मध्यम वर्गिय परिवारबाट संघर्ष गरी लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गरेर सरकारी सेवामा प्रवेश गर्नुभएकी सहसचिव रोशनी श्रेष्ठले जागिरे जीवनको उर्वर समय यही कार्यालयको जिम्मेवारी निर्वाह गरेर विताउनु भएको छ। २०६२ सालमा शाखा अधिकृतको रूपमा सेवा प्रवेश गर्नुभएकी श्रेष्ठको पहिलो नियुक्ति पनि लोकसेवा आयोगमै भयो। कार्यालयको जिम्मेवारी सँगसँगै आफ्नो वृतिविकासमा प्रयत्नशिल रोशनी श्रेष्ठले २०७० मा खुला प्रतिस्पर्धा मार्फत उपसचिवमा नाम निकाल्नुभयो। विभिन्न मन्त्रालय तथा निकायमा कार्यअनुभव बटुल्नुभएकी रोशनी आन्तरिक प्रतियोगिताबाट २०७८ सालमा सहसचिव हुनुभयो। आफ्नो वृत्ति विकास र पदिय जिम्मेवारी सँगसँगै अघि बढाउनुभएकी श्रेष्ठले हाल वेपत्ता छानविन आयोगको जिम्मेवारी सम्हाल्नुभएको छ। निरन्तरको प्रयासबाट सफलताका सिढिंहरू पार गर्नुभएकी रोशनी श्रेष्ठले निजामती सेवामा बटुलेका अनुभवहरू यसरी सुनाउनुहुन्छ:
सरकारी सेवामा प्रवेश गराउने सारथि लोकसेवा
हामी श्रीमान् श्रीमती दुवै निजामती सेवामा छौ। म सानै छँदा देखि मेरा अभिभावक तथा आफन्तहरूले यस क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसक्नुभएको थियो। म पनि उहाँहरूको प्रेरणाले यस क्षेत्रमा प्रवेश गरेकी हुँ। जतिवेला म यस क्षेत्रमा प्रवेश गरे त्यतिबेला अन्य संस्थामा जागिर पाउन निकै कठिन थियो। क्षमता भएपनि त्यसको कदर हुनैनथ्यो।भनसुन नगरेसम्म र आफ्ना मान्छे नभएसम्म निजी क्षेत्रमा दिगो रूपले काम गर्ने वातावरण थिएन। यस्तो अवस्थामा लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गरी जागिर खाने एकमात्र विकल्प थियो । हामी जस्तो मध्यम वर्गिय परिवारबाट संघर्ष गरेर आएकाहरूको लागि आफ्नो योग्यता प्रमाणित गरेर स्थायी पेशा अगाल्नको लागि सारथि बनेको छ लोकसेवा आयोग। लोकसेवा आयोग नहुँदो हो त सायद मैले आफ्नो योग्यता र क्षमता अनुसारको काम गर्ने मौका पनि पाउने थिइन। मैले खुला प्रतिस्पर्धाबाट लोकसेवाको परीक्षा उत्तीर्ण गरी २०६२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा पाइला टेकेको हो। त्यतिवेला पनि अहिले जस्तै लोकसेवाको मूल परीक्षा दिनको लागि पहिले प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नुपर्थ्यो। एक पटक प्रारम्भिक परीक्षा उत्तीर्ण गरेपछि त्यसबाट लगातार तीन पटक सम्म लगातार परीक्षामा सहभागी हुन पाइन्थ्यो। मैले प्रारम्भिक परीक्षा उत्तीर्ण गरेर दुई पटक सम्म मूल परीक्षामा सामेल भएपछि शाखा अधिकृत हुन सफल भएँ। निरन्तरको प्रयास पछि पाएको यस सफलताले मलाई सधैं अघि बढ्न प्रेरित गरिरहेको छ।
सकारात्मक नतिजाबाट आनन्द
शाखा अधिकृत भैसकेपछि मेरो पहिलो पदस्थापन पनि लोकसेवा आयोगमा नै भयो। मैले आयोगमा काम गर्दा कर्मचारी भर्ना, छनौटका लागि परीक्षा सञ्चालन, सिफारिस लगायतका कार्य जिम्मेवारीपूर्वक निर्वाह गरेकी छु।
सोही समयमा कर्मचारी प्रशासन भित्रबाट निजामती सेवा ऐन २०४९ को संशोधन गर्नुपर्ने माग उठेको थियो। सो अनुरूप निजामती सेवा ऐनमा समावेशीका प्रावधान राखेर दोश्रो संशोधन भएको थियो।निजामती सेवा ऐनको दोश्रो संशोधनले राखेका प्रावधानहरू अनुरूप निजामती सेवाका रिक्त पदहरूको विज्ञापन गर्नु पर्ने भयो।रिक्त रहेका पदहरूको पदपूर्ति गर्न प्रतिशत निर्धारण सुत्रको निर्धारण गर्न विभिन्न विषय विज्ञहरू,अनुसन्धानकर्ता, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू तथा तथ्याङ्क विभागका महानिर्देशक निर्देशकहरूसँग धेरै पटकको बैठक छलफल तथा अन्तरक्रियाबाट फर्मुलाको निर्धारण गरिएको थियो उक्त कार्यमा प्रत्यक्षरूपमा सहभागी भएर काम गर्न पाएको विषयले सन्तुष्टी प्रदान गरेको छ। हाल लोकसेवा आयोगले उक्त निर्धारित फर्मुलाको आधारमा नै खुला, आन्तरिक प्रतिस्पर्धा र समावेशीतर्फ महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रमा रिक्त पदहरूको विज्ञापन गर्ने गरेको छ।
लोकसेवाको विज्ञापन भएपछि समावेशी तर्फका पदहरूमा विवाद नआउने गरी आधार र कारण सहित सिफारिस गरेका कार्यालयहरूमा कर्मचारी सिफारिस गरिएको थियो। कर्मचारीको सिफारिस गर्दा निष्पक्ष र वैज्ञानिक भयो भनेर चर्चा गर्थे। यसले पनि मलाई सधै लागि प्रेरित गरिरह्यो। त्यसैले मेरो जागिरे जीवनको पहिलो अनुभव निकै सफल र अविस्मरणिय रहेको छ।
“निजामती सेवा ऐनका समावेशीका प्रावधान कार्यान्वयको फर्मुला विकास गर्ने टोलीको सदस्य, नेपाल औषधि लिमिटेडलाई आत्मनिर्भर बनाउने, सगरमाथाको उचाइ मापन टोलीको व्यवस्थापन, कोभिडको महामारीका क्रममा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३६ चेलीलाई उद्धार गरी पारिवारिक पुनर्मिलन गराउन पाएको क्षण, हवाइ उद्धार भएका तथा सुत्केरी महिलालाई घर फर्कन यातायात सहयोग…. ” सहसचिव रोशनी श्रेष्ठ आफूले गरेका उल्लेखनीय कामका बारेमा सम्झैदै भन्दै गर्दा अचानक रोकिनु भयो र भन्नुभयो, “सरकारी सेवामा व्यक्ति प्रधान नभई संस्था प्रधान हुन्छ। हामीले गर्ने हरेक काम सामुहिक मेहनत र सामुहिक उत्तरदायित्वका साथ गरेका हुन्छौ।” |
समन्वयबाट मात्र राम्रो प्रतिफल
लोकसेवा आयोगमा पाँच वर्ष काम गरेपछि म शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा करिब ३ वर्ष काम गरे। त्यहाँबाट उपसचिवमा पास भएपछि मेरो पदस्थापन उद्योग मन्त्रालयमा भयो। उद्योग मन्त्रालयमा रहँदा नेपाल औषधी लिमिटेडका ११४ जना कर्मचारीहरूलाई स्वेच्छिक अवकास दिने कार्य अर्थ मन्त्रालयको सहयोग र समन्वयमा सम्पन्न भयो। नेपाल औषधी लिमिटेडमा छरितो कर्मचारी संख्यामात्र बाँकी रहन गई आफ्नै आम्दानीले पुग्ने अवस्था सिर्जना भयो। नेपाल औषधि लिमिटेडलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सञ्चालन गर्न पहल गरिएको थियो। अहिले नेपाल औषधी लिमिटेडले जीवनजल, सिटामोल र डिष्ट्रल वाटरको उत्पादन समेत गरेको छ। त्यसपछि मैले घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर र नापी विभाग मिनभवनमा काम गरे।नापी विभागमा रहँदा सगरमाथाको उचाइ मापनमा कर्मचारीको खटनपटन नेपाल भारतका सर्भे अफिसियल कमिटिको बैठकमा सहभागी हुने लगायत नापी अधिकृत सर्वेक्षक तथा अमीनहरूको पदस्थापनको कार्य सहजै गर्न मेरो भूमिका महत्वपूर्ण रह्यो।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा काम गर्दा हिंसा महिला तथा किशोरीहरूलाई तत्काल उद्धार तथा राहतका लागि सहयोग गर्दै विभिन्न समितिहरूमा रही काम गर्नेगरी महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छु। कोभिडको महामारीका समयमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३६ नेपाली महिला तथा किशोरीहरूलाई उद्धार गरी पारिवारिक पुनर्मिलन गराउन पाएको क्षण अत्यन्त महत्वपूर्ण रह्यो।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय समितिमा रही २ वटा जिल्ला समिति गठन गर्न पहल गरिएको हाल जिल्ला समितिबाट कार्य भैराखेको छ। हिंसापीडित महिला तथा किशोरीहरू जसको पारिवारिक पुर्नमिलन हुन सक्ने स्थिति छैन त्यस्ता पीडित महिला तथा किशोरीहरूलाई दीर्घकालीन संरक्षण प्रदान गर्ने सरकारबाट सञ्चालित राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पूर्नस्थापना केन्द्रका लागि भक्तपुरको सुर्यविनायकमा स्थानीय तहको सहयोगमा ८ रोपनी ८ आना जग्गा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाममा ल्याउन सफल भएको विषय पनि स्मरण गर्न चाहन्छु। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाको हवाइ उद्धार कार्यविधी अनुसार उद्धार पश्चात त्यस्ता महिलाहरूलाई घर फर्कन सहज होस् भन्ने उद्देश्यले यातायात सहयोग प्रदान गर्ने निर्णय भएको र कार्यान्वयन भैरहेको छ। यसरी विपन्न र हिंसा पीडितहरूका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुग्ने कार्यमा संलग्न भएको अवस्थाले आत्मसन्तुष्टि प्राप्त गर्दछ। सरकारी सेवामा व्यक्ति प्रधान नभई संस्थाप्रधान भएकोले यहाँ आबद्ध भएर गर्ने काम पनि राज्य र जनताको हितप्रति केन्द्रित हुन्छन्। त्यसैले यहाँबाट गर्ने हरेक काममा सामुहिक मेहनत र सामुहिक उत्तरदायित्व रहेको हुन्छ। आफूले राम्रो काम गर्न सके जस पनि राम्रो नै पाइन्छ। काम गर्दा आफ्नो टिम सँग समन्वय हुनु भने अति नै आवश्यक छ। राम्रो समन्वयमा भएको कामले नतिजा पनि राम्रो दिन्छ।
पाइँदैन सहजै महत्वपूर्ण जिम्मेवारी
महिलालाई उच्च तहको जिम्मेवारी सहजै दिनै प्रवृति अझैपनि बसेको छैन। योग्यता र क्षमता भएतापनि महिलालाई जिम्मेवारी दिने सवालमा तुरुन्त विश्वास गरिदैन। एउटै तहमा काम गर्ने पुरुष कर्मचारीलाई आर्कषक, बढि जनसरोकार रहने संवेदनशिल र महत्वपूर्ण जिम्मेवारी सहजै दिइन्छ भने महिलाले त्यही अवसर र जिम्मेवारी पाउन कि त निकै संघर्ष गर्नुपर्छ कि त कम भूमिका रहेका कार्यालयमा चित्त बुझाउनुपर्छ। महिलाले दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएका कारण व्यक्तित्व विकासमा समय दिन नसक्ने र दुर्गममा गइ सेवा गर्न असमर्थ रहेका हुन्छन् तर वर्तमान अवस्थामा महिला कर्मचारीहरूले चुनौतिलाई अवसरको रूपमा लिदैँ काम गर्दै आएका छन्। हाम्रो पितृसतात्मक सामाजिक संरचना र सोंचका कारण पनि क्षमता र योग्यता भएका धेरै महिलाहरू अवसरबाट बञ्चित भएर अझैपनि पछाडि परेका छन्।
राजनीतिक हस्तक्षेप
हाम्रो निजामती सेवा अझैपनि तटस्थ हुन सकेको छैन। राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व बीचको सीमा र सम्बन्ध दुवैले बुझ्न र सोही बमोजिम कार्य गर्न अति जरुरी छ। प्रशासकले स्वतन्त्र भएर निर्णय लिन नपाउँदा कतिपय सेवा प्रभावित हुने गरेका छन्। त्यस्तै सरकारी निकायमा उच्च तहका पदाधिकारी नियुक्त गर्दा पनि राजनीतिक हस्तक्षेप हुने हुँदा महिलाहरूले कम अवसर पाएका छन्। राजनीति र प्रशासन बीच एक अर्कामा विश्वासको संकट रहेको छ। प्रभावकारी सेवा प्रवाह र सुशासनको लागि विश्वासको वातावरण हुनुपर्छ।
महिलालाई तुलनात्मक रूपमा कठिन
निजामती सेवामा अवसरको साथै चुनौति पनि उत्तिकै छन्। माथिल्लो तहमा काम गर्ने कर्मचारीलाई एकथरी चुनौति छ भने तल्लो तहमा काम गर्नेको लागि अर्कै खाले चुनौति हुन्छ। इमान्दारीका साथ काम गर्ने कर्मचारीले कामसँग मात्र सम्वन्ध राखेको हुन्छ। साँझ अबेरसम्म कार्यालयमा बसेर काम गर्दा त्यस्ता महिला कर्मचारीले सुरक्षित रूपमा घर फर्कन सवारी सुविधाको व्यवस्थाका लागि सवारी साधनको सुविधा भएन भन्ने गुनासो हुन्छ। मैले हालसम्म जहाँ जहाँ काम गरे इमान्दारिताका साथ काम गरे। विश्वास गर्ने नेतृत्व साथै सहयोगी सहकर्मी साथीहरू पाए। जसले गर्दा काम गर्न सधै उत्प्रेरणा प्राप्त भैरह्यो।
(समावेशी लोकतन्त्र सार्थक बनाउन अर्थपूर्ण रूपमा महिला सहभागिता सबै क्षेत्रमा हुनु आवश्यक छ। अझ मुलुकको सार्वजनिक प्रशासनमा समावेशीकरणको ज्यादै महत्व छ । पछिल्लो समय नेपालको निजामती सेवामा महिलाको उपस्थिति केवल सामान्य कर्मचारीका रूपमा मात्र नभई प्रशासनको नेतृत्व तहमा पनि देखा पर्दै गएको सकारात्मक अवस्था छ। हामी सार्वजनिक प्रशासनमा महिलाहरूको प्रभावकारी हैसियतका पक्षधर हौं। त्यसैले हामी प्रशासनको नेतृत्व तहमा पुग्दै गरेका राष्ट्रसेवक महिला कर्मचारीहरूलाई हरेक साताको शनिवार यस स्तम्भमार्फत प्रस्तुत गरिरहेका छौं।– सम्पादक)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
तारा वाग्ले का अन्य पोस्टहरु:
- प्रवासी नेपाली श्रमिकको पीडा कसरी कम गर्छ श्रमाधान सेवाले?
- सूचना प्रविधि क्षेत्रमा लगानी सम्मेलनको परियोजना र प्राथमिकता
- आमिरको नेपाल भ्रमणः किन भएन श्रम सम्झौता नविकरण?
- भटाभट खारेज हुँदैछन् वैदेशिक रोजगार क्षेत्रका विवादास्पद प्रावधान, के के भए नयाँ व्यवस्था ?
- सामाजिक सुरक्षा योजना: वैदेशिक रोजगारीमा जाने कामदारको मात्र आकर्षण बढ्यो
- महिला दिवस: एक शताब्दीदेखि उठाइएको छ आवाज, पुग्ला त नीति निर्माताको कानसम्म ?
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता, के के छन् व्यवस्था ?
- अर्को विश्वको सम्भावना खोज्दै सकियो विश्व सामाजिक मञ्चको सम्मेलन, के भयो उपलब्धि ?
- सामाजिक सुरक्षा: श्रमिकहरूको घाउको मलम
- नेपालमा अझै घटेन गरिबी: ५८ लाख जनसङ्ख्या गरिबीको रेखामुनि