मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारी देवी। उनको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका वडा–५ मा छ। मर्चवारी देवीको उत्पत्तिबारे अनेक कथा र किंवदन्ती पाइन्छन्।
मर्चवारी देवीको महिमा भोजपुरी भाषाको मर्चा (खुर्सानी) शब्दबाट सुरु भएको पाइन्छ। ‘देवीको पूजाअर्चना गर्नाले दुःख–दरिद्रता नाश हुने र मनोकामना पूरा हुने जनविश्वास छ,’ मन्दिरका महन्त शम्भुशरण दास भन्नुहुन्छ, ‘भाकल पूरा भएपछि अधिकांशले सिमेन्टको हात्ती बनाई चढाउने प्रथा पनि छ।’
‘मर्चवारी देवीलाई विशेषगरी मर्चवारी, सम्मरीमाई र कोटहीमाईसहित हालक तीन गाउँपालिका र वरिपरिका मर्चवारवासीकी आराध्य र इष्टदेवी मानिन्छ,’ मर्चवारी गाउँपालिका–३, मधुवनियाका ५२ वर्षीय दीपचन्द यादवले भन्नुभयो, ‘यिनै देवीको महिमा र नामबाट सो क्षेत्रको नाम मर्चवार रहन गएको हो।’
किंवदन्तीअनुसार परापूर्वकालमा जब मानिसहरू कबिलामा बस्दै फिरन्ते जीवन बिताउँथे, त्यतिबेला त्यही बाटो भएर एउटा कबिलाको त्यहाँ आगमन भएको यादवले सुनाउनुभयो। उहाँले थप्नुभयो, ‘त्यही कबिलाले आफूसँग डोलामा राखी ल्याएको आफ्नो इष्टदेवीको पिण्ड त्यहाँ राखेर नित्य पूजा–आराधना गर्थ्यो।’
केही दिनको बसाइँपश्चात् त्यहाँबाट उत्तरतर्फ जानेबेलामा कबिलाका सरदारले माटोको त्यो पिण्डलाई डोलामा राख्न खोज्दा उठेन । नउठेपछि देवीले त्यो ठाउँ आफ्ना लागि उत्तम भएकाले आफूलाई त्यहीँ छोडी जान निर्देशन गरेअनुसार कबिला त्यहाँबाट रित्तै फर्केको यादवको भनाइ छ।
अध्यात्मका जानकार यादव भन्नुहुन्छ, ‘कबिलाले बगैँचाको पूर्वी छेउस्थित पोखरीबाट माटो ल्याई त्यो पिण्डलाई पुर्सा (मुठी कसेर हात उठाएको मानिसको पूर्णकद) बराबर पारी पूजा–आराधना गर्यो। त्यसपछि त्यसैलाई स्थापना गरी निमको बोट सम्झेर मर्चा (खुर्सानी) को बिरुवा रोप्यो र झिसमिसे बिहानमा फर्केको थियो।’
फलफूलको बगैँचा, झाडी, बुट्टयान, खरहौटी र ताल–पोखरीले त्यहाँ खरायो, मृग, कालिज, तितर, पडखी, बसमुर्गी आदि पशुपन्छी प्रशस्त मात्रामा पाइन्थे। त्यो ठाउँ चौपाया चरनका साथसाथै सिकारका लागि पनि उत्तम मानिन्थ्यो। त्यतिबेला मर्चवारी देवीको त्यस शक्तिपीठका बारेमा अन्य कसैलाई थाहा भएन।
‘कालान्तरमा त्यस क्षेत्रमा हैजाको प्रकोप बढ्यो। हैजाग्रस्त एक गोठालाले त्यहाँ फलेको खुर्सानी टिपेर खाई पोखरीको पानी पिएपछि सन्चो भयो,’ यादवले भन्नुभयो, ‘माताले सपनामा हैजाग्रस्त ती गोठालालाई बताएअनुसार पूर्वस्थापित शक्तिपीठ वरिपरि सरसफाइ गरी मर्चवारी माताका रुपमा पूजा–आराधना सुरु गरियो।’
यसै प्रसंगमा कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले अर्कै कथा सुनाउनुभयो। ‘शक्तिस्वरूपा पिण्डलाई डोलामा राखेर पछिपछि दूधको धारा बगाउँदै उत्तरतर्फ गइरहेकाहरूको दूध त्यहीँ आएर सकियो र देवी त्यहीँ अलप भइन्,’ पूर्वगाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, ‘देवीलाई लैजाने कबिलाको सरदारले पनि त्यहीँ देहत्याग गरे।’
उमेरले ७५ काटिसकेका पूर्वगाउँपालिका अध्यक्ष यादव वर्षौंदेखि नियमित पूजापाठ गर्ने मर्चवारी देवीका उपासकमध्येका एक हुनुहुन्छ। उहाँका अनुसार निकैपछि एक गोठालाले त्यहाँ फलेका दुइटा खुर्सानी टिपेर खाएपछि निकै पीडा भयो। ‘खुर्सानी खाएकाले हो, पूजा गर, ठीक हुनेछ’ देवीले सपनामा भनेपछि त्यसै गर्दा सन्चो भएछ रे !
देवीको निर्देशनअनुसार बगैँचाको पश्चिमी छेउमा रहेको पोखरीबाट माटो ल्याई त्यहाँ पुर्साबराबरको डल्लो (पिण्ड) बनाई मर्चवारी देवीको प्रतिकका रूपमा शक्तिपीठ स्थापना गरेर पूजा आराधना सुरु भयो। त्यसपछि स्थानीयको पीडा, दुःख सबै ठीक भएको कथा आफ्ना अग्रजबाट सुनेको यादवले बताउनुभयो।
‘मर्चवारी देवी मन्दिर मर्चवारवासीका लागि एक महत्वपूर्ण तीर्थस्थल हो। यो स्थान धार्मिक, पुरातात्विक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ। यहाँ कथा, कडाही, बिबाह, व्रतबन्ध र मुण्डन संस्कारलगायत विभिन्न धार्मिक आयोजन वर्षभरि नै हुन्छन्। यहाँ मागेको भाकल पूरा हुने जनविश्वास छ,’ पूर्वगाउँपालिका अध्यक्ष यादवले बताउनुभयो।
रुपन्देहीको मर्चवार संसदीय क्षेत्रबाट सांसदको चुनाव जितेकाहरूले त्यही मन्दिरबाट आफ्नो चुनावी अभियान सुरु गरेको इतिहास छ। पूर्वमन्त्री एवं लोसपा नेता तथा संघीय सांसद सर्वेन्द्रनाथ शुक्ल र प्रदेश सांसद कन्हैया बनिया २०७९ को निर्वाचनमा मर्चवारी देवीको पूजाअराधना गरी मनोनयन दाखिला गर्न दलबलसहित मझगावा पुग्नुभएको थियो।
यस्तै २०७४ को आम निर्वाचनबाट निर्वाचित संघीय सांसद प्रमोदकुमार यादव र प्रदेश सांसद अष्ठभुजा पाठकले पनि त्यहीँबाट आफ्नो चुनावी अभियानको सुरुवात गर्नुभएको थियो। यसैगरी संविधानसभा सदस्य ओमप्रकास यादव, सांसद यज्ञजित शाह र श्याम सुन्दर गुप्ताले पनि आफ्नो चुनावी अभियान मर्चवारी देवी दर्शनबाटै शुभारम्भ गर्नुभएको थियो।
विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र तथा २०६९ असार २१ र २०७६ मंसिर २० गते गरी दुईपटक पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मर्चवारी देवीको दर्शन गर्नुभएको दस्तावेज छ। त्यसैगरी तत्कालीन पाल्पा राज्यका सेनवंशीय राजाहरूले पनि मर्चवारी देवी शक्तिपीठको दर्शन, पूजा–आराधना र आशीर्वाद लिने चलन रहेको जानकारहरू बताउनुहुन्छ।
तत्कालीन राजा वीरेन्द्रले २०४४ सालमा मन्दिर निर्माणका लागि प्रथमपटक दिएको एक लाख आठ हजार रुपैयाँबाट त्यहाँ रामजानकी मन्दिर र शिव मन्दिरको निर्माण भएको थियो। त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी ट्रस्टमार्फत दिनुभएको एक लाखबाट केही निर्माणकार्य भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष घनश्याम मिश्रले जानकारी दिुनभयो।
‘विश्वशान्तिको मुहान तथा अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीनजिकै रहेको मर्चवारी देवीको महिमा र महत्व बढ्दो छ,’ अध्यक्ष मिश्रले भन्नुभयो, ‘लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वसीउद्दीन खाँको पहलमा पाँच करोडको लागतमा मन्दिर पुनर्निर्माण कार्य भइरहेको छ। अब मन्दिर र पर्यटन दुवैले काँचुली फेर्नेछ।’
लुम्बिनी प्रदेशमै अन्नको भण्डार भनेर चिनिने एक लाख २३ हजार ८९ बढी जनसंख्या भएको मर्चवार क्षेत्रकी इष्टदेवी मर्चवारी देवीलाई बुद्ध जन्मस्थल लुम्बिनीसित जोडेरे पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले पहल गरिरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो। ‘मर्चवारी देवी मेरो पनि आराध्यदेवी हुन्। यसको विकास गर्नुपर्छ तर एक्लै सम्भव छैन। त्यसका लागि सबैको साथ चाहिन्छ,’ उहाँले भन्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू