प्रभावकारी सेवा दिन पाउँदा आनन्दित हुने राधा देवकोटा

तारा वाग्ले

महिलाहरूको लागि निजामती सेवा र शिक्षण पेशा नै सुरक्षित, भरपर्दो र सम्मानित छ भन्ने आम सोच छ । आफ्ना छोरीहरूले शिक्षा सेवामार्फत वा निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरुन् भन्ने चाहना धेरै अभिभावकको हुन्छ । छोरीहरू सरकारी सिन्दुर पहिरिएर सरकारको कुर्सीमा बसी राज्यको सेवा गरेको हेर्ने सपना प्रायः अभिभावककले साँचेका हुन्छन् । त्यसैले त कतिपय महिलाहरू आफ्ना अभिभाववको सपना पूरा गरिदिन त कतिपय आफ्नो रुचि र योग्यता अनुरूपको काम गरेर राज्यको लागि योगदान दिन निजामती क्षेत्रमा पाइला लम्काइरहेका छन् । एक पटक आफ्नो योग्यता प्रमाणित गरेर निजामती सेवामा प्रवेश गरिसकेपछि जीवनभर ढुक्क हुने भएपछि यस क्षेत्रमा महिलाको आर्कषण बढ्दै गएको हो ।
कुनै परिवारको एक महिला सरकारी सेवामा प्रवेश गरिन् भने त्यो परिवारको सम्पूणर् सदस्य खुसी र सन्तुष्ट हुने महत्वपूर्ण माध्यम बन्न पुग्छ । अरु क्षेत्रमा कुनै महिला प्रवेश गरिन् भने उनी त खुशी वा सन्तुष्ट हुन सक्छिन् तर परिवारका सबै सदस्यलाइ खुशी वा सन्तुष्ट पार्न भने उनलाई निकै मुस्किल पर्छ ।
हाम्रो समाजमा आफ्ना छोरीचेली वा दिदिबहिनी निश्चित समयावधि भएको, आर्थिक रूपमा सवल र सामाजिक रूपमा सम्मानित पेशामै आवद्ध भएको हेर्ने रहर धेरैमा छ । त्यसैले पनि सरकारी सेवामा संलग्न महिलाले परिवारबाट पूणर्रूपमा सहयोग, समर्थन र हौसला पाएका हुन्छन् । फलस्वरूप यस क्षेत्रमा महिलाहरूलाई प्रवेश गर्न, प्रवेश गरिसकेपछि वृत्तिविकासको मार्ग तय गर्न सहज हुन्छ । त्यस्तै सरकारले पनि निजामती सेवामा महिलाको प्रतिनिधित्व बढाउन विभिन्न हकअधिकार तथा विशेष व्यवस्था सुनिश्ति गरिदिएको छ । जसका कारण धेरै महिलाले आफ्नो योग्यता र क्षमता प्रर्दशन गरी कर्मचारी प्रशासनको उच्च तहसम्म पुग्न सफल भएका छन् ।
यही परिवेशमा बिहेअघि पिताको क्षत्रछाँयामा ज्ञानसिप र योग्यता हासिल गर्ने अवसर पाउनुभएकी र विहेपछि श्रीमानको सहयोग र मार्गदर्शनमा योग्यता प्रमाणित गरी निजामती सेवामा प्रवेश गर्नुभएकी उपसचिव राधा देवकोटाले इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा आफूलाई स्थापित गर्नुभएको छ । २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएकी देवकोटा गत माघमा कार्यक्षमताको आधारमा बढुवा भई उपसचिव हुनुभयो । आफ्नो जिम्मेवारीभित्र रहेका काम इमान्दारीपूर्वक पूरा गरेको कारण दुई पटक पुरस्कार पाउन सफल देवकोटा हाल नापी विभागमा कार्यरत हुनुहुन्छ । उहाँले यस क्षेत्रमा रहेर सँगाल्नुभएका अनुभव उहाँकै शब्दमाः

सानैदेखिको रहरः सरकारी सेवामा आउने
निजामती सेवाको यात्राले १३ वर्षदेखि निरन्तरता पाउँदै आएको छ । सरकारी सेवामा प्रवेश गरी नेपाल सरकार र जनताको सेवा गर्ने रहर सानैदेखि थियो । बिहेअघि पढाइ पूरा गर्ने र सरकारी सेवा मार्फत शिक्षण पेशामा आवद्ध हुने सोच थियो तर बिहेपछि पारिवारिक पृष्ठभूमि, वरपरको परिवेश र शैक्षिक वातावरणले निजामती सेवामा प्रवेश गर्ने मौका जुर्यो । मैले गणित विषयमा स्नातकोत्तर गरेकी हुँ । मैले विहे अघि नै आवश्यक शैक्षिक योग्यता प्राप्त गरिसकेकी थिएँ । मेरो बुबाको प्रेरणा र मार्गदशन अनुरूप देश र जनताको हित हुने केही न केही काम गर्नुपर्छ भनेर पहिले आफ्नो योग्यता र क्षमताको विकास गर्नेतर्फ आफूलाई केन्द्रित गरें ।


पहिले मेरो रुचि शिक्षण पेशामा थियो । आफूले अध्ययन गरेको विषयमा सरकारी तवरबाटै अध्यापन गराउने सोच मोडिए पनि आफूले आर्जन गरेको ज्ञान र सिप सरकारी सेवाकै लागि उपयोग गर्न पाइन्छ भन्ने लागेर निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरें । पढाइ पूरा भएसँगै सरकारी सेवामा संलग्न परिवारसँग मेरो नाता जोडियो । यसपछि मेरो लक्ष्य अनुरूप सरकारी सेवा गर्ने सानैदेखिको रहर पूरा गर्ने मार्गहरू खुल्दै गए ।


पहिले मेरो रुचि शिक्षण पेशामा थियो । आफूले अध्ययन गरेको विषयमा सरकारी तवरबाटै अध्यापन गराउने सोच मोडिए पनि आफूले आर्जन गरेको ज्ञान र सीप सरकारी सेवाकै लागि उपयोग गर्न पाइन्छ भन्ने लागेर निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरें । पढाइ पूरा भएसँगै सरकारी सेवामा संलग्न परिवारसँग मेरो नाता जोडियो । यसपछि मेरो लक्ष्य अनुरूप सरकारी सेवा गर्ने सानैदेखिको रहर पूरा गर्ने मार्गहरू खुल्दै गए । फलतः नेपाल सरकारको कर्मचारी भएर राज्य र जनताको सेवाप्रति सक्रिय रहने यात्रा तय भयो । मैले दुई वर्षसम्म लगातार लोकसेवाको तयारी गरेकी थिएँ । मैले २०६६ सालदेखि यस क्षेत्रको यात्रा थालेकी हुँ । म हाल उपसचिवको रूपमा नापी विभागमा कार्यरत छु ।
सहयोग श्रीमानको सपना मेरो
हरेकका आ-आफ्नो सपना हुन्छन् । तिनलाई पूरा गर्ने जिम्मेवारी व्यक्ति स्वयम्को त हुने नै भयो तर उसको सहयात्रीको भूमिका पनि उत्तिकै हुन्छ । जीवनका हरेक मोडहरू सँगसँगै पार गर्ने भनेर विवाह बन्धनमा बाँधिइसकेपछि एक अर्काको साथ र सहयोग पर्याप्त भएमा जस्तोसुकै चुनौती पनि सामना गर्न सकिन्छ ।
एक अर्काको सहयोग भएमा सपनाहरू पूरा गर्न पनि सहज हुन्छ । मेरो व्यक्तित्व विकासमा श्रीमानको अमूल्य सहयोग मिलेको छ । जसको कारण म आज यस स्थानमा आइपुगेकी छु । मलाई यसरी स्थापित गराउन मेरा आमाबुबाको पनि ठूलो भूमिका छ । उहाँहरूले पढ्ने अवसर दिएर मलाई योग्य बनउनुभयो भने श्रीमानले आफ्नो योग्यता अनुरूप प्रतिस्पर्धा गरेर अघि बढ्न सहयोग गर्नुभयो ।
महिला भएको कारण पूरा गर्नुपर्ने परिवारिक तथा सामाजिक दायित्व सँगसँगै सन्तान जन्माउने, हुर्काउने र आफ्नो करियर निर्माण गर्नेसम्मका काम पनि सँगसँगै चलिरहेका थिए । कहिलेकाहीं त्यस्ता जिम्मेवारीले लोकसेवाको तयारीमा अवरोध आउँथ्यो तर हार नमानी पढाइ जारी राखें । साथै श्रीमानको सहयोग, समर्थन र प्रेरणाको कारणले म शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्न सफल भएँ । उहाँको सहयोग नभएको भए जीवनका सबै खुट्किला पार गर्दै आफ्नो करियर निर्माण गर्न पक्कै पनि कठिन हुन्थ्यो । मेरो श्रीमान पनि यही क्षेत्रमा सहसचिवको रूपमा कार्यरत हुनुहुन्छ । दुवै जना मिलेर घर परिवार र कार्यालयको जिम्मेवारी सँगसँगै निर्वाह गर्दै आएका छौं ।
नीति निर्माण र कार्यान्वयनसम्बन्धी गहन अध्ययन
म शाखा अधिकृत भएपछि खानेपानी तथा ढल निकास विभागमा आवद्ध भएँ । मैले आफ्नो क्षमताले भ्याएसम्म निरन्तर इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरें । त्यहाँ मैले कर्मचारी प्रशासन शाखा हेर्थें । कर्मचारी सम्बद्ध कानुन तथा नीतिको साथसाथै समग्र कर्मचारी प्रशासनप्रतिको ज्ञान आर्जन गर्ने अवसर मिल्यो । साथै मैले त्यहाँ काम सिक्ने अवसर पनि पाएँ । त्यहाँ इमान्दारीपूर्वक काम गरेका कारण सो कार्यालयबाट सम्मान तथा पुरस्कार पनि पाएँ । यसले मलाई थप ऊर्जा र प्रेरणा मिल्यो ।
केही वर्ष सो विभागमा कार्य गरेपछि मेरो प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा भयो । मैले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भयो । त्यतिवेला संघीय शासन व्यवस्थामा प्रशासन पुनर्संरचना सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी थियो । मैले माथिल्लो तहका पदाधिकारीको निर्देशन अनुरूप कानुन नीतिको अथ्ययन तथा विश्लेषण गर्थें । त्यसबेला निर्णायक तहमा रहेर कसरी नीति निर्माण तथा कार्यान्वयन गराउन सकिन्छ भनेर सूक्ष्म तवरले अध्ययन गर्ने मौका समेत पाएँ । आफ्नो कार्यकाल भरी निर्णायक तहमा रहेर सेवा गरुञ्जेल त्यो काम लाग्छ । वास्तवमा सो कार्यालयमा हुँदा सिकेका ज्ञान सीपले यस क्षेत्रमा थप क्रियाशील भएर लाग्ने प्रेरणा पनि मिलेको छ ।
जनतासँग रहेर सेवा गर्दा सम्मान र पुरस्कार


निजामती सेवा जनतासँग प्रत्यक्ष सम्बन्धित सेवा भएकाले मैले पनि जनतासँग नजिक रहेका काम गर्ने अवसर पाएको छु । जनसरोकारका विषयमा काम गरेर उनीहरूलाई प्रभावकारी सेवा दिन पाउँदा मन पनि आनन्दित हुन्छ । मैले १८ महिनासम्म भरतपुर महानगरपालिकामा रहेर काम गरेको छु । यसक्रममा त्यहाँका स्थानीयहरू सेवा लिन आउँदा सन्तुष्ट भएर फर्कनुहुन्थ्यो । यस क्रममा मलाई पनि जनताको अवस्था, उनीहरूको माग आवश्यकता र सरकारप्रतिको अपेक्षा कस्ता रहेछन् भनेर बुभ्ने अवसर प्रप्त भयो । साथै आफ्नो कर्तव्य र जिम्मेवारी अनुरूप आफूलाई कसरी कटिवद्ध बनाउने भनेर सिक्ने अवसर पनि मिल्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गर्दा पनि बेग्लै अनुभव हासिल गरेको छु । त्यहाँ रहँदा भ्रष्टाचारका उजुरीको विषयमा सिनियरहरूको निर्देशन र समन्वयमा रहेर अध्ययन तथा अनुसन्धान गर्ने अवसर पाएँ । यहाँ काम गर्दा देशमा व्याप्त भ्रष्टाचार र त्यसमा संलग्न व्यक्तिको बारेमा बुझ्न मदत मिल्यो । अख्तियारद्वारा हुने विभिन्न अनुन्धानमा संलग्न रहेर प्रतिवेदन बनाउने काम गरेकी छु । यस सिलसिलामा पनि जनतासँग रहेर उनीहरूका उजुरी उपर छानबिन गर्ने काममा संलग्न भएकाले देशमा सुशासन कायम गराउन केही न केही योगदान दिने मौका मिल्यो । आयोगमा छँदा मैले इमानदारीपूर्वक निर्वाह गरेको भूमिकाको पनि उच्च सम्मान भएको थियो । आयोगबाट मैले २०७८ मा आयोगको ३१ औं स्थापना दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान पुरस्कार पनि प्राप्त गर्न सफल भएँ । यो पुरस्कार पाएपछि मेरो हौसला अझै बढ्यो । राम्रो काम गर्ने कर्मचारीलाई राज्यले विश्वास गरेर पुरस्कृत गर्दा थप नयाँ काम र जिम्मेवारी पूरा गर्न उर्जा मिल्दो रहेछ ।
तल्लो तहका कर्मचारीलाई विभेद
निजामती सेवामा महिलाको हक अधिकारसँग सम्बन्धित थुप्रै प्रवधान छन् । कार्यालयबाट कानुनी रूपमा खासै विभेद छैन तर तल्लो तहमा कार्यरत महिलाहरूले भने विभेद झेल्नु परेको गुनासो गरेको सुनिन्छ । कार्यालयको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा पनि पहिलो प्राथमिकता पुरुष कर्मचारीलाई दिइन्छ । माथिल्लो तहका कर्मचारीले त आवाज उठाउन सक्ने भएकाले कार्यालयले खासै विभेदपूर्ण व्यवहार गरेको देखिँदैन तर तल्लो तहका महिला कर्मचारीको पहुँच पनि सहजै नपुग्ने हुँदा विभेदपूर्ण व्यवहार वा हिंसा हुँदासमेत सहनु पर्ने अवस्था छ । कतिपयले यस्तो व्यवहार विरुद्ध उजुरी गरेको पनि सुनिन्छ तर सामाजिक मर्यादा वा दबाबका कारण गुनासो उपर सुनुवाइ नहुँदै पछि हट्नु परेको पनि देखिन्छ ।
राम्रो काम गर्नलाई प्रशस्त अवसर
निजामती सेवामा महिलाका लागि अनेकन अवसर छन् । साथै राज्यले पनि महिलाको क्षमताको विश्वास गरेर गहन जिम्मेवारी दिन थालेको छ । उनीहरूले गरेका कामको सम्मान गरेको छ । मध्यम वर्गीय परिवारबाट आउनेका लागि त लोक सेवा मार्फत यस क्षेत्रमा प्रवेश गर्न झन् सुरक्षित र मर्यादित छ । किनभने यहाँ क्षमता र योग्यता अनुसार काम गर्न पाइन्छ । कसैको दबाब वा भनसुन बिनै आफ्नो योग्यता प्रमाणित गरेर काम गर्ने अवसर पाएकाले सम्मानित पनि छ । महिला भएको नाताले केही चुनौती त अवश्य झेल्नुपर्छ । महिलाको चौतर्फी जिम्मेवारी भएकाले घर परिवार तथा समाजसँगको सम्बन्ध खलबलिन नदिई कार्यालयको काम पनि व्यवस्थित रूपले गर्नुपर्ने हुन्छ । महिलामा कामप्रतिको लगाव र इच्छाशक्ति हुने हो भने उनीहरू जस्तासुकै चुनौती पनि पार गरेर अघि बढ्न सक्छन् ।

(समावेशी लोकतन्त्र सार्थक बनाउन अर्थपूर्ण रूपमा महिला सहभागिता सबै क्षेत्रमा हुनु आवश्यक छ। अझ मुलुकको सार्वजनिक प्रशासनमा समावेशीकरणको ज्यादै महत्व छ । पछिल्लो समय नेपालको निजामती सेवामा महिलाको उपस्थिति केवल सामान्य कर्मचारीका रूपमा मात्र नभई प्रशासनको नेतृत्व तहमा पनि देखा पर्दै गएको सकारात्मक अवस्था छ। हामी सार्वजनिक प्रशासनमा महिलाहरूको प्रभावकारी हैसियतका पक्षधर हौं। त्यसैले हामी प्रशासनको नेतृत्व तहमा पुग्दै गरेका राष्ट्रसेवक महिला कर्मचारीहरूलाई हरेक साताको शनिवार यस स्तम्भमार्फत प्रस्तुत गरिरहेका छौं।– सम्पादक)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
प्रभावकारी सेवा दिन पाउँदा आनन्दित हुने राधा देवकोटा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link