स्थानीय निर्वाचनमा महिलाः अभिलेखमा पनि कमजोर

प्रतिमा सिलवाल

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी महतो आफ्नो कार्यकक्षमा हातमा तिलहरी, औँठी लगायतका गहना बोकेर बस्नु भएको थियो। कार्यकक्षमा उपप्रमुखको हातमा गहनाका के काम? प्रश्न स्वभाविक थियो। ताराकुमारी भन्नुहुन्छ ‘विवाद समाधानमा छलफल गराइदिने मात्रै होइन लेनदेन फरफारक, गरगहना जिम्मा समेत लिइदिनुपर्छ।‘

ताराकुमारीको हातमा रहेका गहना भर्खरै अदालतबाट सम्बन्धबिच्छेद भएको जोडीको रहेछ। माडी नगरपालिकाकै न्यायिक समितिमा छलफलपछि कानूनी प्रकृया पुरा गर्न अदालत गएका त्यो जोडीको गरगहना फिर्ता गरिदिने जिम्मा पनि न्यायिक समितिको प्रमुख महतोकै जिम्मामा परेको रहेछ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकमा चितवनमा दैनिक कम्तिमा चार वटा लैंगिक हिंसाका उजुरी आउँछ। तर, जिल्लामा सरकारी स्वामित्वको महिलाहरूको लागि अल्पकालिन संरक्षण गृह थिएन। माडी नगरपालिकामा उपप्रमुख ताराकुमारीकै पहलमा महिलाहरूको लागि अल्पकालिन संरक्षण गृह निर्माण भएर सञ्चालन सम्झौता समेत भइसकेको छ। तर, ताराकुमारीले गरका यि कामहरूको खासै प्रचार भएको छैन न उपप्रमुख महतोले गर्नुभएको छ।

‘जनताको मन जिते मेयर पद पनि सजिलै जितिन्छ, प्रचार नै किन गर्नु र?‘ ताराकुमारी भन्नुहुन्छ। आफूले गरेको काम जनताले थाहा पाए हुने ताराकुमारीको भनाइ छ। त्यसैले ताराकुमारीले प्रचारभन्दा धेरै कामलाई प्राथमिकता दिएको बताउनु भयो।

यसको ठिक उल्टो छ चितवनको राप्ती नगरपालिकामा। त्यहाँका उपप्रमुख इमान सिंह लामाले एउटा भिडियो बनाउनु भएको छ जसमा उपप्रमुख लामाले आफ्नो पाँच वर्षको कार्यकालमा गरेका प्रमुख कामहरूको गीत र दृष्य समेटिएको छ। सात मिनेट ५७ सेकेन्ड लामो भिडियोमा उपप्रमुख  लामाले कोभिडभन्दा अघिदेखि गरेका कामहरूको भिडियो समेत समेटिएको छ।

भिडियो हेरेपछि तपाईँले त उपमेयर निर्वाचित भएदेखि नै मेयरको लागि तयारी गर्नुभएको रहेछ नि ? आइएनएसको प्रश्नमा उपप्रमुख लामाले भन्नुभयो, ‘जनताले मेरो काम देखेर तपाईँ नै प्रमुख बन्नुपर्छ भन्नुभएको हो।‘

हुन त नेकपा एमालेले चितवनले आइतबार साँझसम्म भरतपुर महानगरमा मेयरको उम्मेदवार बाहेक अरु स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छैन। यद्यपि, उपप्रमुख लामा आफूलाई पार्टीले ‘ग्रिन सिग्नल‘ दिएको दाबी गर्नुहुन्छ।

राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद नेकपा एमालेले जितेको थियो। नगर प्रमुखमा तयारी गरिरहेका लामा प्रमुख प्रभा बरालले पुनः प्रमुखको दाबेदारी नदिने बताएकोले आफू ढुक्क रहेका दाबी गर्नुहुन्छ।

चितवनमा सात वटा स्थानीय तह छन्। तीमध्ये राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा प्रमुख महिला छन् भने उपप्रमुख पुरुष छन्।

इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ नै अहिले नेपाली काँग्रेसको इच्छाकामनाको सभापति हुनुहुन्छ। कृतिकुमार स्वयं उम्मेदवारलाई टिकटको निर्णय गर्ने पदमा हुनुहुन्छ। श्रेष्ठ भन्नुहुन्छ, ‘यो पटक म नै इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेदवार हो।‘

अहिले बहालवाला अध्यक्ष गीताकुमारी गुरुङ यसअघि गाउँपालिका सभापति हुँदा अध्यक्षको टिकट पाएकाले आफूले नै यसपटक अध्यक्षको टिकट पाउने कृतिकुमारको दाबी छ। इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।

बाँकी पाँच स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा दुबै जना महिला नै प्रमुख र उपप्रमुख छन्। भरतपुर केन्द्रीय राजनीतिको समेत केन्द्रबिन्दु भएकोले मेयरको रस्साकस्सीमा गठबन्धनका दुई सत्तारुढ दल काँग्रेस र माओवादी छन्।

हाल बहालवाला उपप्रमुख पार्वती शाह ठकुरीको कामको खासै चर्चा छैन। हुन त ऐनले दिएको सबै काम सबै पालिकाभन्दा आफूले उत्कृष्ट रुपमा सम्पन्न गरेको उपप्रमुख ठकुरीको दाबी छ।

तर, मेयरमा माओवादी केन्द्रबाट पुनः दोहोरिनेमा रेणु दाहालकै बढी चर्चा भएकोले उनको कामको लेखाजोखा न सार्वजनिक वृत्तमा भएको छ न त सार्वजनिक सञ्चार माध्यमको प्राथमिकतामा परेको छ।

यद्यपि, उपप्रमुख ठकुरी भन्नुहुन्छ,, ‘स्वाभाविक रूपमै अब मेरो उम्मेदवारी मेयरमा हो।‘ पार्वतीले आफ्नो कार्यकालमा एक सय भन्दा बढि वादविवादका मुद्दा आफूले समाधान गराएको समेत जानकारी दिनुभयो। न्यायिक समितिमा चित्त नबुझेर अदालत नै गएका १२ वटा विवाद मध्ये १० मा न्यायिक समितिकै निर्णय सदर भएको र दुई वटा विचाराधिन रहेको पनि वताउनुभयो।

उपप्रमुख ठकुरीको काँग्रेस चितवनबाट भरतपुर महानगरको प्रमुखमा इच्छुकको लिष्टमा नाम त समावेश छ। तर, चुनाबी तालमेल नै नहुँदा पनि उपप्रमुख ठकुरीले प्रमुखको टिकट पाउने बलियो उम्मेदवार नभएको नेपाली काँग्रेस चितवनका एक नेताले बताए।

बाँकी चार नगरपालिकामध्ये खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले आफू मेयरमा उम्मेदवारी नदिने सार्वजनिक गरिसक्नुभयो। कालिका नगरपालिकाको उपप्रमुख कमला भट्टराई पनि प्रमुखको दाबेदारीको लाइनमा हुनुहुन्न।

खैरहनी र माडी नगरपालिकाका दुई उपप्रमुख भने प्रमुखमा दाबेदारी गरिरहेका छन्। तर, उनीहरूले मेयरको लागि दाबेदारी प्रस्तुत गरिरहँदा आफूले गरेको कामको बलियो गरि प्रचारको काम भने गर्न सकेको देखिँदैन।

रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी पनि आफूलाई प्रमुखको स्वतः उम्मेवार मान्नुहुन्छ। चितवनको पूर्वी भेगमा महिला अधिकारको क्षेत्रमा लामो समय काम गर्नुभएकी विमलाले न्यायिक तथा अनुगमनका अन्य कामहरू पनि राम्रोसँग गरेको वताइन्छ।

पाँच वर्षको बीचमा आफूले प्रमुख जिम्मेवारी नपाउँदा कतिपय गर्नैपर्ने काम पनि गर्न नसकेको विमलाको भोगाइ छ। ‘गान्धारीले झैँ काम गरेँ, उपप्रमुख दवाडीले भन्नुभयो, ‘उपमेयर भएर न्यायोचित काम गरियो, जनताले राम्रोसँग चिने। अब मेयरको पालो हो। पार्टीले मूल्याङ्कन गर्ला भन्नेमा ढुक्क छु।‘

तर, दवाडीले पनि अरू महिला पदाधिकारी जसरी नै राप्ती नगरका उपप्रमुख इमानसिंह लामाजस्तो आफूले गरेको कामको अभिलेख भने दरिलो गरि राख्नुभएको छैन।त्यसैले पनि दावेदारीका मामिलामा कमजोर देखिनु भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
 स्थानीय निर्वाचनमा महिलाः अभिलेखमा पनि कमजोर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link