लुम्बिनीमा पर्यटक बढे पनि कोरोना अघिको लयमा फर्किनै सकस

लुम्बिनी आउने मध्ये भारतबाट मात्रै २ लाख ६६ हजार ५१० जना तथा अन्य मुलुकदेखि आउने पर्यटकको सङ्ख्या ७६ हजार 

चन्द्रकान्त खनाल/रूपन्देही

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना सङ्क्रमण अघिको वर्ष सन् २०१९ मा आन्तरिक र बाह्य गरी १५ लाख ५८ हजार ३२६ पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ ले मात्र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । समग्र मुलुकमा भने पर्यटक आगमनले रेकर्ड कायम गरेको छ। 

बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन कोभिड अघिको लयमा भने फर्किन सकेको छैन। सन २०२० र २०२१ मा कोरोना सङ्क्रमणका कारण पर्यटन सहित समग्र क्षेत्र प्रभावित बनेको थियो। कोभिडको प्रभाव कम भएपछि २०२२ बाट अवस्था सहज हुँदै गयो। ४ वर्ष अघिको तुलनामा लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको छ। तर, आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन निकै कमजोर छ।

कोभिड अघिका वर्षहरूमा नेपाल भित्रबाटै घुम्न आउने आन्तरिक पर्यटक १० लाख भन्दा बढी थिए। सन २०१९ मा मात्र ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। तर २०२३ मा ४५ प्रतिशत कम अर्थात् ६ लाख ५६ हजार २१८ ले मात्र लुम्बिनी घुमेका छन्।

तेस्रो मुलुकका विदेशी पर्यटकको आगमन ४ वर्ष अघिको तुलनामा ५६ प्रतिशतले कम छन्। सन २०१९ मा भारत बाहेक तेस्रो मुलुकबाट १ लाख ७४ हजार १५ पर्यटक लुम्बिनी आएका थिए। तर २०२३ मा ७६ हजार २१० विदेशी पर्यटक मात्र लुम्बिनी आएका छन्। 

२०११ मा लुम्बिनीमा तेस्रो मुलुकको वार्षिक आगमन एक लाख नाघेको थियो । सन २०१९ मा १ लाख ७४ हजार पुगेको थियो। तर अहिले तेस्रो मुलुकको पर्यटक आगमन अझै २००७ को अवस्थामै छ।

आन्तरिक र तेस्रो मुलुकको पर्यटन आगमन अझै लयमा नफर्किँदा लुम्बिनीमा भारतीय पर्यटन आगमनले भने रेकर्ड कायम गरेको छ। सन २०२३ मा मात्र २ लाख ६६ हजार ५१० पर्यटक लुम्बिनी आएका छन्। कोभिड अघि सन २०१९ मा २ लाख ६ हजार १७१ भारतीय मात्र लुम्बिनी आएका थिए। 

भारतीय पर्यटक आगमनले अघिल्लो वर्ष पनि रेकड कायम गरेको थियो। सन् २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय पर्यटकले लुम्बिनी घुमेका छन्। भारतीय पर्यटक आगमन बढ्दा आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन नबढ्नुमा बुटवल नारायणगढ सडकको दुरावस्था मुख्य कारण मानिएको छ। अर्को तर्फ आर्थिक मन्दीका कारणले पनि पर्यटन आगमन कम भएको ठानिएको छ।

पर्यटकको आगमनसँगै उनीहरूको बसाई समेत लम्ब्याएर लुम्बिनी बारे धेरैभन्दा धेरै जानकारी दिन सके आर्थिक रूपमा समेत यसले फाइदा गर्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । 

पर्यटकको नेपाल बसाई लम्ब्याउनका लागि यहाँका होटेल तथा पर्यटन व्यवसायीहरूले पर्याप्त तयारी र पहल गर्न नसकेको उहाँको भनाई छ। । पर्यटकहरूका लागि विभिन्न प्याकेज तथा योजनाहरू अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताउँदै भट्टराईले लुम्बिनीका लागि नजिकको बजारको रूपमा भारतीय नागरिकहरूलाई समेत यहाँ ल्याउने र भुलाउने माध्यम निर्माण गर्न नसकिएको उल्लेख गर्नुभयो।

विकास कोषले तेस्रो मुलुकबाट स्थल मार्ग अर्थात् भारतीय नाका हुँदै आउने पर्यटकलाई सिधै नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्राउनका लागि योजना अनुसार काम गरिरहेको कोषाध्यक्ष भट्टराईको भनाई छ। विकास कोषले ग्रेटर लुम्बिनीको अवधारणा अनुसार लुम्बिनीसँग जोडिएका तिलौराकोट, रामग्राम लगायतका क्षेत्रहरूको विकासमा योजनाबद्ध अघि बढेको उहाँको भनाई छ ।

यी क्षेत्रहरूको विकास हुन सकेमा पर्यटकका लागि घुम्ने ठाउँ पनि बढी हुने तथा लुम्बिनीका प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने भट्टराईको भनाई छ। । नेपालमा पर्यटक भित्राउनका लागि धार्मिक मात्र नभई अन्य पूर्वाधार र सुविधाहरू समेत विकास गर्न आवश्यक रहेको भट्टराई बताउनुहुन्छ।

सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने सरकारको गलत नीतिकै कारण पर्यटन क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभयो । लुम्बिनीमा पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि गलत नीतिका कारण निजी क्षेत्रले त्यसबाट फाइदा लिन नपाएको उहाँको भनाई छ। 

पर्यटनका लागि नेपालको मुख्य बजार नै भारत भएको उल्लेख गर्दै श्रेष्ठले उनीहरू नेपाल आउँदा अध्यागमन विभागमा हुने झन्झट, २५ हजार भारतीय रुपैयाँभन्दा बढी बोक्न नपाउने नियम, विभिन्न सुरक्षा निकायहरूबाट ठाउँ–ठाउँमा गरिने व्यवहार परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

व्यवसायीहरूले करोडौँ रकम खर्चेर पर्यटनको क्षेत्रमा लगानी गरेको भए पनि त्यस अनुसार सकारले संरचना निर्माण तथा निर्माण भएका संरचनाहरूको सञ्चालनमा चासो नदिनुका साथै पर्यटन मैत्री नीति निर्माण गर्न नसकेको उल्लेख गर्नु भयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link