी भूमिका निभाउँछन्। साथै यो कानुन अनुसार चीन अब अमेरिकामा कुनै पनि नयाँ कन्सुलेट कार्यालय खोल्नु भन्दा पहिला ल्हासामा अमेरिकाको कन्सुलेट कार्यालयको स्वीकृति दिनु पर्दछ।

अमेरिकी सदनको यो निर्णयले केन्द्रीय तिब्बती प्रशासनलाई निश्चय नै उत्साहित बनाएको छ। प्रशासनका राष्ट्रपति लोबसांग सांगेले यसलाई ‘तिब्बती नगरिकहरूको लागी ऐतिहासिक घटना हो’ भनेका छन्।

उनले दिएको प्रतिक्रिया दिए लगतै सांगेलाई व्हाइट हाउसमा निमन्त्रण गरिएको थियो। जहाँ उनले तिब्बत विषयमा नवनियुक्त अमेरिकाका विशेष संयोजक रोबर्ट डेस्ट्रोसंग भेटवार्ता गरेका थिए । चीनसँगको मित्रताको प्रयासमा शिथिल बनेको तिब्बती आन्दोलनको पक्षमा उभिएर दशकौ पछि आफूले गरेको गल्तीलाई अमेरिकी सरकारले सच्याएको भनाइ आन्दोलनका समर्थहरूको  छ। हुन पनि यस घटनाले वैश्विक भू–राजनीतिक परिदृश्यहरू बद्लिएका छन्।

चीनले स्वतन्त्र तिब्बत माथि ७ अक्टोबर १९५० मा आक्रमण ग¥यो र आफ्नो कब्जामा लियो। चीनको कब्जा विरुद्ध भएको विद्रोहलाई चीनको सेनाले रक्तपातपूर्ण दमन गरिरहेको पृष्ठभूमिमा दलाइ लामा बिदेसिनू प¥यो। जसले गर्दा तिब्बतको धर्म एवं संस्कृति समेत साबिक स्वरूपमा बाँचिरहन सकेन।

दलाई लामा स्वयं अहिंसक रूपले तिब्बती सङ्घर्षलाई जारी राख्ने कुरामा स्पष्ट दृष्टिकोण राख्दै आएका छन्। उनले पटक पटक स्पष्ट गर्दै आएका छन् कि चीनबाट पूर्ण स्वतन्त्रता भन्दा पनि ‘फ्री तिब्बती आन्दोलन’ पूर्ण रूपमा स्वायत्तता चाहेको हो।

तर चीन सरकार दलाई लामा र उनका समर्थकहरूले गरिरहेको आन्दोलन ‘विखण्डनकारी आन्दोलन’ भएको भन्ने आरोप लगाउँदै दमन गर्दै आएको छ। जब देखि उनी तिब्बत छोडेर भारत प्रवास हुनु पर्‍यो, चीनको दमनका विरुद्ध  दलाई लामा  तिब्बती सङ्घर्षको प्रतीक बनेका छन्। उनको व्यक्तित्व र शान्तिको लागी उनले दिएका सन्देश पूरै विश्वमा गुञ्जायमान छ। चीनले सकेसम्म गरेको कोसिसको बाबजुद उनलाई विश्व समुदायबाट ठुलो सम्मान मिलेको छ र उनलाई माया र आदरका साथै वैश्विक जगत् अँगाल्दै आएको छ। आधुनिक राजनीतिमा ‘दलाई लामाको अवतार’ जस्तो मुद्दामा चिन्तित हुनु हुँदैन। तर दलाई लामा एक अलग खालका शख्सियत हुन। 

अवतार सम्बन्धी मान्यता
हिन्दु मान्यताजस्तै तिब्बती बौद्ध पनि विश्वास गर्दछन् कि प्रत्येक व्यक्ति पुनर्जन्मको चक्रबाट  गुज्रेको हुन्छ। जसको निर्धारण उसले गरेका कर्मबाट हुन्छ। तर ठुला लामा जसमा बोधिसत्त्व अवलोकितेश्वरको अवतार अनुसार दलाई लामा सबैभन्दा वरिष्ठ हुन्छन्। र, तिब्बती मान्यता अनुसार उनी निर्णय गर्न सक्छन् कि, उनका पुनर्जन्म कहिले र कहाँ हुन्छ। खास गरेर ठुला लामा आफ्नो अवतारको बारेमा विस्तृत जानकारी आफ्ना खास सहायकहरूलाई गुप्त रूपमा जानकारी गराएका हुन्छन्। जो पछि उनीहरूले खोजी गरेर अवतारको रूपमा मान्ने गर्दछन्।
उमेर बढेसँगै दलाई लामाले यो मुद्दाको बारेमा धेरै बिचार गरे पनि उनले पुनर्जन्म प्रक्रियालाई  राजनीतिक रूपमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने छ। साथै एकातर्फ उनले भनेका छन् कि के पुनर्जन्म लिनु नै हुँदैन ? उनले स्पष्ट दिशा–निर्देश जारी गर्दै यसमा आफ्नो चासो पनि देखाएका छन्। यो प्रक्रियामा ठुलो आशङ्का र धोखाको सम्भावना पनि छ। जसको मुख्य कारण चीन हो। जसले निश्चित रूपमा दलाई लामाको मृत्यु पश्चात् आफ्नो अनुकूल उत्तराधिकारी घोषणा गर्दछ।

चीन पहिलादेखि ठुला लामाको  नियुक्तको विषयमा अन्तिम अधिकार आफ्नो भएको र त्यसका स्वीकृत इतिहास र परम्परा दिएको कुराको दाबी गर्दै आएको छ। सन् २००७ मा  चीनको धार्मिक मामिला प्रशासनको फÞफैसलाको अनुसार पुनर्जन्म को निश्चित आफूमा निहित गरेको छ। योभन्दा पहिला सन् १९९५ मा चीनले चिंग राजवंशको रीतिलाई पुर्न बहाल गर्दै प्रमुख तिब्बती भिक्षुको चुनाव स्वर्ण कलशबाट निकालिएको चिट्ठाबाट गरिएको थियो। उक्त वर्षको मे महिनामा चीनको सरकारले दलाई लामाद्वारा चुनिएको छ वर्षको गेधुन चोएक्यी नियिमालाई  १० औ पंचेन लामाको अवतार नमान्ने घोषण समेत गरेको थियो। त्यसको ठाउँमा चीनले गाइनचेन नोरबूलाई १० औ  पंचेन लामाको अवतार घोषित गरेको थियो। नियिमा र उनका परिवारलाई त्यसपछि फेरी कसैले देख्न पाएन। जबकि परम्परागत रूपमा दलाई लामा र पंचेन लामा एक–अर्काका गुरुको भूमिका निभाउने र दलाई लामा समर्थनमा आधारित  तिब्बती परम्पराको सिद्धान्त थियो। 

भूकम्प पछिको अपरेसन ‘दलाई लामा’

सिगात्सेमा नेपाल बुझ्ने र नेपाली बोल्ने नयाँ जमात पनि बढेको छ। भूकम्पपछि खासाका सबै बासिन्दालाई सिगात्से सारेर उतै बसोबास गराइएको छ।  टेन्टमा रहेका तिब्बतीहरूलाई हाउजिङमा सारिएको छ। तिनलाई राजी खुसीले भने पक्कै लगिएको होइन। भुईँचालोले खासालाई चिराचिरा पारे पछि, त्यस बेला उद्धार गर्न आएका चिनियाँ सुरक्षाकर्मीले घर–घरमा दलाई लामाका तस्बिर र ‘फ्री तिब्बत’ गतिविधिका प्रमाण फेला पारेको कारण जबरजस्ती ४५० किमी टाढाको सिगात्से पुर्‍याइएको हो । सिगात्सेका घरमा दलाई लामा छैनन्। त्यहाँका घरमा सी जिन पिङका तस्बिर टाँगन लगाइएको छ। त्यति मात्र होइन उनलाई खादा पहिराएको पनि छ। तर त्यो इच्छाले हो कि देखाउन मात्र– त्यो भने प्रश्नकै विषय छ ? 

खासाका  तिब्बतीलाई बेखुसी व्यक्त गर्ने अधिकार पनि छैन। थातथलो छाड्नुपरेको पीडा मनभित्र पक्कै होला, तर अवसर र सम्भावनाको अभावसँगै चिनिया सेनाको दमनले पनि उनीहरूलाई बाध्य बनाएको छ। उस बेला खासाबाट ‘उठाइएको’ समूहमा तिब्बती मात्र रहेनछन्, त्यहाँ काम गर्न गएका र त्यतै बस्ने गरेका सिन्धुपाल्चोक र काभ्रेका नेपाली पनि  करिब ५० जना छन्। 

तिब्बतको इतिहास र यथार्थ

तिब्बत लगभग  १३ सय वर्षसम्म चार राज्यका रूपमा सामन्ती राजा मङ्गोल र मञ्चुहरुवीच बाँडिएको थियो। त्यतिखेर थुप्रै विखण्डनहरू भए र पछि फेरि मिल्दै गए। लगभग छैटौँदेखि नवौँ शताब्दीसम्म तिब्बतले यति ठुलो साम्राज्य बढायो कि चीनको तत्कालीन राजधानी छियाङ्गसम्म कब्जा गर्न पुग्यो। सत्रौं शताब्दीदेखि बिसौँ शताब्दीसम्म तिब्बत ठुलो राजनीतिक षडयन्त्र, हत्या र आतङ्क तनावबाट गुज्रिरहेको थियो।

त्यस बेला तिब्बत माथि मङ्गोल राजाहरूको वर्चस्व थियो। जसले दलाई लामालाई संरक्षण गरेका थिए। वास्तवमा  चौथो दलाई लामा ताकÞतवर मङ्गोल प्रमुख अल्तान खानका परिवारमा अवतरित भएका थिए। त्यसपछिका दलाई लामा अर्थात् पाचौँ लामा (१६१७—१६८२) धार्मिक प्रमुख हुनुका साथै देश को अस्थायी शासक पनि थिए। वास्तवमा चीनले २०औ शताब्दी भन्दा पहिला आफूलाई वर्तमान चिन जस्तो देखेन। छुटाछुटै साम्राज्यहरूका दासत्वका कारण उसका धेरै प्रान्तहरूमा आआफ्नै खालका समस्याहरू थिए जुन अहिले पनि धेरै हदसम्म छन्। त्यसका कारणले आफैमा जटिल र आधुनिक सिद्धान्तको तुलना भन्दा भिन्न छन्।
 
भविष्य

बितेको तीन दशकमा छुटाछुटै समयमा चीन र तिब्बतले आपसी मुद्दाको समाधानको लागि प्रयास गरे। तर सन् २००८ देखि परिवर्तित विश्व राजनैतिक व्यवस्थामा चीन अगाडि आएदेखि उसले तिब्बतको बारेमा कठोर बाटो अपनाउँदै सबै खाले छलफल र वार्ताहरूलाई विराम लगाएको छ। २०१३ मा तिब्बतका प्रमुख र पोलिटब्युरो सदस्य यु झेनशेंगले घोषणा गरेका थिए कि ‘तिब्बती स्वायत्तताको बारेमा दलाई लामाको मांग चीनको संविधान विपरीत छ।’ दलाई लामा सार्वजनिक रूपमा ‘तिब्बत प्राचीन समयदेखि चीनको अभिन्न अङ्ग हो भनी घोषणा गर्नुका साथै ‘तिब्बती स्वतन्त्रता’ आन्दोलनलाई परित्याग गरिएको घोषण गरेपछि  मात्र चीनको कम्युनिस्ट पार्टीसँग राम्रो हुने झेनशेंगले घोषणा गरेपछि झनै स्थिति बिग्रेको हो।

अहिले  तिब्बतमाथि  चीनको दमन र नियन्त्रण दरिलो छ। वास्तवमा राष्ट्रपति सी जिन पिङको वर्तमान बयानले चिन तिब्बतका बौद्ध धर्मलाई चिनियाकरण नै गर्न चाहेको कुरामा दुई मत छैन। त्यसभित्रको रहस्य आफैमा रहस्यमै नै छ। तर तिब्बतको भविष्यको शासन बारेको एक बैठकमा राष्ट्रपति शीले तिब्बत माथिको पकड र शासनलाई स्थायित्व दिन र फ्री तिब्बत आन्दोलनको विरोधमा ‘अजेय किला’ बनाउन निर्देशनलाई प्रमुखता दिएको देखिन्छ । चीन अहिले तिब्बती बौद्धहरूलाई उनहरूका इच्छित दिशासम्म धकेल्न ‘पुर्न शिक्षा’ अभियान  कार्यक्रमलाई तीव्रता दिएको छ। तिब्बतको बौद्ध धर्म मान्नेहरूलाई चिनिया कम्युनिस्ट पार्टीको विश्वासमा परिवर्तित गर्नु असामान्य कुरा होइन। धर्मलाई कम्युनिस्ट बनाउने काम आफैमा अपत्यारिलो दमन र मानव अधिकारको ठुलो हनन हो। तर बौद्ध धर्म विरोधी अभियानप्रति तिब्बतीहरू जुधिरहेका छन्। जुन आफ्नो संस्कृति र तिब्बती राष्ट्रियता प्रति ठुलो बफदारी हो। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link