क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब 

अनिल तिवारी

वीरगन्जको एक मात्र समुदायक क्याम्पसको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । क्याम्पसका निमित्त प्रमुखले पत्रकार सम्मेलन गरेर पूर्व क्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक नियमितता गरेको आरोप लगाएका छन् । पूर्व क्याम्पस प्रमुख भगवान् यादवले अनियमितता गरेको कारण क्याम्पसबाट ठेक्का पट्टाको फाइल नै  गायब गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायको आरोप  छ ।

गत पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगन्ज ३ आदर्शस्थित ८ कट्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई पूर्व क्याम्पस प्रमुख भगवान् यादवले सबै भुक्तानी दिएको आरोप लगाउनु भयो । 

पत्रकार सम्मेलनमा निमित्त क्याम्पस प्रमुख रायले २ करोड ७४ लाख रुपैयाँमा निर्माण गरिएको नयाँ भवनमा व्यापक आर्थिक भ्रष्ट्राचार गरेको आरोप लगाउनुभयो ।

२०७६ सालमा सन्तोष निर्माण सेवाले इबिडिग मार्फत ठेक्का सकारेर निर्माण गरेको भवनको आधा भन्दा बढी काम अधुरै रहे पनि पूर्व क्याम्पस प्रमुख यादवले निर्माण कम्पनीलाई दुई वर्ष अघि नै सम्झौतामा अनुसार पूर्ण भुक्तानी गरिसकेको बताउनुभयो । यसबारेमा आवश्यक कारबाहीको लागी लेखा प्रमुख विनोद यादवसँग ठेक्कापट्टाको फाइल माग गर्दा उनले पूर्व प्रमुखले नै फाइल लिएको बताउनुभयो । लेखा प्रमुख यादवले सबै रकम ठेकेदारलाई भुक्तानी गरिसकेको भन्दै मौखिक जवाफ दिएको रायले बताउनुभयो ।

३८ वर्ष देखि क्याम्पस प्रमुखको रूपमा काम गर्दै आएको भगवान् यादवले व्यापक भ्रष्ट्राचार गरेको आरोपहरू उठ्न थालेपछि क्याम्पस सञ्चालक समितिले उनलाई अनिवार्य अवकाशको लागि दबाब दिएको थियो । प्रेमप्रकाश खेतान अध्यक्ष रहेको क्याम्पस सञ्चालक समितिको गत मङ्सिर ३० गते बसेको बैठकले यसअघिका क्याम्पस प्रमुख यादवलाई बर्खास्त गरेर पुस १ गते देखि निमित्त क्याम्पस प्रमुखमा रायलाई नियुक्त गरेको थियो । जबरजस्ती हटाएको विरोधमा पत्रकार सम्मेलन गरेर नै तत्कालीन क्याम्पस प्रमुख भगवान् यादवले विरोध जनाउनुभएको थियो ।

निर्माण कम्पनीसँग क्याम्पसले गरेको सम्झौतामा ठेक्का सम्झौता भएको दुई वर्ष भित्रमा रङ्गरोगनसहित भवन निर्माणको काम सबै सम्पन्न गरेर क्याम्पसलाई भवन हस्तान्तरण गर्ने र भुक्तानी गर्ने उल्लेख थियो । यसबारेमा पूर्व क्याम्पस प्रमुख भगवान्प्रसाद यादव र ठेकेदार सन्तोष पटेलको मोबाइलमा सम्पर्क गर्दा उहाँहरूको मोबाइलमा सम्पर्क हुन सकेन ।

हरिखेतान क्याम्पसको अधुरो नव निर्मित उक्त भवनमा अहिले स्थानीयले गाई गोठ रूपमा प्रयोग गर्न थालेका छन्  । नवनिर्मित भवनमा पुग्दा बरन्डा छेउको कोठामा गाई बाँधेर राखिएको थियो भने बरन्डा परिसर गाईको गोबरले भरिएको थियो । भवनका अन्य कोठाहरूमा बजारबाट सङ्कलन गरिएका कवाडी भण्डारण गरिएको थियो ।

निमित्त क्याम्पस प्रमुख रायले भने अधुरो नवनिर्मित भवनमा राखिएका गाई र कवाडी सामानहरु अविलम्ब हटाइने बताउनुभयो  । भवन निर्माणमा गरिएका अनियमितताको कानुनी रूपमा टुङ्गो लागेपछि मात्र अधुरो काम पुरा गरेर भवनमा कक्षा सञ्चालन गरिने रायको भनाइ थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब 
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link