पालिकाले गर्‍यो शिक्षक सरुवा, विरोधमा विद्यार्थी, लाठी चार्ज, ६ विद्यार्थी घाइते

अनिल तिवारी

पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको विरोधमा आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रण गर्न लाठी चलाउँदा  ६ जना विद्यार्थी घाइते  भएका छन् । राजनीतिक पूर्वाग्रहले शिक्षक सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएको छ। गाउँपालिका कार्यालयले शिक्षक सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरू आइतबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकसहित एकै पटक आधा दर्जन भन्दा बढी  शिक्षकहरूलाई गरिएको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरू गाउँपालिका घेराउ गरेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गर्दा  विद्यार्थीहरू घाइते भएको जनाइएको छ ।
गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबिच झडप भएको हो । झडपमा  कृष्ण मुखिया, विशाल  यादव, अरविन्द पटेल, नीरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादवलाई चोटपटक लागेको छ ।
घाइते भएका  कक्षा ९ मा अध्ययनरत छात्र खेमबहादुर गोढले आफूहरू गुनासो लिएर गाउँपालिकामा आउँदा एक्कासि प्रहरीले लाठीचार्ज गरेर दमन गरेको बताउनु भयो। शिक्षक द्वय विनोद राउत र धर्मेन्द्र चौबेको सरुवा पछि  पठनपाठन प्रभावित भएकोले आफूहरूले सरुवा फिर्ता माग राखेको गोढको भनाइ थियो । प्रधानाध्यापक नन्दु प्रसाद यादवले विद्यालयमा व्यापक अनियमितता गरेको भन्दै उनको सरुवा हुनुपर्ने  माग आफूहरूको रहेको गोढले बताए ।
यस्तै प्रदर्शनमा सहभागी कक्षा ९ मै अध्ययनरत छात्रा नितु यादवले प्रहरीले गुण्डागर्दी शैलीमा विद्यार्थीहरूमाथि लाठी बर्साएको बताउनुभयो । उहाँले विद्यालयमा आफूहरूको मागको सुनुवाइ नभएपछि गाउँपालिकामा आउँदा प्रहरीले कुटपिट गरेर घाइते बनाएको आरोप लगाउनुभयो।
घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले अवस्था नियन्त्रण गर्न खोज्दा केही विद्यार्थीहरू घाइते भएको बताउनुभयो ।अवस्था नियन्त्रण भएपछि समस्या समाधानका लागि आन्दोलन विद्यार्थी र गाउँपालिकाका जनप्रतिनिधि बिच छलफलको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link