युरोपियन गोल्डेनबुट : केही तथ्य, केही जानकारी

विश्व फुटबलमा युरोपियन गोल्डेनबुटको महत्वपूर्ण स्थान छ।हरेक वर्ष युरोपेली देशका टप डिभिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेनबुटद्वारा सम्मानित गरिने गरिन्छ।यस वर्ष पनि युरोपको लिग सिजन अन्त्यतिर आइपुगेको छ।केही देशहरूमा लिग च्याम्पियनको छिनोफानो भइसकेको छ भने अबको दुई–तीन हप्ताभित्रमा बाँकी लिगहरूको पनि विजेताको निर्णय भइसक्नेछ।

यो सिजन पनि गाल्डेनबुटको रेसमा गत वर्षका विजेता जर्मन क्लब बार्यन म्युनिकका फरवार्ड रोवर्ट लोवान्डोस्की सबैभन्दा अगाडि छन्।पछिल्लो सिजन ४१ गोल गरेर पहिलोपल्ट गोल्डेनबुट जितेका लेवान्डोस्कीले चालू सिजन ३३ गोल गरिसकेका छन्।सर्वियाको रेडस्टार बेलग्रेडका नर्वेजियन फरवार्ड ओही ओमोहुवान्फोले पनि यो सिजन ३३ गोल गर्दै गोल्डेनबुटमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेका छन्।

यस लेखमा गोल्डेनबुट सम्बन्धी केही रोचक तथ्य एवम् जानकारीहरू प्रस्तुत गर्दैछौँ।

१) युरोपियन गोल्डेन बुटको आरम्भ सन् १९६८ बाट भएको हो।खेलकूदमा आधारित फ्रान्सेली दैनिक एल इक्वीपले यसको शुरूवात गरेको हो।पोर्चुगलको क्लब बेनफिकाका स्ट्राइकर इसुबियोले १९६८ को सिजनमा ४३ गोल गर्दै पहिलो गोल्डेनबुट आफ्नो नाम गराएका थिए।इसुबियोले १९७३ को सिजनमा पनि ४० गोल गर्दै दोस्रो पटक यो अवार्ड जितेका थिए।

२) सन् १९६८ देखि १९९१ सम्म युरोपको जुनसुकै देशको टप डिभिजन लिगमा सर्वाधिक गोल गर्ने एक खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्थ्यो।तर यो प्रक्रियालाई लिएर धेरै गुनासाहरू आएपछि युरोपियन स्पोर्टस मिडियाले १९९१ देखि लिगको स्तर निर्धारण गरेर अंकका आधारमा गोल्डेन बुटको विजेता चयन गर्न थालेको थियो।

३) सन् १९६८–९१ बिचको २३ वर्षको अन्तरालमा पोर्चुगलका इसुबियो, जर्मनीका गर्ड मुलर, रोमानियाका डुडु जर्जस्कु र स्पेनका फर्नान्डो गोमेजले दुई–दुई पटक यो अवार्ड जित्न सफल भएका थिए।

४) सबैभन्दा धेरैपटक गोल्डेनबुट अवार्ड जित्ने किर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा छ।उनले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै २०१०, २०१२, २०१३, २०१७, २०१८ र २०१९ गरी ६ पटक गोल्डेनबुट आफ्नो नाम गराएका थिए।

५) युरोपियन गोल्डेनबुटको इतिहासमा एकै सिजन ५० गोल गर्ने र १०० अंक हासिल गर्ने एकमात्र खेलाडीको किर्तिमान पनि लियोनल मेसीकै नाममा छ।उनले २०११–१२ को सिजनमा यो उपलव्धि हासिल गरेका थिए ।

६) सर्वाधिक गोल्डेनबुट जित्ने खेलाडीको सूचीमा मेसीपछि पोर्चुगलका क्रिस्टियाना रोनाल्डोको नाम आउँछ।उनले २००८, २०११, २०१४ र २०१५ को सिजनमा यो उपलव्धि हासिल गरेका थिए।रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट खेल्दै पहिलोपटक २००८ मा यो अवार्ड जितेका थिए भने बाँकी तीन अवसरमा उनी स्पेनको रियल म्याड्रिडमा थिए।

७) सन् २०१० देखि २०१९ सम्मको एक दशकको अवधिमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले एकआपसमा दशमध्ये नौ गोल्डेनबुट आफ्नो नाम गराएका थिए।२०१६ मा भने बार्सिलोनाका फरवार्ड लुइस स्वारेज बाजी मार्न सफल भएका थिए।उरूग्वेका यी खेलाडीले त्यो सिजन ४० गोल गर्दै मेसी र रोनाल्डोलाई समेत पछि पारिदिएका थिए।

८) २००९ देखि २०१९ सम्म लगातार ११ वर्ष स्पेनिस क्लबका खेलाडीहरू गोल्डेनबुट माथि आधिपत्य जमाउन सफल रहेका थिए।२००९ मा अर्का उरूग्वेली खेलाडी डिएगो फोर्लानले एट्लेटिको म्याड्रिडका लागि ३२ गोल गर्दै गोल्डेनबुट जित्न सफल भएका थिए।

९) चालू सिजनमा बार्यन म्युनिकका रोवर्ट लेवान्डोस्की ६६ अंकका साथ गोल्डेनबुटको दौडमा पहिलो स्थानमा छन्।दोस्रो स्थानमा इटालियन क्लब नपोलीका लागि २६ गोल गरेका सिरो इम्मोबिल र तेस्रो स्थानमा २५ गोल गरेका रियल म्याड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा रहेका छन्।संयोगको कुरा के रहेको छ भने यी तीनै खेलाडीको उमेर ३२ वर्षभन्दा माथि छ।लेवान्डोस्की ३४ वर्षका भइसके भने इम्मोबिल ३२ वर्ष र बेन्जेमा ३३ वर्ष पुगिसकेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
युरोपियन गोल्डेनबुट : केही तथ्य, केही जानकारी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link