एभर्टन ७१ वर्षपछि रेलिगेशनको सँघारमा

गर्विलो इतिहास बोकेको इंग्लिस फुटबल क्लब एर्भर्टन जारी सिजनमा रेलिगेशनमा पर्न सक्ने सम्भावना झन् बलियो हुँदै गएको छ।लगातार खराब प्रदर्शन गरिरहेको एभर्टन गए रातिको खेलमा आफूभन्दा पुछारको टोली बर्नलीसँग ३–२ ले पराजित भएसँगै क्लब ७१ वर्षपछि दोस्रो डिभिजनमा घटुवा हुनसक्ने सम्भावना प्रबल बनेको हो।

सन् १८७८ मा सेन्ट डोमिन्गोजको नामबाट स्थापना भएको यो क्लब १४० वर्षभन्दा लामो इतिहासमा दुई पटकमात्र दोस्रो डिभिजनमा घटुवा भएको छ।पहिलो पटक १९३०–३१ को सिजनमा रेलिगेशनमा परेर अर्को वर्ष नै पहिलो डिभिजनमा फर्कन सफल एभर्टन अन्तिमपटक १९५०–५१ को सिजनमा रेलिगेशनमा परेको थियो।तर त्योबेला उसलाई पहिलो डिभिजनमा फर्कन पूरा तीन सिजन कुर्नुपरेको थियो।

सन् १९५४–५५ को सिजनपछि एभर्टनले लगातार ६८ वर्ष इंग्ल्याण्डको ‘टप फ्लाइट’ फुटबलको यात्रा गरेको छ जुन कुनै इंग्लिस क्लबको दोस्रो लामो यात्रा हो।अन्तिमपटक सन् १९१३ मा रेलिगेशनमा परेर १९१९ मा लिगमा फर्किएपछि आर्सनल लगातार ९६ सिजन खेल्दै यो सूचीको पहिलो स्थानमा छ।तर ११८ वर्ष पहिलो श्रेणीको लिग खेलेको एभर्टनको नाममा सबैभन्दा लामो समय टप लेभलमा खेल्ने क्लबको किर्तिमान कायमै छ।

सन् १९९२ मा इंग्ल्याण्डको पहिलो श्रेणीको लिगलाई प्रिमियर लिगको नामबाट सञ्चालन गर्न थालेपछि एकपटक पनि रेलिगेशनमा नपर्ने ६ क्लबमध्ये एक भएको कारण एभर्टनलाई प्रिमियर लिगका ‘सिक्स बिग क्लब’ मानिन्थ्यो।तीन–चार वर्ष अगाडिसम्म पनि एभर्टन प्रायःजसो सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाउन लिगको टप फाइभमा भिडिरहेको हेर्न पाइन्थ्यो।तर केही सिजन यता त्यस्ता दृश्य दुर्लभ हुँदै गएका छन्।

लिगमा २९ खेल खेलेको एभर्टन २५ अंकसहित लिगको सत्रौँ स्थानमा छ भने त्यति नै खेल खेलेको बर्नली २४ अंक सहित अठारौँ स्थानमा।वार्टफोर्ड (२२ अंक) र नर्विच सिटी (१८ अंक) क्रमशः अन्तिम दुईमा छन्।जारी सिजनमा एभर्टनले २९ खेलमध्ये केबल ७ मा मात्र जित हात पार्न सफल भएको छ।४ बराबरी खेलेको एभर्टनले यो सिजन १८ खेलमा हार भोगेको छ ।

लगातारको खराब प्रदर्शनपछि गत जनवरीको अन्तिममा राफा बेनिटेजलाई बर्खास्त गर्दै फ्रान्क लाम्पार्डलाई क्लबमा ल्याइए पनि खासै केही चमत्कार हुन सकेको छैन।लाम्पार्डले म्यानेजरको पद सम्हालेयता खेलिएका ९ मध्ये ७ खेलमा एर्भर्टन पराजित भइसकेको छ।

लिगमा ९ खेल खेल्न बाँकी एभर्टनले आगामी शनिवार म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्नेछ।त्यसपछिका खेलहरूमा पनि एभर्टनले कठिन चुनौतिहरूको सामना गर्नुपर्ने प्रष्ट छ किनभने उसले त्यसपछि लिगमा क्रमशः लेस्टर सिटी, लिभरपुल, चेल्सी, पुनः लेस्टर सिटी, वाटफोर्ड, बेन्टफोर्ड, क्रिस्टल प्यालेस र आर्सनलसँग खेल्न बाँकी नै छ।त्यसकारण पनि इंग्लिश क्लब एभर्टन ७१ वर्षपछि रेलिगेशनमा पर्न सक्ने आँकलन विश्लेषकहरूले गरेका छन्।

बिग सिक्स पनि भएका थिए रेलिगेटेड

आर्सनल र एर्भर्टन मात्र होइन, प्रिमियर लिगका ठूला भनिएका म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीका साथै टोटनह्यामले पनि इतिहासमा पटक–पटक रेलिगेशनको सामना गरिसकेका छन्।

आर्सनल मात्र त्यस्तो टोली हो जो सन् १८९२ मा च्याम्पियनशीप खेल्न थालेयता १९१३ मा एकपटक मात्र रेलिगेशनमा परेको छ।लिभरपुलले सन् १८९५, १९०४ र १९५४ गरी तीनपटक दास्रो तहमा घटुवा हुनुपरेको छ भने टोटनह्याम अहिलेसम्म चारपटक रेलिगेशनमा परिसकेको छ।

म्यानचेस्टर युनाइेडले पाँचपटक रेलिगेशनको सामना गरेको उल्लेख छ।पहिलोपटक १८९४ मा घटुवामा परेको म्यानचेस्टर त्यसपछि १९२२, १९३१, १९३७ मा र अन्तिमपटक १९७४ मा दोस्रो डिभिजनमा झरेको थियो।त्यस्तै १९१०–१९८८ को बीचमा ६ पटक रेलिगेशनमा परेको चेल्सीको इतिहास छ।

अहिले प्रिमियर लिगमा ठूलो प्रभाव राख्न सफल क्लब म्यानचेस्टर सिटी इंग्ल्याण्डको प्रथम श्रेणीबाट ११ पटक तल्लो श्रेणीमा घटुवा भइसकेको छ।पहिलोपटक सन् १९०२ मा रेलिगेशनमा परेको सिटी प्रिमियर लिग एरामा पनि तीनपटक रेलिगेशनमा परेको थियो।

जो कहिले रेलिगेशनमा परेनन्

संसारमा यस्ता केही फुटबल टिमहरू पनि छन् जो दशकौँ वा भनौँ शताब्दीभन्दा लामो लिग फुटबलको इतिहासमा एकपटक पनि रेलिगेशनमा परेका छैनन्।

सन् १९२९ मा ला लिगाको शुरूवात भएपछि स्पेनको बार्सिलोना, रियल मेड्रिडका साथै एथ्लेटिक बिलबाओ अहिलेसम्म एक पटक पनि रेलिगेशनमा परेका छैनन्।त्यस्तै इन्टर मिलान एकमात्र त्यस्तो इटालीयन क्लब हो जो सन् १९०९ मा पहिलोपटक फस्ट डिभिजन खेल्न थालेयता आजसम्म रेलिगेशनमा परेको छैन।

जर्मनी र फ्रान्सको फस्ट डिभिजन खेलिसकेका त्यस्ता कुनै क्लब छैनन् जसले रेलिगेशनको सामना नगरेको होस्।नेदरल्याण्डको अयाक्स, पिएसभी आइण्डहोभन र फोयेनउडले अहिलेसम्म रेलिगेशनको सामना गर्नु परेको छैन भने १९३४ मा शुरू भएको पोर्चुगलको लिगमा बेनफिका, स्पोर्टिङ लिस्बन र एफसी पोर्टो लगातार खेल्दै आइरहेका छन्।

ब्राजिलको फ्लेमिङ्गो, सान्तोस र साओ पावलो अहिलेसम्म कहिले पनि दोस्रो डिभिजनमा घटुवा भएका छैनन् भने अर्जेन्टिनाको बोका जुनियरले अहिलेसम्म यो किर्तिमानलाई कायमै राख्न सफल छ।

बेल्जियमको एन्डरलेच्ट, युक्रेनको डाइनामो किभ, स्कटल्याण्डको सेल्टिक र इजरायलको मकाबी तेल अबिबका साथै अन्य केही देशका केही क्लबहरू अहिलेसम्म पहिलो श्रेणीबाट रेलिगेशनमा नपरेको विकिपेडियामा उल्लेख छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
एभर्टन ७१ वर्षपछि रेलिगेशनको सँघारमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link