क्याम्पसको प्रांगणमा वीरगन्ज महानगरको डोजर

अनिल तिवारी

वीरगन्ज महानगरपालिकाले हरिखेतान बुहमुखी क्याम्पसको प्रांगणमा डोजर चलाएको छ।

सहरको मुख्य नाला अतिक्रमण गरी बनाइएको क्याम्पस भवनसहितको संरचना डोजर लगाएर सोमबारदेखि भत्काउन सुरु गरेको छ। सोमबार दिउँसो मेयर राजेशमान सिंह आफैं डोजर लिएर क्याम्पस पुग्नुभएको थियो।

सहरको मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका भवनसहितका संरचना हटाउन महानगरले डोजर प्रयोग गरिएको जनाएको छ। ४० वर्षअघि तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको विशेष भूमिकामा नाला अतिक्रमण गरी उद्योगपति खेतान परिवारले रात्रि क्याम्पस निर्माण गरेको थियो। नाला अतिक्रमणको विरोध पटकपटक भए पनि निर्माणको ४० वर्षपछि स्थानीय सरकारले अतिक्रमण हटाउने सुरु गरेको हो।

नालामाथि बनेका संरचना हटाउन क्याम्पस प्रमुख भगवान यादव र सञ्चालक समितका अध्यक्ष सुनिल खेतानलाई गत शुक्रबार महानगरपालिको सार्वजनिक जग्गा अतिक्रममण खोजबिनन समितिले अनुरोध गरेको थियो। तर क्याम्पसले अटेरी गरेपछि वीरगन्जका मेयर सिंह दुई वटा डोजर लिएर दलबलसहित पुग्नुभएको हो।

महानगरपालिकाले केही महिनादेखि वीरगन्ज सहरको मुख्य नाला सरसफाइ तथा नाला अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान चलाएको छ। वीरगन्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बग्छ।

वीरगन्जकै केन्द्रमा रहेको गीता मन्दिरदेखि आदर्शनगरस्थित हरिखेतान क्याम्पससम्मको क्षेत्रमा एक दर्जन व्यक्ति तथा संस्थाले नालामाथि दुवैतिर अवैध संरचना गरेका छन्।

आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नालामाथि नै निर्माण गरिएको छ। अहिले क्लासिक होटल पछाडिसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्णरुपमा सफाइ गरिएको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफा गरिएको महानगरले जनाएको छ।

यसपटक मुख्य नाला सफाइ गर्न महानगरले सबै उपाय अवलम्बन गरेको मेयर सिंहको भनाइ छ।

सोमबार डोजर लिएर क्याम्पसमा पुगेका मेयर सिंहले सार्वजनिक नाला वा जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाएर खाली गराउने महानगरको अभियानमा साथ दिन सबैलाई अनुरोध समेत गर्नुभयो। हरिखेतान क्याम्पस सामुदायिक क्याम्पस भए पनि वर्षौंदेखि नाला नै अतिक्रमण गरी संरचना बनाइँदा त्यसले नालाको बहाव नै थुनिएकाले डोजर लगाउनुपरेको मेयर सिंहले बताउनुभयो।

यसबारेमा क्याम्पस प्रमुख भगवान यादवसंग पटकपटक सम्पर्क गर्दा केही जबाफ आएन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
क्याम्पसको प्रांगणमा वीरगन्ज महानगरको डोजर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link