लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र

प्रदेश योजना आयोगले अस्पतालको गुरुयोजना तयार पारेर बुझाएको पनि ४ वर्ष पूरा भएको छ। यो अवधिमा गुरुयोजनाको ‘सिन्को भाँच्ने काम’ समेत भएको छैन।

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देहीको ठूलो र पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो। यहाँ अन्तरंग, बहिरंगलगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्छन्। तर अहिले अस्पतालमा दैनिक क्षमताभन्दा बढी अर्थात् २५ सय जनाभन्दा बढी बिरामीले उपचार गराइरहेका छन्।

लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएपछि बिरामीको संख्या ह्वात्तै बढेको हो। अस्पतालका नायब सुब्बा चिरञ्जीवी घिमिरेका अनुसार अस्पताल ५ सयभन्दा बढी बेड सञ्चालनमा छन्।

५ सय बेड क्षमता भएको अस्पतालमा दैनिक ओपीडी टिकट मात्रै १५ सय ९४ जनाले टिकट लिन्छन्। यो सामान्यतर्फको हो भने स्वाथ्य बिमाबापतको संख्या योभन्दा अझ बढी छ। यसैगरी प्रसूति हुने महिलाको संख्या पनि सोही अनुपातमा छ।

भौतिक पूर्वाधार अभावका कारण सेवा प्रवाहमा कठिनाइ भोगेको अस्पतालले ओएनएम सर्वे २०७३ सालयता भएको छैन। नेपाल सरकारबाट अस्पतालको सेवा प्रवाह, क्षमतालगायतका विषयमा प्रत्येक वर्ष ओएनएम सर्भे हुने गर्छ। तर त्यो नहुँदा २०७३ सालकै दरबन्दीमा अस्पताल चलिहेको घिमिरेले बताउनुभयो।

प्रदेश सरकारमातहतमा आएको यो अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा विकास गर्नेे भनिए पनि सरकारले चासो नदेखाउँदा ठेक्का प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन। यसको असर बिरामीमा परेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर सुदर्शन थापाले अस्पतालमा देनिक १५ सय देखि २५ सय जना आउने गरेको बताउनुभयो। गर्मी बढेसँगै सिजनअनुसारका बिरामीको चाप थेग्न अस्पतालाई हम्मेहम्मे परेको उहाँको भनाइ छ।

पुरानो भवनभन्दा धेरै सेवासुविधा भए पनि पर्याप्त नभएको भन्दै सबै बिरामीको अपेक्षा पूरा गर्न नसकेको डाक्टर थापा स्विकार्नुहुन्छ। अहिले इमरजेन्सीमा ६० बेड र आइसियू ४० बेड भएको जानकारी गराउनुभयो।

बिरामीहरुको चाप वृद्धि भएसँगै अस्पताल प्रसाशनले महिला तथा बालबालिका र अन्य बिरामीका लागि छुट्टै काउन्टर सञ्चालन गरेको छ। यसमा समाजिक सेवा इकाइ र बिमाका लागि छुट्टै काउन्टर छ।
बिरामीको पहुँचलाई थप व्यवस्थित बनाउन अस्पतालमा टोकन प्रणाली लागू गरिएको छ। यद्यपि बिरामीको चाप बढ्दा सेवा प्रवाहमा सास्ती भएको डाक्टर थापाको भनाइ छ। अस्पतालमा विशेषज्ञ चिकित्सक एक सय २५ र दुई सय नर्सहरु छन्।

अस्पतालमा प्रदेश सरकारले कोभिड करारका लागि नियुक्ति गरेको १९३ चिकित्सक तथा स्वास्थ्यकर्मीको अहिले पनि म्याद थपेको छैन। म्याद नथपेपछि असारयता ती कर्मचारीको तलब पनि आएको छैन। अस्पतालमा दरबन्दी नथपिए सेवा प्रवाहमा समस्या हुने थापाको भनाइ छ।

प्रदेश सरकारले अस्थायी करारका रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्नुपर्ने र सोहीअनुसार सेवा प्रवाह गर्न विशेष पहल गर्नुपर्ने अस्पताल विकास समितिको भनाइ छ। प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको यो अस्पतालकोे नयाँ गुरुयोजना १०० वर्षका लागि सेवा दिन सकिने गरी विसं २०७६ साल चैत ४ गते तत्कालीन प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम नेतृत्वको सरकारले सरकारलाई गुरुयोजना ‘कागज बनाएर’ बुझाएको थियो।

प्रदेश योजना आयोगले प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तयार पारेर बुझाएको पनि ४ वर्ष पूरा भएको छ। गुरुयोजना बुझाएको ४ वर्षमा गुरुयोजनको ‘सिन्को भाँच्ने काम’ समेत भएको छैन। गुरुयोजना अनुसार अस्पतालको संरचनाका लागि १४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

छतमा हेलिप्याडसहित मुख्य भवन १० तला बनाउने परिककल्पना गरिएको यो अस्पतालको भवन निर्माणमा सेटिङ भएको भन्दै गत वर्ष प्रदेश पूर्वाधार प्राधिकरण विवादमा परेको थियो। यसकै प्रभावले ठेक्काको काम अहिलेसम्म पनि अगाडि बढ्न सकेको छैन। प्रदेश सरकार मातहतमा रहेको प्रादेशिक अस्पताल भवन निर्माण ठेक्कामा प्राधिकरणले सेटिङमा ठेक्का दिन लागेको खुलासा भएपछि अहिले ठेक्का प्रक्रिया नै रद्ध छ।

अस्पताललाई प्रदेश गौरवको योजना बनाउने गरी ३ वर्षमा भवनका केही संरचना निर्माण भैसक्नुपर्ने हो। तर अहिलेसम्म पनि जग हाल्ने काम समेत भएको छैन। हेलिप्याडबाट सीधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरी प्रदेश योजना आयोगले लुम्बिनी प्रदेश सरकारलाई बुझाए पनि उक्त गुरुयोजनाको फाइल अहिले कहाँ छ भन्ने विषयमा प्रदेश सरकार नै अनभिज्ञ छ।

प्रदेश सरकारको मुख्य योजनाको रूपमा अस्पताललाई विशिष्टकृत सेवा दिने स्तरको रूपमा विकास गर्न मुख्य भवन भएको ठाउँमा १० तले ७०० बेड क्षमतासहितको अत्याधुनिक भवन निमार्णकार्य यथाशिघ्र अघि बढाउन आवश्यक रहेको अस्पतालका मेसु डा. थापाले बताउनु भयो।

हाल लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा बालरोग भवन सञ्चालनमा छ भने महिला तथा प्रसूती इमर्जेन्सी, ओपिडी वार्ड सञ्चालनमा आइसकेको छ। यस्तै, ओटी पेडियाट्रिक वार्ड, एनआइसियू र पिआइसियू सोही बिल्डिङमा तयारी अवस्थामा छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link